जेठमा सगरमाथाको आधार शिविरमा रक्तदान गरी विश्वकिर्तिमान गर्ने, गिनिज बुकमा नाम लेख्ने दावी

बिजमाण्डू
२०७२ माघ १८ गते ००:०० | Feb 1, 2016

काठमाडौं। भोजपुरे सेवा समाज काठमाडौंले विश्वकै सर्वोच्च शिखर सगरमाथाको ६ हजार मिटर उचाईमा रहेको आधार शिविरमा पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरी विश्व किर्तिमान कायम गर्ने भएको छ। आगामी वर्षको जेठमा आयोजना हुने रक्तदान कार्यक्रमले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा लेखाउने भएको छ।
 
रक्तदान कार्यक्रमको उद्देश्य नेपालको उच्च शिखरबाट विश्व समुदायमा रक्तदानबारे सन्देश प्रवाह गर्ने रहेको समाजले जनाएको छ। समाजका अनुसार सगरमाथाको आधार शिविरमा ३० जनाले र ६ हजारभन्दा माथि चारजनाले रक्तदान गरी विश्व किर्तिमान कायम गर्नेछन्।

Tata
GBIME
Nepal Life

कार्यक्रममा सहभागी हुनेमध्य ६ हजार मिटर भन्दा माथि रक्तदान गर्नेमा दिपक राई, सुशीला राई, चन्द्रकुमार राई र संजीव उप्रेती रहेको आयोजकले जानकारी दिएका छन्।
 
यो कार्यक्रमको उद्देश्य सगरमाथा आधार शिविरमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना गर्ने र रक्तदानबारे जनचेतना बढाउने, पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा थप टेवा दिने, आमजनतालाई रक्तदान गर्न उत्प्रेरित गराई रगत संकलन गर्ने, रगत अभाव कम गर्ने, उच्चस्थानमा पनि रगत संकलन गर्न सकिन्छ भन्ने सन्देश विश्वभर फैलाउनेलगायतका रहेको समाजले जनाएको छ।
 
विश्वको उच्चस्थानमा संकलित रगतको परीक्षण गर्ने, ६४ औं रक्तदान ६ हजार मिटरभन्दा माथि सम्पन्न गरेर विश्वमा सन्देश दिने र तापक्रम वृद्धिको असर हिमशिखरमा परेको सरोकारवालमा जानकारी गराउने उद्देश्य रहेको पनि समाजले जनाएको छ।