लोडसेडिङ बढ्यो भनेर मलाई गाली गर्ने ? उर्जामन्त्री रायमझीसँगको अन्तर्वार्ता

बिजमाण्डू
२०७२ माघ २० गते ००:०० | Feb 3, 2016
लोडसेडिङ बढ्यो भनेर मलाई गाली गर्ने ? उर्जामन्त्री रायमझीसँगको अन्तर्वार्ता


आम उपभोक्ता दैनिक १४ घण्टा लोडसेडिङ व्यहोरिरहेका छन् । सरकारमा पुग्ने वित्तिकै प्रधानमन्त्री र उर्जामन्त्री लोडसेडिङ घटाउने दावी गर्छन् । र, एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्छन् । बढ्दै गएको लोडसेडिङले यस्ता दावीलाई विश्वास गर्नै नसक्ने अवस्था सिर्जना भएको छ । बिजमाण्डू संवाददाता  सविन मिश्रले उर्जामन्त्री टोपबहादुर रायमाझीलाई सोधे,  लोडसेडिङ अन्त्य हुने एक वर्ष कहिले आउला ?
 
 
आम जनता सातामा ९३ घण्टा लोडसेडिङ भोगिरहेका छन् तर तपाई एक वर्षभित्र मूलभूत र आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्छौं भनिरहनु भएको छ। त्यो एक वर्षको पहिलो दिन कहिले हुन्छ?
सरकारमा हामीले सपथ खाएको दिनबाट सरकारको गन्ती गर्नुपर्छ। अहिले महिना नाघिसकेको छ। अब हामीसँग नौ महिना समय बाँकी छ। अब नौ महिनापछि मूलभूत र आधारभूत रुपमा जनताले महसुश गर्नेगरी लोडसेडिङ अन्त्य गर्ने हाम्रो योजना हो र हामीले भन्दै आएको पनि त्यही नै हो। त्यसका लागि एउटा मास्टरप्लान नै बनाएर अगाडि बढ्दैछौं।
 
वामपन्थीहरुलाई एउटा आरोप के लाग्छ भने तपाईंहरु शब्दजालमा मानिसहरुलाई झुक्याउन निकै माहिर हुनुहुन्छ, यो मूलभूत र आधारभूत भनेको पनि त्यस्तै त होला?
यहाँ के स्पष्ट गरौं भने विद्युत उत्पादन सुरु भएको एकसय ६ वर्षमा हामीसँग अहिले आठसय मेगावाट बिजुली छ। दुईसय मेगावाट हामीले भारतबाट आयात गरेका छौं। नेपालको आफ्नै उत्पादन भनेको ६ सय मेगावाट भयो। यो पनि वेट सिजनमा हो। ड्राइ सिजनमा हामीसँग तीनसय मेगावाट भन्दा कम बिजुली छ। हामीलाई अहिले न्यूनतम आवश्यकता भनेको १३ सय मेगावाट हो। एक वर्षमा दुईसय मेगावाट माग बढ्छ। त्यसो गर्दा हामीलाई अहिले १५ सय मेगावाट आवश्यक छ । अब यो कसरी पुर गर्ने? एकसय ६ वर्षको उत्पादन तीनसय मेगावाट छ। अब नौ महिनामा १२ सय मेगावाट बिजुली हामीलाई चाहिएको छ। यो जलविद्युत भनेको रातारात हुने कुरा त होइन।
 
अब तपाईं मिडिया हुनुहुन्छ, जनता छन् सबैलाई अपेक्षा छ, टोपबहादुर रायमाझी युवा छ, ऊर्जाशील छ। ऊर्जामन्त्रालय सम्हालेको छ। काम गर्छ भन्ने त सबैलाई छ। तपाईं सबैले के बुझ्नु पर्‍यो भने एकसय ६ वर्षमा तीनसय मेगावाट हुन नसकेको कुरा एक घण्टामा, एक दिनमा हुन सक्दैन। यो वास्तविकता हो। यो गफ वा ठुलो कुरा गर्ने होइन।
 
अर्को कुरा माघ वा फागुनसम्म अलिकति लोडसेडिङ बढ्छ। नदीमा पानीको वहाब कम हुँदै गएको छ। त्यसकारण यो अलिकति बढ्छ। जब लोडसेडिङ घट्न थाल्छ नि, त्यसपछि नबढाउने दिशातिर मैले सोच्न थाल्छु। मूलभूत र आधारभूतको प्रश्न जो सोध्नु भयो, त्यो भनेको हामीले हाम्रो आवश्यकता छ १४ सयदेखि १५ सय मेगावाट, त्यो मुस्किलले पुर्‍याउने भनेको हो। कम्फर्टेबल्ली होइन।
 

Tata
GBIME
Nepal Life


तपाईंले सहज छैन, मुस्किलले पुर्‍याउँछु भन्नुभयो। तपाईंसँग आधारहरु केके छन्, जसले उपभोक्तालाई आश्वस्त बनाउन सकोस कि अब लोडसेडिङ हुँदैन भनेर?
अब तीनसयस मेगावाटबाट १५ सय मेगावाट पुर्‍याउने कुरा मानिसलाई विश्वास हुने गरी म भन्न सक्छु। अहिले हामीसँग आफ्नो उत्पादन तीनसय मेगावाट छ। दुईसय मेगावाट भारतबाट खरीद गरेका छौं। पाचसय भयो। अहिले यसैले चलिरहेको छ। अब हामीलाई हजार मेगावाट चाहियो। भारतबाट एक हप्ताभित्रमा ८० मेगावाट बिजुली आउँछ।
 
अर्को कुरा यो पनि भन्दिउँ, मज्जफरपुर-ढल्केबर प्रसारण लाइन आठ वर्षदेखि रोकिएर बसेको थियो। जुनबेलामा भूकम्प थिएन, नाकाबन्दी थिएन, मधेशमा आन्दोलन थिएन। तर पनि काम हुन सकेन नि। मैले १५ दिनमा त्यो समस्या समाधान गरिदिएँ। १३२ केभी थियो, त्यसलाई ४०० केभी बनाइदिएँ। म ढल्केबर पुगें। कोही नेता पुग्या छ त्यहाँ? साइकल मोटरसाइकल नपुगेको ठाउँमा म पुगें। अहिले रातदिन काम भइरहेको छ। मैले मिलाएँ नि त्यो कुरा त। कसरी मिलाएँ भन्ने कुरा मेरो हो। आँप खाने कि कुन रुखमा फल्यो भनेर खोज्न जाने? त्यो कुरा त गरें नि। कोही भत्काउन र रोक्न त आएन।
 
त्यसपछि अब तीनमहिना भित्रमा थप एकसय ५० मेगावाट त्यहीँबाट भारतबाट आउँछ। त्यसो गर्दा करिब सातसय ४० मेगावाट हाम्रो सिस्टममा पुग्छ। १० मेगावाट चुहावट रोक्छु। सबै सकिन्न तर यती कम गर्छु। सातसय ६० मेगावाट पुग्यो। त्यसपछि सकिन लागेका आयोजना टुंग्याउँछु। जुरेको पहिरो भन्नुस वा अनेक कारणले आयोजना रोकिएका थिए। तेल थिएन। तर अहिले तपाईं हेर्नुस कुनै पनि आयोजनाको काम रोकिएको छैन। अहिले सबै आयोजनामा तेल पुर्‍याएको छु। अहिले सबै प्रोजेक्टहरु एक्सनमा छन्। मैले अहिलेसम्म बोलेको थिइन, काम नगरी नबोल्नी भनेर। त्यसकारण भूकम्प वा तेल नपाएर जति प्रोजेक्ट रोकिएका थिए अहिले सबै एक्सनमा छन्। कुलेखानी तेस्रो भन्नुस्, काम भइरहेको छ। म तपाईंलाई त्यहाँ भएका काम अहिले देखाइदिन सक्छु। यस्ता आयोजनाबाट अढाइसय मेगावाट आउँछ। हजार मेगावाट भयो
 
एकसय मेगावाट विवादित आयोजनाबाट ल्याउने छु। तपाईं चमेलिया हेर्नुस, काममा त गएको छ नि। कहिले लेखा समिति कहिले के समिति भनेको छ, विवाद त मैले मिलाएँ नि। यस्ता आयोजनाबाट करिब एकसय मेगावाट आउँछ। ११ सय मेगावाट भयो। अब के छ भने पिकिङ रन अफ दि रिभरबाट डेढसय मेगावाट गरी साढे १२ सय मेगावाट पुग्यो। अर्को २५ मेगावाट हामी सोलारबाट ल्याउछौं। यसमा विश्वबैंकले लगानी गर्दैछ। यसलाई दुईसयदेखि अढाइसय मेगावाटसम्म पुर्‍याउछौं। भनेपछि हामी यसरी जोहो गरेर मुस्किलले पुर्‍याउछौं।
 


तर पनि हाम्रो संरचना त असाध्यै कमजोर छ। तपाईंले भनेका उपलब्धी हासिल होला?
तपाईंले भन्नु भएको कुरा ठिक हो। हाम्रो संरचना असाध्यै कमजोर छ। अस्ती भात पकाउने बेलामा बिजुली दिनुपर्‍यो भनेको सबैले प्लकमा तार जोडिदिए। सबै ट्रान्समिटर पड्किए। संरचना त कमजोर छ। त्यसकाण हामीले शतप्रतिशत लोडसेडिङ मुक्त गर्छौं भनेको होइन कि जनतालाई महसुश हुनेगरी लोडसेडिङ घटाउछौं भनेको हो। भूकम्पले भत्काएर अझै कति आयोजना बन्द छन्। ती भइदिएको भए अहिले पनि ९ घण्टाभन्दा धेरै लोडसेडिङ हुने थिएन। नाकाबन्दीले तेल भएन भनेर आयोजनाले काम गर्न सकेनन्। यस्तो अवस्थामा लोडसेडिङ बढ्यो भनेर मलाई गाली गर्ने? यो कुरा कति जायज हुन्छ? म पनि यही धर्तीमा जन्मेको मान्छे हुँ। तेल नभएको बेलामा पनि हाइड्रोपावर आयोजनाहरु काममा गएका छन्। एउटामात्रै आयोजना काममा गएन भनेर मलाई भन्नुस।
 
तर पनि तपाईं मन्त्रालयमा आउनु भएको तीन महिना भयो। काम गर्ने योजना पनि रहेछन्। काम गरेको छु पनि भन्नुभयो। तर जनताले त लोडसेडिङ भन्दा केही पाएनन् ?
म आएको दुई महिना त झगडा मिलाउनै लाग्यो। कहिले बोर्ड र प्राधिकरणका एमडीको झगडा, कहिले एमडी र मन्त्रीको झगडा, कहिले मन्त्री र सचिवको झगडा। दुई महिना त झगडा मिलाउनै लाग्यो। म आउनुभन्दा तीन महिना अगाडिदेखि प्राधिकरणको बोर्ड बैठक बस्न सकेको थिएन। यस्तो अवस्थामा मैले काम सम्हालेको छु। उता भूकम्पको असर थियो, यता नाकाबन्दी लम्बिएको छ। यस्तो अवस्थामा मैले रातदिन खटेर मुद्दा त मिलाएँ नि। अब म एक हप्ताभित्रमा ऊर्जा संकट निवारणको मास्टर प्लान ल्याउँदै छु। नाकाबन्दी र भूकम्पले बनाएको प्रतिकूल अवस्थामा यती काम गरें। मैले यस्तो अवस्थामा पनि काम गराएँ।
 
अर्को कुरा म भन्छु, ढल्केबर-मज्जफरपुर मात्रै होइन, खिम्ती-ढल्केबरको काम पनि अगाडि बढाएको छु। सन् २००९ मा बनाइसक्नु पर्ने आयोजना अझै सकिएको छैन। १० वर्षदेखि पेन्डिङ थियो। ऋण लिइएको थियो। टोपबहादुर रायमाझीले सिन्धुली गएर त्यो काम अगाडि बढायो कि बढाएन? ६ वटा पोल गाड्न नसकेर आयोजना रोकिएको थियो। १० वर्षको मुद्दा टोपबहादुरले के औषधि लगाएर मिलायो भनेका छन्।
 
हेटौंडा-ढल्केबर प्रशारणलाइनको काम अगाडि बढाएँ। अहिलेसम्म त यती हानेको छु, हेर्दै जानुस् संकटकाल आएपछि कति हान्छु। अहिलेसम्म धेरै विवादित कुरा मिलाएँ अब सोलु करिडोरको मुद्दा बाँकी छ। त्यसलाई पनि अब एक्सनमा लान्छु। मलाई केही छैन। न्यायसंगत काम गर्छु। सबै काम पारदर्शी बनाउँछु।
 
मैले एक वर्षभित्रमा केही गरेर देखाउनु छ। एक वर्ष भित्रमा लोडसेडिङ जनताले महसुश गर्ने गरी कम गर्छु। दुई वर्षमा जलविद्युतबाटै आवश्यक ऊर्जा पुर्‍याउँछु। १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नेगरी काम गर्छु। मास्टरप्लान बनाएपछि उत्पादन मात्रै होइन ट्रान्समिसनमा पनि जान्छु। जेनेरेसन कसरी गर्ने, ट्रान्समिसनको काम अगाडि सँगै बढाउने हो। हाम्रो चिन्तन माखाको छ। माखाको जस्तो चित्त लिएर कसरी काम गर्न सकिन्छ?
 
ठुला आयोजना वर्षौंदेखि गफमा सिमित छन्। बुढीगण्डकीको कथा उस्तै छ। सबैमन्त्रीले गोरखा र धादिङ पुगेर आयोजना बन्छ भन्छन्, तपाईंले पनि भन्नुभयो। तर यसका लागि गाम्भीर्यता खै?
तपाईंहरुले भन्नुभएको कुरा ठिक हो। बुढीगण्डकी, नलसिंगाढ, नौमुले, उत्तरगंगा जस्ता आयोजनालाई अगाडि बढाइन्छ। एकसय मेगावाट भन्दा ठुला आयोजना जुन नेपालीले बनाउनै सक्दैनन् भन्ने मान्यता थियो त्यसलाई अब  परिवर्तन गराउछौं। यो दृष्टिकोण म पुरै बदल्दिन्छु। नेपालीहरुले पनि बुढीगण्डकी जस्ता आयोजना बनाउन सक्छन् भनेर देखाउँछु। जसमा दुईसय ५० किलोमिटर त त्यसको बाउण्ड्रीमात्रै हुन्छ। फेवाताल जस्ता त १५ वटा ताल बन्छन्। त्यो मैले निर्णय गर्दैछु। यस्तो प्रतिकूल अवस्थामा पनि म दुई पटक त्यहाँ पुगेको छु। मैले त्यसै त्यहाँको धुलो खाएको छु?
 


तपाईंले आयोजना बनाउँछौं त भन्नु भयो, तर उत्पादित बिजुली लैजाने बाटो छैन। प्रसारण लाइन बनाउनु पर्दैन?
हाम्रो कल्चर कस्तो छ भने गाडी किन्ने बाटो छैन। आयोजना बन्यो तर प्रसारण लाइन छैन। देखाउन गाडी किन्या भन्या जस्तै भएको छ। मैले यो व्यवस्था अन्त्य गर्छु भनेको छु। मैले यो कुरा गरेपछि सबै व्यवसायीहरु पनि आशावादी छन्। जनताहरुलाई पनि यो कुरा सम्प्रेसण गर्न आवश्यक छ। भारतसँग अब ६ वटा ट्रान्समिसन लाइन खुल्दैछ। एउटा त मेरै कार्यकालमा भयो। वर्षौंदेखि रोकिएको काम टोपबहादुरले सक्यो नि। तपाईंहरुले अब समाचार लेख्ने कि नलेख्ने?
 
अर्को कुरा हामी ट्रान्समिसन लाइनको पनि मास्टर प्लान ल्याउँदै छौं। त्यसमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कुराहरु पक्कै आउँछन्। म जतिदिन बस्छु एउटा बेस बनाएर छोडिदिन्छु, जेनेरेसनको पनि ट्रान्समिसनको पनि। जो आए पनि काम गर्नु पर्ने गरी म छोड्छु।
 
मैले त्यत्तिकै यो बोलेको होइन, भौतिकमन्त्री हुँदा काठमाडौं उपत्यकामा सडक विस्तारको त बेस बनाएर छोडें नि। त्यसैगरी म बेस बनाएर छोड्छु। लाजिम्पाटमा सडक फराकिलो बनाउन सुरु गर्दा म एकहजार पुलिस लिएर जानुपर्‍यो। पछि त आफैं भत्काउन थालेनन् मान्छेहरुले? कसैले हान्न सक्या थियो एभरेष्ट होटल अगाडिको वाल? मैले हो कि होइन?
 
तर सडक विस्तारको ब्याज नयाँ शक्तिले खायो हैन?
त्यो केही छैन। देश त नयाँ बन्यो नि। तपाईंले आखाँ खोज्ने कि पेट खोज्ने भन्ने होइन । देश कसरी बनाउने भन्ने कुरो चाँही पहिलो हो । बाबुरामजी त मेरो पनि प्रधानमन्त्री हो नि। प्रस्ताव त मेरो हो नि। उहाँले गर्नुभएन भनेर म भन्दिन। त्यसको कमाण्ड त उहाँले पछि गर्नुभयो। सुरु त मैले गरें । मन्त्रीहरुको मन्त्री त प्रधानमन्त्री हो नि। म जति मन्त्रालय पुगें त्यहाँ यस्ता धेरै काम गरेको छु हेर्नुस। यहाँ पनि झगडा मिलाउँदैमा गयो।
 
तपाईंहरुले बिजुली दिन्छौं भन्नुभयो तर जनताले खाना पकाउने बेलामा बिजुली पाएनन्। ट्रान्सफर्मर जलेको जल्यै भयो। आश्वासन मात्रै बाँढेको जस्तो भयो, अब चाहीँ कसरी पत्याउने ?
यो बीचमा पाँचसय वटा भन्दा धेरै ट्रान्सफर्मर पड्किए। त्यही रेसियोमा गएको भए त आजसम्म काठमाडौं अन्धकार भैसक्थ्यो। मैले त्यसलाई पुरै कट गर्दिन। काम त गरेको छु नि। देश यस्तै छ के, म अलि मिडिया फ्रेन्डली भइन भनेर काम गरेको छैन भन्ने मात्रै लागेको हो के। म काठमाडौं र हेटौंडाको ट्रान्सफर्मर मर्मत केन्द्रमा गएँ। त्यहाँ केही टेक्निकल मिस्टेक रहेछ। मैले सच्याइदिँए।
 
त्यो मिस्टेक गर्ने कर्मचारीलाई कारबाही गर्नु भएन नि?
अहिले कारबाही तिर होइन, काम त तिर जाने हो नि। कारबाही त भोलि गरौंला नि। भारतका पुर्व प्रधानमन्त्री नेहरुले पनि पहिले कारबाही गरेनन् । कारबाही त पछि गर्छौं अहिले काम लगाऔं भन्ने हिसाबले म लागेको छु। कहाँ कहाँ गल्ती छ भनेर कारबाही गर्दै जाने हो भने त यहाँ त म्यानपावर नै हुँदैन। टेक्निकल कामदार छैनन्, भएकालाई पनि फकाइफुलाइ गरेर काम लगाइरहेको छु। ओभरटाइम दिएको छु। गल्ती त जनताको पनि छ, प्राविधिकको पनि छ। जनताले गाली गर्छ नि। अराजक छ नि जनता पनि। भन्न त भएन। जनताले पनि आइज भन्छ, किन फ्युज गयो भनेर कराउँछ। अनि कर्मचारीले पनि मोटो तार जोडेर छोडिदिएछ। कति गइरहने भनेर मोटो तार हालेछन्। कमजोरी यहाँ अलिकति भएको हो।
 

तपाईंले सार्वजनिक रुपमा नै विद्युत प्राधिकरणमा गलगाँड लागेको रहेछ, यसलाई काटेर फ्याँकिदिन्छु भन्नुभयो। गलगाँड के रहेछ, के गर्नुभयो?
त्यो गलगाँड भनेकै विवाद रहेछ। अब कुरो के छ भने मैले मुकेश काफ्लेलाई भनें कि तिमी ठिकसँग काम गर्छौ कि गर्दैनौ।
 
ऊर्जामन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा त प्राधिरकणका एमडी फेल भए भनियो?
कार्यसम्पादनमा फेल भए त अदालतबाट स्टे अर्डर लिएर आउँछन् हामीले के गर्ने? सर्वोच्चले फेल भएको भन्दैन। हामीले न फेल भएको भन्छौं।
 
मन्त्रालयले सार्वजनिक रुपमा यो मान्छे फेल भयो भनेर भन्न नसक्ने र काम पनि नगराउने त गरेको हो नि?
अब मैले त्यो कुरा भनेको छु। तिमी फेल हो कि पास हो अब टेस्ट हो भनेको छु। यदि ठिकसँग काम गरे ओके होइन भने म राख्दिन भनेको छु। म काम हेर्ने मान्छे हो। उनले पनि मेरो काम हेर्नुस भनेका छन्। म काम हेर्छु। कोही मान्छे हटुन् वा रहुन् मेरा लागि सामान्य हो तर काम चाहियो। उनले कति काम गर्छन् त्यसको पनि मूल्यांकन गर्छु।
 
तपाईं अहिले जसरी पनि काम गर्छु भन्नुहुन्छ। तर हाम्रो प्रवृत्ती त आफू ठाउँबाट हटेपछि विकास आयोजना रोक्ने हो नि?
मैले त्यही भएर एउटा आधार बनाउँछु भनेर लागेको छु। म कामको बेस बनाउछू। म रहे पनि नरहेपनि काम गर्ने व्यवस्था बनाएर छोड्छु। म नरहे पनि आगामी वर्षमा यो स्तरको लोडसेडिङको संकट हामीले व्यहोर्न पर्दैन। अर्काले नचाहेर पनि काम गर्ने वातावरण म बनाउँछु। सिस्टम बसाल्ने प्लान म ल्याउँछु। म भौतिक मन्त्रालयमा हुँदा केही न केही नयाँ गरेको छु। स्थानीयमा हुँदा त्यस्तै गरेको छु। शान्ति मन्त्रालयमा हुँदा शहिद, बेपत्‍ता घाइतेका लागि काम गरिदिएको हो। स्वास्थ्यमा एक महिना हुँदा किड्नीका बिरामीलाई सित्तैमा डएलासिस गर्ने व्यवस्था त गरे नि। यस्तै केही न केही नयाँ त गर्ने हो।
 
माओवादीले स्थानीयबासिन्दालाई उचाल्यो, त्यही कारण सिन्धुलीमा ६ वटा पोल नगाढ्दा खिम्ती- ढल्केबर प्रसारण लाइन ढिलाइ भयो भन्ने आरोप त तपाईंहरुलाई लाग्छ नि?
अहिले मैले हेरें त्यसमा माओवादी, कांग्रेस वा एमालेको कुनै पार्टीका कारण त्यो रोकिएको होइन। जनताका विभिन्न विषयलाई ठिकसँग ट्याकल नगर्दा समस्या भएको रहेछ। जुन कुरा म सिन्धुली गएर ट्याकल गरें र मिलाएर त आएँ नि। त्यसपछि उहाँहरु सकारात्मक हुनुभयो। त्यहाँका आन्दोलनका नेताहरु मसँग आए। मैले जे गर्छु भनेको छु, त्यो गरिदिन्छु। उहाँहरुको मागको सम्मान गरेको छु। पेलेर हुन्छ? उहाँका आधारभूत मागहरु जति सकिन्छ पुरा गरिदिन्छौं। उनीहरुलाई निराश गरेर भएन नि। यो काम अब तीन महिनाभित्रमा पुरा गर्छौं। अब त्यस्तो कुनै अवरोध हुँदैन। १० वर्ष रोकिएको काम अब तीन महिनामा सकिन्छ।
 
तपाईंले जसरी काम गर्छु भन्नुभयो तर तपाईंको संरचना हेर्दा त विश्वास गर्ने ठाउँ छैन। फेरि टोपबहादुर जस्ता व्यक्तिलाई नै विश्वास गर्नुपर्ने भयो नि होइन?
त्यो समस्या छ। अहिलेको मुख्य समस्या भनेको हामीले नयाँ संविधान बनाएर नयाँ व्यवस्था त बनायौं तर हाम्रो चिन्तन पुरानै छ। संस्कृति पुरानै छ। हामीले यसलाई परिवर्तन गर्नु जरुरी छ। तर हामीले यसलाई स्थापित गर्न खोजेका छौं। हाम्रा योजनालाई प्रभावकारी र परिणामुखी बनाउनु पर्नेछ।
 
तपाईंजस्ता नेताहरु यही काम छिटो गर्छु भन्नुहुन्छ। तर तपाईंजस्तै मन्त्रीहरुले भन्ने के हो भने हाम्रो कर्मचारी प्रशासन कामै नगर्ने छ?
मलाई त्यस्तो लाग्दैन। म विश्वासमा लिएर काम गर्ने हो। मैले कुनै कर्मचारी बदल्ने वा कसैलाई यता र उता गर्ने काम गरिन। अस्ती सचिव सरुवा भएको पनि प्राविधिक कारणले मात्रै हो। प्राविधिक मान्छे ल्याउनु पर्ने ठाउँमा कानुनको मान्छे थिए। त्यसकारण मैले कुनै मन्त्रालयमा गएर अहिलेसम्म कर्मचारीलाई खेलाएको छैन। मलाई कुरा भन्दा काम चाहियो।
 


यहाँको आन्तरिक समस्सा समाधानका लागि लाग्दा मेरो दुई महिना ढिलाई भएकै हो। त्यसपछि मैले पछिल्लो महिनाबाट स्पिडमा काम गरेको छु। मैले एक महिना १० दिन भो राम्रोसँग काम गर्न पाएको। जहाजले बल्ल पिकअप लिएको छ अब उडान तिर जान्छ। अब हाम्रो स्पिडले तीव्रता लिन्छ। मैले जे भनेको छु अहिले त्यो गाडी स्टार्ट मात्रै भएको हो। यसले तीव्र गति लिइसकेको छैन। गाडीले गति लिन थालेको कुरा तपाईंहरुले स्टडी गरेर पनि हेर्न सक्नुहुन्छ  ।
 
तपाईंले आउने बित्तिकै मास्टरप्लान बनाउँछु, ऊर्जा संकटकाल घोषणा गर्छु भन्नुभएको थियो। अझै ढिला भएन?
यसका लागि मैले यहाँको सबै समस्या मिलाउन र ऊर्जा संकटकालको तयारी गरिरहेको थिएँ। यहाँको झगडा पनि मिलाउनै पर्‍यो। संकटकाल भनेर घोषणामात्रै गरेर त भएन नि। हिजो हाम्रो के कमजोरी भयो र अब के गर्नुपर्छ भन्ने कुरा यसमा आउनु पर्छ। यो कुरा मैले मात्रै सोचेर त भएन नि। यसमा मन्त्रालय भित्र र बाहिरका विशेषज्ञसँग कुरा पनि गर्नुपर्‍यो। मैले एक महिनाभित्रमा यो कुरा तयार गरेको थिएँ। अहिले पनि मेरो ब्यागमा छ। त्यो चिज त मेरो पेपर भयो। मिडियामा देखाउनका लागि मात्रै गरेर त भएन। यसलाई त सरकारकै कार्यक्रम बनाउनु पर्‍यो नि। म यो कुरालाई राष्ट्रको बनाउछु।
 
त्यसपछि मैले राष्ट्रको बनाउनका लागि विषयगत समिति मन्त्रालयभित्रै बनाएँ। मन्त्रीले त्यसै गफ दियो भन्ने त बनाउन भएन नि। यसको ‍ओनरसीप त सबैले लिनुपर्‍यो। एउटा भवनमा तीनवटा मन्त्रालय बसेर काम गरिरहेका छन्। भूकम्पले धेरै घर भत्किएर समस्या भएको छ।
 
त्यहाँमाथि मन्त्रालय फुटाइएको छ!
अँ फुटाइएको पनि छ, हो । यस्तो संकट छनि। यो अवस्थामा मैले विशेष समितिबाट यो कुरा ल्याएँ। त्यसपछि निर्देशक समितिबाट क्याबिनेट जान्छ। संशोधन गर्नुपर्ने ऐनहरु संसदमा पठाएर बाँकी कुराहरु कार्यान्वयन गर्छौं। त्यसका लागि हामीले दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्छौं। हामी वनदेखि वातावरण मन्त्रालय मिलाएर अगाडि बढ्छौं।
 
म पनि अनेकन समस्यामा परें। यही बेलामा उपप्रधानमन्त्री भैयो। यही बेलामा बिरामी भएँ। बाबुरामजीले पनि छोडेर जानुभयो। सबै समस्या एकैपटक पर्‍यो। अरुलाई कहाँ पर्‍यो र मलाई पो पर्‍यो त। त्यही बेलामा यहाँ मन्त्रालय भित्र झगडा। केही कुरा सिस्टममा छैन। सचिव र एमडीको बोलचाल छैन। कम्ती गाह्रो छ? यहाँ पस्न सजिलो छ, निस्कन उस्तै गाह्रो। यहाँ अनेक शंका गर्छ मान्छेले। जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो गर्छन्। केही गरेर देखाउन पनि पर्‍यो। निहु खोज्ने मान्छे पछिपछि छन्। मन्त्रालयमा आएपछि केक्नेन हुन्छ भनेर इन्ट्रेस्ट ग्रुप आउँछ। काम नगरे मिडियामा अनेकथरी भनेर लेखाउँछन्। सरुवा बढुवा भन्छन्।
 
इन्ट्रेस्ट समूहरुले विवादमा पार्छन्। म त उनीहरुको काम नगर्दा पनि विवादमा आएको छैन। मान्छेको सहानुभूति छ है ममा। यसले काम गर्छ भन्ने छ। अब नतिजा आउँदा मिडियाले साथ दिन्छन् कि।
 
प्रवर्द्धकहरु एउटा फाइल पास गराउन ६ महिना लाग्यो भन्छन्। यसलाई सहज बनाउन सकिन्न?
यो समस्या छ। म उनीहरु सबैलाई बोलाएर कुरा गर्छु। उनीहरुका समस्या एकै ठाउँबाट समाधान गराउँछु। अहिले त हेर्नुस पुच्छर समात्यो टाउको उम्किन्छ। टाउको समात्यो पुच्छर उछिटिन्छ। यस्तो अवस्था छ। तपाईंहरुलाई थाहा छँदै छ नि।
 
पार्टीले तपाईंहरुमाथि शंका गर्न थाल्यो। सरकारले क्रुसल टाइममा काम गरेन भनिरहेको छ । तपाईं पार्टीको नेतृत्व गरेर सरकारमा हुनुहुन्छ। जिम्मेवारी त लिनुपर्दैन?
पार्टीले हामीलाई शंका गरेको छैन। सरकारमा बसेका मन्त्रीहरुले मेहनत गर्नुभएको छ। रातारात नतिजा आउने कुरा होइन। अब हामी नतिजाको मुखमुखमा छौं। बेस बनाएका छौं। अब प्रत्येक मन्त्रालयबाट नतिजा आउँछ। अलिअलि राम्रो काम गर्नुस त भन्नु पर्‍यो नि।
 
अर्को कुरा यो सरकार दुई महिना जान्छ, तीन महिना जान्छ भनेका छन् नि, यो बेकारको हल्ला हो। यो सरकार दुई वर्ष जान्छ। यो सरकारले अर्को निर्वाचन गराउँछ।