न्यादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुंगो लाग्यो, ६ संस्थाले ४४० करोड लगानी गर्ने

बिजमाण्डू
२०७२ माघ २० गते ००:०० | Feb 3, 2016
न्यादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुंगो लाग्यो, ६ संस्थाले ४४० करोड लगानी गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीको सहायक कम्पनी न्यादी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको न्यादी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। ३० मेगावाटको यो आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा पाँचवटा बैंक तथा जलविद्युत लगानी तथा विकास कम्पनीले लगानी गर्ने भएका हुन्।
 
यी ६ संस्थाले आयोजना निर्माण गर्न चार अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्ने छन्। आयोजनामा सहवित्तीयकरणको नेतृत्वकर्ता एभरेष्ट बैंकले आयोजनामा एक अर्ब रुपैयाँ लगानी गर्नेछ। बुधबार यो आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लागेको हो।
 

Tata
GBIME
Nepal Life

यस्तै हिमालयन बैंक, नबिल बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीले ७५/७५ करोड रुपैयाँका दरले ऋण लगानी गर्नेछन्। ग्लोबल आइएमई र सनराइज बैंकले पनि आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्।
 
न्यादी जलविद्युत आयोजना लमजुङ जिल्लाको बाहुनडाँडा गाविसमा पर्छ। यो आयोजनाको विद्युत खरिद बिक्री सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ। कम्‍पनीले ठेकेदारको नियुक्तिको प्रक्रियामा तीव्रता दिइएको जनाएको छ। यो आयोजनाको निर्माण कार्य २०७६ सालभित्र सम्पन्न गर्ने लक्ष्य न्यादी हाइड्रोपावर कम्पनीले लिइएको छ।
 
आयोजनामा न्यादी हाइड्रोपावर लिमिटेड एक आयोजना विकास कम्पनीको रुपमा रहेको छ। यो कम्पनीमा बुटवल पावर कम्पनी बहुमत शेयरधनीका रुपमा र लमजुङ विद्युत विकास कम्पनीको सहभागी शेयरधनीकोरुपमा शेयर स्वामित्व रहने छ। आयोजनाका स्थानीय जनता तथा सर्वसाधारणलाईसमेत आयोजना कम्पनीले शेयर जारी गर्ने योजनासमेत बनाएको छ।
 
बुटवल पावर कम्पनीको सहायक कम्पनीका रुपमा बिपिसी सर्भिसेस, हाइड्रो कन्सल्ट इन्जिनियरिङ, काबेली इनर्जी, खुदी हाइड्रोपावर, नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक तथा न्यादी पावर लिमिटेड रहेका छन्। कम्पनीले बनाउन लागेको काबेली जलविद्युत आयोजनामा विश्व बैंक समूहको अन्‍तर्राष्ट्रिय वित्त निगमले लगानी गर्ने सम्झौता गरिसकेको छ।
 
काबेली र न्यादीबाहेक बुटवल पावर कम्पनीले आँधीखोला, खुदी र तल्लो मनाङ मर्स्याङ्दी आयोजना निर्माण गर्दैछ।