चीनको ब्यापारिक केन्द्र ग्वाङझाउमा निगमले उडान सुरु गर्ने, मार्चबाट उडान गर्न अधिकांश काम पुरा

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016
चीनको ब्यापारिक केन्द्र ग्वाङझाउमा निगमले उडान सुरु गर्ने, मार्चबाट उडान गर्न अधिकांश काम पुरा


काठमाडौं। नेपाल वायुसेवा निमगले चीनको ग्वाङझाउमा उडान सुरु गर्ने भएको छ। निगमले यही मार्चको अन्तिम सातासम्ममा ग्वाङझाउमा उडान सुरु गर्न लागेको हो।
 
ग्वाङझाउबाट यसअघि चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान गर्दै आएको थियो। भूकम्पपछि यसले आफ्नो उडान संख्या कटौती गरी नाकाबन्दीपछि बन्द नै गरेको छ। यही मौकामा निगमले यो गन्तव्यमा उडान थाल्न लागेको हो।
 
निगमले एयरबस ३२० बाट ग्वाङझाउ उडान गर्ने छ। यसका लागि ग्वाङझाउमा जिएसएसमेत नियुक्त गरिसकेको छ। चिनियाँ नयाँ वर्ष सुरु हुन लागेकाले सबै प्रक्रिया पुरा गर्न केही समय लाग्ने निगम स्रोतले जनाएको छ। निगमले काठमाडौंबाट ग्वाङझाउमा हप्ताको सातै दिन उडान गर्ने तयारीसमेत गरेको छ।
 

Tata
GBIME
Nepal Life

चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्दै गएपछि निगमले यो बजार सुरक्षित गर्न उडान थाल्न लागेको हो। परराष्ट्रमन्त्रालयले यही साता निगमलाई 'डेजिग्नेट' गरेको पत्रसमेत चिनियाँ पक्षलाई पठाइसकेको छ। सरकारले चिनियाँ पर्यटकलाई यही जनवरीबाट भिषा शुल्क मिनाहा गरेपछि चीनबाट आउने पर्यटक बढ्ने अपेक्षा गरिएको हो।
 
चीन र नेपालबीचको 'एयर कनेक्टिभिटी' थोरै भएका कारण पर्यटक आगमनमा असुविधा रहेको सरकारी अधिकारीहरु बताउँदै आएका थिए। चीनकै अर्को चाइना इस्टर्नले पनि अहिले नेपालमा उडान बन्द गरेको छ। ग्वाङ्झाउ औद्योगिक सहर हो। त्यहाँबाट नेपालमा ठुलो व्यापारिक कारोबार हुने गरेको छ। नेपाली व्यवसायीहरुको गन्तव्य सहरमा ग्वाङझाउ पर्छ।
 
निगम स्रोतका अनुसार काठमाडौं ग्वाङझाउ रुटमा भाडा यसअघि चाइना साउदर्नले लिएको भन्दा सस्तो हुनेछ। चाइना साउदर्नले ६० हजार रुपैयाँमा उडान गर्दै आएकोमा निमगले ५० हजारकै हाराहारीमा उडान गर्ने तयारी गरेको छ। निगमले केही वर्षअघिसम्म काठमाडौं-सांघाई-ओसाका उडान गर्दै आएको थियो। अहिले यो रुटको उडान बन्द छ।
 
यसअघि निगमले सोमबारबाट भारतको नयाँ दिल्लीमा सन्ध्याकालीन उडान सुरु गरेको छ। त्यसअघि विहान मात्रै उडान गर्दै आएको निगमले काठमाडौं-नयाँ दिल्ली र नयाँ दिल्ली-काठमाडौं रुटमा फेब्रुअरी १ बाट साँझमा पनि उडान गर्न थालेको हो।
 
निगमले हरेक सोमबार, बुधबार र शुक्रबार बेलुकी दिल्ली फ्लाइट सुरु गरेको छ। यी तीनदिन अपरान्ह ४:५५ बजे काठमाडौंबाट दिल्लीका लागि उडान भइरहेको छ। दिल्लीबाट बेलुकी ७:३५ बजे काठमाडौंका लागि उडान हुने गरेको छ।
 
निगमले यसअघि १९९५ सम्म पनि दुई देशबीच विहान र बेलुका उडान गर्दै आएको थियो। झण्डै २१ वर्षपछि फेरि हप्ताको तीन दिन दैनिक दुई उडान हुन लागेका हुन्। सुरुमा तीन दिन बेलुका उडान गर्ने र प्रतिफल राम्रो पाए उडान बढाउन तयारी निगमको छ।