वीरगञ्ज नाकाबाट आन्दोलनरत पक्षले राखेको ढाँट हटाइयो, भारतबाट इन्धन बोकेका गाडी भने अझै आएनन्

बिजमाण्डू
२०७२ माघ २२ गते ००:०० | Feb 5, 2016
वीरगञ्ज नाकाबाट आन्दोलनरत पक्षले राखेको ढाँट हटाइयो, भारतबाट इन्धन बोकेका गाडी भने अझै आएनन्

काठमाडौं। चार महिनादेखि अवरुद्ध वीरगञ्ज-रक्सौल नाकामा आन्दोलनकारीहरुले राखेका ढाटहरु हटाउन थालेको खबर आए पनि इन्धन बोकेका ट्याङ्कर भने त्यहाँबाट पास भइसकेको छैन। 

Tata
GBIME
Nepal Life

वीरगञ्ज नाकाको फाइल फोटो।

७० प्रतिशत इन्धन आउने रक्सौल नाकाबाट चार महिनादेखि एउटा पनि इन्धन बोकेका गाडी नेपाल प्रवेश गरेको छैन। नेपाल र भारतबीचको मितेरी पुलमा रहेको ढाँट शुक्रबार दिउँसो सवा १ बजे हटाइदिएका थिए।

यद्यपि तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले भने आफूहरुको आन्दोलन अझै पनि नटुंगिएको बताएका छन्। उनी शुक्रबार दिउँसो नाका खुलेपछि मितेरी पुल पुगेका थिए। 

निगम 'पर्ख र हेर'को स्थितिमा

नेपाल आयल निगमका अमलेखगन्ज डिपो प्रमुख भानुभक्त खनालले पहिलोपोस्टलाई भने, 'वीरगञ्ज नाकामा स्थिति सामान्य भइसकेको छैन। सामान्य हुने बित्तिकै हाम्रो पेट्रोलियम पदार्थ बोकेका मालवाहक गाडी मूभ गर्छौँ।'

उनले भने, 'हामी स्थिति हेरिरहेका छौँ।' उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका ४० गाडी त्यहाँ रोकिएका छन्। 

भारतीय पक्षबाट कुनै खबर छैन

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय पक्षबाट कुनै खबर नआएको तर भारततर्फका व्यापारीहरुले दसगजामा रहेका ढाटहरु हटाएको भन्ने खबर आफूकहाँ आएको पहिलोपोस्टलाई बताए।

'व्यापारीहरुले सामान ल्याउँछौँ भन्नुभएको छ', उनले भने, 'हामीले ल्याउनुस्, सुरक्षा दिन्छौँ भनेका छौँ। सामानहरु लोड हुन थालेको खबर छ।'

नयाँ संविधान घोषणा भएपछि असोज ७ गतेदेखि वीरगञ्ज नाका पूर्ण रुपमा अवरुद्ध थियो। यो बीचमा एक पटक नेपालबाट केही भारतीय ट्रक र अर्को पटक पाँच वटा भारतीय भूमिमा रहेका ट्रक नेपालमा आएको बाहेक अरु बेला नाका बन्द नै थियो।  

कात्तिक १६ गते नेपाली प्रहरीले आन्दोलनकारीलाई हटाउँदै नाका खुलाएपछि नेपाली भूमिमा रोकिएका भारतीय ट्रकहरु भारतीय भूमिमा प्रवेश गरेका थिए। तर त्यसलगत्तै भारतीय भूमिबाट आएका आन्दोलनकारीहरु दसगजामा बसेपछि नाका पुनः अवरुद्ध भएको थियो। 

त्यसैगरी माघ १५ गते पनि भारतीय भूमिमा रहेका पाँच मालवाहक ट्रक नेपाली भूमिमा प्रवेश गरेका थिए। तर आन्दोलनकारी पुनः भेला भएपछि नाका फेरि अवरुद्ध भएको थियो। 

प्रत्यक्षदर्शीहरुका अनुसार यो समाचार तयार पार्दासम्म नाकाबाट साना गाडी, रिक्सा र टेम्पुहरुको आवतजावत सुरु भएको छ। ठूला मालवाहक गाडी आइसकेका छैनन्। 

खुल्ला त नाका ?

नाकाबन्दीको पक्षमा कडा विचार राख्दै आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले समेत कि सबै नाकामा अवरोध हुनुपर्ने नभए वीरगञ्ज नाकामा मात्र अवरोध राख्नुको अर्थ नहुने बताइसकेका छन्।

आन्दोलनरत मधेसी मोर्चाको वीरगञ्जमा भइरहेको बैठकले अवरुद्ध गरिएको वीरगन्ज नाका खोल्ने कि नखोल्ने भन्ने विषयमा निर्णय गर्ने तमलोपा अध्यक्ष महन्थ ठाकुरले बताएका थिए। नेता ठाकुरले माघ २१ र २२ गते मोर्चाका शीर्षनेताहरुको वीरगन्जमा हुने बैठकले आन्दोलनको स्वरुप र अन्य दलहरुसँग सहकार्य गरी महागठबन्धन बनाउने विषयमा निर्णय गर्न सक्ने बताएका थिए।