“सहायक कम्पनी बनाएर बाणिज्य बैंकले ब्रोकरका रुपमा काम गर्न सक्छन्”

बिजमाण्डू
२०७२ माघ २२ गते ००:०० | Feb 5, 2016
“सहायक कम्पनी बनाएर बाणिज्य बैंकले ब्रोकरका रुपमा काम गर्न सक्छन्”


रेवतबहादुर कार्की
पुँजी बजारको विकास र विस्तारका लागि समय समयमा विभिन्न कदमहरु चालिएका हुन्छन्। नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि बजारलाई गतिशील बनाउन र लगानीकर्तालाई सहज कारोबार गर्न सक्ने बनाउन विभिन्न उपायहरु अपनाइरहेको छ । बजारलाई गतिशिल र पारदर्शि बनाउनै पर्छ । बजारलाई चलायमान बनाउन र लगानीकर्तालाई थप सहजता दिन बोर्डले वाणिज्य बैंकहरुलाई ब्रोकरको रुपमा बजारमा प्रवेश गराउने योजना अगाडि बढाउन लागेको हो।
 

Tata
GBIME
Nepal Life
वाणिज्य बैंकलाई ब्रोकिङको काममा बजारमा प्रवेश गराउनु भनेको अहिले भइरहेका ब्रोकरको भाग खोसिएको भन्ने अर्थमा बुझ्नु हुँदैन, प्रतिस्पर्धाको समयमा सबैले क्षमता बढाउनु पर्छ। 
…………….

खुला समाजमा मानिसहरुलाई सबै काम गर्न सहज र सरल बनाउनु पर्छ । सेयर बजार जस्तो संवेदनशील क्षेत्रमा पनि हामीले हरेक निर्णय लिँदा त्यसरी नै लिइरहेका हुन्छौं । यो विषय पनि त्यसरी नै अगाडि सारिएको हो। अहिले हाम्रो बजार अटोमेसनमा गइसकेको छ । बजार सुधारको लागि यो पनि एउटा मत्वपूर्ण कुरा थियो। भएका सबै भौतिक सेयरहरु अभौतिक भइरहेका छन्। अनलाइन कारोबारका लागि अन्य पक्षले पनि साथ दिनुपर्छ । बजारभित्रको सुधारले मात्रै अनलाइन कारोबार सम्भव छैन ।
 
विश्वका अरु विभिन्न देशमा पनि वाणिज्य बैंकहरुलाई ब्रोकरको रुपमा बजारमा प्रवेश गराइएको छ, लाइसेन्स दिइएको छ। नेपालमा भने अहिलेसम्म यसरी बैंकहरुलाई दिइएको छैन। अब दिनुपर्छ भनेर हामीले छलफल अगाडि बढाइरहेका छौं। नेपालमा मात्रै बैंकहरुलाई ल्याउन लागिएको हो कि जस्तो गरि बुझ्नु हुँदैन ।
 
वाणिज्य बैंकलाई ब्रोकिङको काममा बजारमा प्रवेश गराउनु भनेको अहिले भइरहेका ब्रोकरको भाग खोसिएको भन्ने अर्थमा बुझ्नु पनि हुँदैन। अहिलेको जस्तो प्रतिस्पर्धाको समयमा सबैले प्रतिस्पर्धी क्षमता बढाउनु पर्छ। कोही नयाँ आउने बित्तिकै त्यसले हाम्रो भाग खोस्यो भनेर बुझ्नु गलत हुन्छ। बाणिज्य बैंकहरु आफैले बजार खोज्छन् ।  
 

वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले नियमन गरिरहेको हुन्छ। राष्ट्र बैंकको बलियो नियमन र सुपरीवेक्षणमा उनीहरुले काम गरिरहेका छन्। धितोपत्र बजारमा उनीहरु प्रवेश गर्ने भनेको बजारलाई एकैपटक नयाँ गति दिने पनि हो। उनीहरुको शाखा सञ्जाल देशभर फैलिएको छ। जसका कारण उनीहरुले धेरै ठाउँका लगानीकर्तालाई एकैपटक समेट्न सक्छन्। वाणिज्य बैंकहरु भनेको ठुलो पुँजी संरचना भएको संस्था हो। उनीहरुमाथि मानिसहरुको विश्वास पनि उत्तिकै हुन्छ। यसले पुँजी बजारको दायरानै फराकिलो बनाउँछ ।
 
अहिले केही ब्रोकरहरुले काठमाडौं बाहिरबाट पनि सेवा दिइरहेका छन्। मैले त देखेको छु, हाम्रा केही ब्रोकरहरु न्यूयोर्क स्टक एक्सचेन्जका जस्ता भइसकेका छन्। तर उनीहरुको पुँजी थोरै छ। २० लाख पुँजी भएको ब्रोकरले काठमाडौं बाहिर कति ठाउमाँ गएर सेवा दिन सक्छ?
 
सुरुमा २३ वटा ब्रोकर थिए। त्यसलाई बढाएर ५० वटा बनाउने बेलामा पनि उनीहरुले यस्तै भनेका थिए। तर त्यसको फाइदा त लगानीकर्तालाई भयो नि। त्यतिबेला पनि ब्रोकर कम्पनीले यसैगरी विरोध गरेका थिए। तर त्यसले बजारकै विकासमा सहयोग गरेको छ।
 
त्यसैले बैंकहरुको प्रवेशको विषयमा पनि विरोध गर्नु आवस्यक छैन। बैंकहरु आएर ब्रोकरको भाग खोस्ने होइन। जसले राम्रो सेवा दिन्छ, उसैले ग्राहक तान्न सक्छ। त्यसैले ब्रोकरहरुले राम्रो सेवा दिए भने अहिले भइरहेका लगानीकर्ता नै बैंकमा जाँदैन नि।
 
बैंकहरु बजारमा प्रवेश गर्दा सहायक कम्पनी स्थापना गरेर प्रवेश गर्न सक्छन्। अहिले पनि बैंकहरुकै सहायक कम्पनीले मर्चेन्ट बैंक स्थापना गरी काम गरिरहेका छन्। त्यसरी नै ब्रोकरको काम गर्ने कम्पनी स्थापना हुन सक्छ। वाणिज्य बैंकहरु सेयर बजार ब्रोकरका रुपमा आउने भनेको अरु सबै काम छोड्ने भन्ने पनि होइन। उनीहरुले सहायक कम्पनीबाट यो काम गर्न सक्छन्।
 
अर्को कुरा यो हामीले आफ्नै हिसाबले भनेको कुरा पनि होइन। वाणिज्य बैंकहरुलाई बजारमा प्रवेश गराउने विषयमा धितोपत्र ऐनमा नै भएको व्यवस्था अनुसार गर्न खोजिएको हो। धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ६२ हेर्ने हो भने यो विषय प्रष्ट उल्लेख छ। मैले खाली ऐनमा भएको व्यवस्था कार्यान्वयन गरी बजारलाई अझ गति दिन खोजेको मात्रै हो। यो विषयलाई अन्यत्र तिर जोडिरहनु आवस्यक छैन।

हाम्रो चाहना नागरिक लगानी कोष सस्थागत लगानीकर्ताको रुपमा बजारमा प्रवेश गरोस भन्ने हो । ठुलो कोष भएको सस्था लगानीकर्ता भयो भने बजारलाई स्थायित्व दिन सहयोग पुग्छ । यो सस्थालाई सस्थागत लगानीकर्ताका रुपमा प्रवेश गर पनि भनि रहेका छौं । बजारको सुधार र लगानीकर्ताको हितका लागि यस्ता प्रयास भइरहेका हुन् ।

(नेपाल धितोपत्र बोर्डका अध्यक्ष कार्कीसँगको कुराकानीमा आधारित)