दुई महिनामा सेवा सुधार्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन, प्रत्येक गाउँमा अप्टिकल फाइबर!

बिजमाण्डू
२०७२ माघ २२ गते ००:०० | Feb 5, 2016
दुई महिनामा सेवा सुधार्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन, प्रत्येक गाउँमा अप्टिकल फाइबर!


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दुई महिनाभित्र गुणस्तर समस्या समाधान नगरे टेलिकमको पुनर्संरचनाको प्रक्रिया अगाडि बढाउने बताएका छन्। टेलिकमको सेवाबाट जनताले दुख पाएको भन्दै उनले दुई महिनाभित्र सुधार नगरे नयाँ ढंगले परिमार्जन गर्ने बताएका हुन्।
 

Tata
GBIME
Nepal Life

‘दुई महिनाभित्र जनताका गुनासा सम्बोधन नभए तेस्रो पक्ष ल्याएर काम कारबाही अगाडि बढाउछौं,' मन्त्री राईले भने, 'यसमा जनताको लगानी रहेको छ, जनतालाई सञ्चारमा परेको समस्यालाई हामी आफैं समाधान गर्न सक्षम छौं र गर्नेछौं।’
 
मन्त्री राईले टेलिकमले दिइरहेको सेवा जनताले महसुश गर्नेगरी सुधार गर्न पनि निर्देशन दिएका हुन्। 'अहिले पुरानो शैलीबाट काम भइरहेको छ, राज्यको लगानी भएकाले जनताले टेलिकमलाई आफ्नै सोचेका छन्,' राईले भने, 'टेलिकमले जनतालाई सुविधा दिने गरी आफ्नो सेवा विस्तार गर्न सकेन।'
 
नेपाल टेलिकमको १२ औं वार्षिकोत्सव कार्यक्रममा उनले बदलिँदो समयमा पुरानो ढर्राबाट काम नहुने भन्दै पारदर्शी रुपमा अगाडि बढ्नुपर्ने पनि बताए। 'आजको बदलिँदो समयमा नेपाल टेलिकम पुरानो ढर्राअनुसार काम गरिरहेको छ,' उनले भने, 'अब पारदर्शी ढङ्गबाट अगाडि बढ्न र नयाँ कार्यशैलीमा कामकारबाहि अगाडि बढाउनु पर्छ।'
 
'असारबाट फोर जी'
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले असारबाट फोर जी सेवा सञ्चालनका लागि आवस्यक तयारी गर्न दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई आवस्यक तयारी अगाडि बढाउन निर्देशन दिएका छन्।  

झाले असारबाट फोर जी सेवा सञ्चालन गर्ने भनेपनि अहिलेसम्म सेवा प्रदायकले लाइसेन्स भने पाएका छैनन्।
झाले नेपाल टेलिकमलाई ७२.६ मेगाहर्ज फ्रिक्वेन्सि दिए पनि त्यो अनुसारको काम गर्न नसेको बताएका छन्। उनले भने, 'हामीले दिएको फ्रिक्वेन्सि नचाहिए ओगटेर नबस्न आग्रह गर्दछु।’
 
गुनासो छ, मन्त्रीलाई इमेल गर्नुस
नेपाल टेलिकमका सेवा, सुविधाबारे समस्या भए अब सिधै सञ्चारमन्त्रीलाई इमेल गर्न सकिने भएको छ। टेलिकमका कर्मचारीले गरेका ढिलासुस्ती वा अरु समस्याबारे [email protected] मा इमेल गर्न सकिनेछ।
 
२०२० भित्र प्रत्येक गाउँमा अप्टिकल फाइबर
नेपाल टेलिकमले सन् २०२० सम्ममा प्रत्येक गाउँमा अप्टिकल फाइवर पुर्‍याउने घोषणा गरेको छ। वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी दूरसञ्चार प्राधिकरणमार्फत प्रत्येक गाउँमा अप्टिकल फाइबर जोड्ने, देशमा इ-गभर्नेन्स र इन्टरनेट एजुकेसनका क्षेत्रमा काम अगाडि बढाउने योजना अघि सारेको हो।