नाकाबन्दी र भूकम्पको असर पर्यटन क्षेत्रमा देखियो, मुख्‍य सिजनमा घट्यो होटलको अकुपेन्सी

बिजमाण्डू
२०७२ माघ २३ गते ००:०० | Feb 6, 2016
नाकाबन्दी र भूकम्पको असर पर्यटन क्षेत्रमा देखियो, मुख्‍य सिजनमा घट्यो होटलको अकुपेन्सी

उमेश पौडेल/बिजमाण्डू
काठमाडौं।
पर्यटन आगमनमा कमी आउँदा यो यो सिजनमा होटल अकुपेन्सी ५० प्रतिशतले घटेको छ। भूकम्प र संविधान घोषणापछि भारतको अघोषित नाकाबन्‍दीका कारण पर्यटन आगमनमा कमी भएसँगै होटलको अकुपेन्सी रेट कम भएको हो।
 

Tata
GBIME
Nepal Life

गत वर्षको यो सिजनमा ८५ देखि ९५ प्रतिशतसम्म होटल अकुपेन्सी रहेको भए पनि यो वर्ष ५० प्रतिशत भन्दा कम रहेको होटल एसोसिएसन नेपाल (हान)का सिइओ प्रवेश अर्यालले जानकारी दिए। 'गत वर्ष ९५ प्रतिशतसम्म अकुपेन्सी थियो,' उनले भने, 'यो वर्ष ४० देखि ५० प्रतिशतमात्र होटल बुक भएका छन्।' उनले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन आफूहरुले काम गरिरहेको पनि जानकारी दिए।
 
अंग्रेजी नयाँ वर्षसँगै नेपालमा पर्यटकको सिजन सुरु हुने भएपनि यो वर्ष पर्यटन आएका छैनन्। यो सिजनका लागि गत वर्षबाट नै बुकिङ गरिसकेका विदेशीहरुले आफ्नो बुकिङ रद्द गरेको होटल हानका महासचिव विनायक शाहले बताए।
 
'यस सिजनका लागि पर्यटकले अघिल्लो वर्ष नै होटल बुक गरिसकेका थिए तर देशमा गएको महाभूकम्प र नाकाबन्दीका कारणले धेरैजसो पर्यटकले बुकिङ गरेका होटल र नेपाल टुरलाई क्यान्सिल गरेका छन्,' उनले भने, ‘पर्यटन भनेको हिजोको आज हुने कुरा होइन, भूकम्प र नाकाबन्दी दुवैले ठुलो असर गर्यो।’
 
भारतको अघोषित नाकाबन्दीपछि सरकार र व्यवसायीले यो क्षेत्रको पुनर्उत्थानका लागि काम गरिरहेको पनि उनले जानकारी दिए। ‘नाकाबन्दीपछि हामी होटल व्यावसायी र सरकारी तबरबाट पनि यस क्षेत्रको पुनर्उत्थानका लागि काम गरिरहेका छौं,’ शाहले भने, ‘विभिन्न देशमा रहेका नेपाली एम्बेसीको सहयोगमा सरकारको तर्फाबाट पर्यटनको प्रचार प्रसार गर्न लागीपरेका छौं र हामी पनि त्यसै अनुरुप काम गरिरहेका छौं।’
 
चिनियाँ पर्यटक आगमनमा समस्या
राष्ट्रिय ध्वजावाहक नेपाल एरलाइन्सले नियमित रुपमा उडान गरेपनि अन्य एयरलाइन्स कम्पनीले चीनबाट नेपाल उडान कटौती गरेपछि चिनियाँ पर्यटक आगमनमा कमी आएको छ। यसले पनि होटलको अकुपेन्सीमा असर गरेको शाहले बताए।
 
'सकेसम्म पर्यटकहरु सस्तोमा आउन चाहन्छन तर एयरलाइन्स कम्पनीहरुले उडान कटैती गरेपछि महँगोमा आउन पनि गाह्रो छ,' उनले भने, 'नेपाल एयसलाइन्समा सिटसमेत पाउँदैनन् चीनीयाँ पर्यटकले त्यहि भएर आगमनमा कमी देखिएको हो।'
 
चीनका दुई कम्पनी चाइना इस्टर्न र चाइना साउदर्नले नेपालमा उडान गर्दै आएको भएपनि भूकम्प र नाकाबन्दीपछि उडान बन्द गरेका छन्। अहिले नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउबाट काठमाडौं उडान गर्ने तयारी गरिरहेको छ। सरकारले चिनियाँ पर्यटकलाई यही जनवरीबाट भिषा शुल्क मिनाहा गरेपछि चीनबाट आउने पर्यटक बढ्ने अपेक्षा गरिएको छ।