साताभरमा ३० अंकले बढ्यो नेप्से, दुई अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच, सप्तकोशीको सेयर सूचीकृत

बिजमाण्डू
२०७२ माघ २३ गते ००:०० | Feb 6, 2016
साताभरमा ३० अंकले बढ्यो नेप्से, दुई अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच, सप्तकोशीको सेयर सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्जमा नेप्से परिसूचक तथा कारोबार रकम दुवै बढेको छ । साताभरको कारोबारमा नेप्से परिसूचक ३०.७२ अंकले तथा कारोबार रकम २८ प्रतिशतले बढेको हो । 
 
यस साता नेप्सेमा एकसय २८ कम्पनीको कारोबार भएको छ । जस अनुसार १३ हजार ९ सय २२ कारोबारबाट दुईअर्ब ७९ करोड ९८ लाख ३८ हजार रुपैयाँ बराबरका ४४ लाख ६६ हजार ६ सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् । 


 
कारोबार रकम गत साताको भन्दा २८.२१ प्रतिशत बढि हो । गत साता १२० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १० हजार पाँचसय ९ कारोबारबाट दुईअर्ब १८ करोड ६१ लाख ७४ हजार रुपैयाँ बराबरका ३४ लाख ४४ हजार एकसय १७ कित्ता सेयर खरिद बिक्री भएका थिए ।
 
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३०.७२ अंकले बढेर अन्तिम दिन १२५१.४२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.८९ अंकले बढेर २६९.५२ अंकमा पुगेको छ ।
 
यस साता कारोबार रकम १५ करोड १४ लाख ५० हजार रुपैयाँको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या तीन लाख २८ हजार कित्ताको आधारमा नबिल ब्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ६५८ वटाको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहेको छ ।
 
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहेको थियो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यो साता सप्तकोशी डेभलपमेन्ट बैंकको १० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ ।

Tata
GBIME
Nepal Life