रक्सौल डिपोले पेट्रोलियम लोड दिएन, निर्देशन नपाएको भन्दै लोड गर्न अस्विकार, तेल आउन अनिश्चत

बिजमाण्डू
२०७२ माघ २३ गते ००:०० | Feb 6, 2016
काठमाडौं । रक्सौल नाका खुलेपनि इन्डियन आयल कर्पोरेशन(आइओसी)ले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको लोड गर्न अस्विकार गरेको छ ।
 
आयल निगमका अनुसार रक्सौल डिपोमा शुक्रबार र शनिबार गरेर झन्डै ३५ वटा ट्यांकर पुगिसकेका छन् । तर माथिको निर्देशन नआएको भन्दै आइओसीका अधिकारीहरुले रक्सौल डिपो पुगेका ट्यांकरमा पेट्रोलियम पदार्थ लोड गर्न अस्विकार गरेका हुन् ।
 
‘रक्सौल डिपोमा ३५ वटा ट्यांकर पुगिसकेका छन् तर आइओसीले अहिलेसम्म पनि लोड दिएको छैन,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बिजमाण्डूसँग भने, ‘आइओसीले लोड नदिएको कारण यो नाकाबाट कहिलेदेखि पेट्रोलियम पदार्थ आउँछ अहिलेनै केही भन्न सकिने अवस्था छैन ।’ 
मितेरी पुलमा बसेका केही धर्नाकारीलाई जनस्तरबाट शुक्रबार हटाइएको थियो । दुई देशबीच राजनीतिक तहमा समस्या समाधानको कुनै टुंगो लागिसकेको छैन । 
 
राजनीतिक निकाश ननिस्कदासम्म पेट्रोलियम पदार्थको आपूर्ति अनिश्चित देखिएको छ । रक्सौल डिपो जुन नेपाललाईनै लक्षित गरेर निर्माण गरिएको हो । नेपालमा खपत हुने मध्ये ७० प्रतिसत पेट्रोलियम यही नाकाबाट भित्रिन्छ । 
 
रक्सौल नाका खुलेर दुईतर्फनै सवारी साधन सुचारु भएपछि निगमका अधिकारीहरुले नेपालतर्फको मार्केटिङका महाप्रवन्धक एसएस बोससँग टेलिफोनमा कुराकानी गर्दा भारतको केन्द्र सरकारबाट कुनै निर्देशन नआएको जानकारी गराएका थिए ।
 
‘हामीलाई पेट्रोलियम पदार्थ आपुर्ति बारेमा कुनै जानकारी आएको छैन । अहिलेनै आपूर्ति बढाउने बारेमा कुनै निर्णय गर्न सकिदैन,’ बोसको भनाई उद्धृत गर्दै भने । स्रोतका अनुसार रक्सौलबाट पेट्रोलियम पदार्थ आउने निश्चित छैन । स्रोतका अनुसार तेल आपूर्ति सहज रुपमा दिने भए आइओसीका अधिकारीहरुले चाँडो ‘रेस्पोन्स’ गर्थे । 
 
‘हामीले आइओसीलाई तेलको बक्यौता तिर्नुपर्ने छैन । उनीहरु साच्चिकै नेपालप्रति सहानुभुति राख्थे भने हिजै ट्यांकर पठाउन भन्थे,’ स्रोतले भन्यो, ‘उनीहरुले विदा समेत नभनी हामीलाई तेल दिने गरेको धेरै उदाहरण छ ।’ अमलेखगञ्ज–रक्सौल र रक्सौल अमलेखगञ्जमा झन्डै साढे चार सय ट्यांकर सञ्चालनमा छन् । तर आइओसीका वीरगञ्जबाट चलानी बनाएर पठाएका ट्यांकरलाई पेट्रोलियम पदार्थ दिने जानकारी दिएको छ । 
 
‘अहिले रक्सौल आएका ट्यांकरहरुको चलान  जोगवनीबाट भएको छ । नेपाल आयल निगमले आइओसीको मुम्बई मुख्यालयमा चलान वीरगञ्ज बनाउनेवित्तिकै रक्सौलबाट पेट्रोलियम पदार्थ लोड हुन्छ,’ आइओसीका रक्सौल डिपोका म्यानेजर मुबारक अलीको भनाई उद्धृत गर्दै नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष मनोज दासले भने, ‘निगमले तत्कालै आइओसीलाई चिठ्ठी पठाएर समस्या समाधान गर्नुपर्छ । मुम्बई मुख्यालबाट हामीलाई अहिलेसम्म यो बारेमा कुनै निर्देशन आएको छैन ।’

Tata
GBIME
Nepal Life

चार महिनादेखिको नाकाबन्दीपछि निगमले अमलेखगञ्ज चल्ने ट्यांकरलाई समेत जोगवनीबाट चलाउन गरेर अन्य डिपोबाट तेल ल्याउने गरेको थियो ।