
काठमाडौं। तेस्रो मुलुकबाट सामान आयात गर्न नेपाली व्यवसायालई सहज हुने भएको छ। भारतले नेपाललाई विशाखापटनम बन्दरगाहा प्रयोग गर्न दिने भएपछि नेपाली व्यवसायीलाई त्यसले राहत दिने भएको हो।
हालसम्म नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्दा कोलकाता बन्दरगाहामात्रै प्रयोग गर्न पाइरहेकोमा अब भने विशाखापटनम पनि प्रयोग गर्न पाउनेछ। नेपाली व्यवसायीले पहिलेदेखि नै विशाखापटनम बन्दरगाहा सञ्चालनको पहल गर्न सरकारसमक्ष माग गर्दै आएका थिए।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका बेला विशाखापटनम बन्दरगाहा प्रयोगमा ल्याउन दिने सहमति भारतले गरेको थियो। झण्डै पाँच वर्षअघि भारतले सहमति जनाएको भएपनि यो विषय अहिलेसम्म कार्यान्वयनमा आएको थिएन।
कोलकातामा जाम धेरै हुने र अरु व्यवस्थापकीय सास्ती खेप्नु परेको भन्दै नेपाली व्यवसायीले विकल्पको रुपमा विशाखापटनम प्रयोग गर्नुपर्ने माग गर्दै आएका थिए। नेपालबाट करिव १४ सय ४० किलोमिटरको दुरीमा यो बन्दरगाह छ ।
'विशाखापटनम बन्दरगाहा खुलेपछि नेपाली व्यवसायीलाई च्वाइस भएको छ, उनीहरुले अब कोलकाताबाट ल्याउँदा जामको समस्या परे अर्को बाटोबाट ल्याउन सक्छन्,' नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने। भारतले विशाखापटनमबाट सुख्दा बन्दरगाहासम्म रेल सुविधा दिने पनि सहमतिमा उल्लेख छ। यसले व्यवसायीलाई थप राहत दिने श्रेष्ठले बताए।
दुई वर्षअघि काठमाडौंमा भएको अन्तर्क्रिया कार्यक्रममा विशाखापटनम कन्टेनर टर्मिनलका तत्कालीन प्रमुख सञ्चालन अधिकृत सुशील मुल्चन्दानिले विशाखापटनम बन्दरगाह लागतको हिसाबले पनि नेपाली आयात, निर्यातकर्ताको लागि उपयोगी रहेको बताएका थिए। यो बन्दरगाह प्रयोग गर्दा लागत सस्तो पर्छ ।
किन सञ्चालन भएन अहिलेसम्म ?
तेस्रो मुलुकबाट आएको सामानमा अतिरिक्त ताला लगाउनुपर्ने प्रावधानका कारण विशाखापटनम सञ्चानलनमा आउन सकेको थिएन। पछि बाबुराम भट्टराई नेतृत्वको सरकारका पालमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबीचसमेत अतिरिक्त ताला लगाउने विषयमा विवाद भएको थियो।
यस्तै तत्कालीन अर्थ एवं वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाको भारत भ्रमणका बेलामा पनि यो बन्दरगाहा सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो। तर दुवै पक्षले त्यतिबेला पनि गम्भीर चासो नदेखाउँदा कार्यान्वयन हुन सकेको थिएन।
भारतले कोलकाता बन्दरगाहमा पनि अतिरिक्त ताला लगाएपछि नेपाल विशाखापटनम्मा अतिरिक्त ताला लगाउन तयार थियो। कोलकाताभन्दा विशाखापटन बन्दरगाहाबाट नेपालमा सामान ल्याउन सजिलो र सस्तोसमेत हुन्छ। यो बन्दरगाहा भारतको निजी क्षेत्रले सञ्चालन गरेको हो भने कोलकाता भारत सकारले सञ्चालन गरिरहेको छ।
विशाखापटनममा पानीको मात्रा धेरै भएकाले सिमेन्ट, रासायनिक मल ल्याउन सहज छ । कोलकातामा पानिको बहाव कम भएकाले यस्ता सामान ल्याउन धेरै समय लाग्ने गरेको छ।











