बाणिज्य बैंकमा ओइरिए लगानीकर्ता, ६३ करोडको किनबेचमा साढे ३६ करोड बैंकहरुको



बिजमाण्डू
२०७२ फागुन ९ गते ००:०० | Feb 21, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । सेयरको दोस्रो बजारमा बाणिज्य बैंकहरुले कब्जा जमाएका छन् । सबैभन्दा वढी रकमको कारोबार भएको १० कम्पनीमध्ये नौ वटा बाणिज्य बैंकहरुकै छ ।

दिनभरीमा ६३ करोडको सेयर कारोबार भएको छ यसमध्ये ३६ करोड ४७ लाख रुपैयाँको सेयर बाणिज्य बैंकहरुको नै कारोबार भएको छ ।

मर्जर प्रकृयामा गएका कारण अहिले १९ वटा बैंकको सेयर किनबेचका लागि उपलब्ध छन् । बैंकिङ सुचक पनि आइतबार ८ अंकले उक्लिएको छ ।

सबैभन्दा बढी सानिमा बैंकको पाँच करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट साधारण पाँच करोड नौं लाख, सनराइज चार करोड ३२ लाख, नेपाल बंगलादेश तीन करोड २२ लाख र एनआइसी एसियाको दुई करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल इन्भेष्टमेन्ट संस्थापक दुई करोड ४८ लाख, एनएमबी एक करोड ८६ लाख, हिमालयन एक करोड ७६ लाख र सिटिन्स एक करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । टप १० कारोबारभित्र नेशनल हाइड्रो भने समेटिएको छ । कम्पनीकोे चार करोड ४७ लाखको किनबेच भएको छ ।

बजारसँगै बाणिज्य बैंक सुचक र कारोबारमा बृद्धि हुनुको आधा दर्जन कारणहरु छन्

१. बाणिज्य बैंक समूहवाहेक अधिकांस राम्रा कम्पनीहरुको सेयर मूल्यले एउटा उचाइ छोइसकेको छ । जबकी अहिले पनि बाणिज्य बैंकहरुको सेयर औषत मूल्यमा नै पाइरहेको छ ।

२. नेपाल राष्ट्र बैंकले पुँजी बढाउन भनेकाले बैंकहरुले वोनस तथा हकप्रद सेयर वितरण गर्नु पर्छ । आफ्नै क्षमताले पुँजी बृद्धि गर्न नसक्ने संस्थाहरु मर्जर प्रकृयामा गइसकेका छन् । वोनस सेयर लगभग वितरण भइसकेका छन् । अब बैंकहरुले हकप्रद र एफपिओ घोषणा गर्न थालेका छन् । लगानीकर्तालाई यसले पनि तानेको छ ।

३. २९ बाणिज्य बैंकमध्ये १९ वटाको मात्र कारोबार भइरहेको छ । यसको अर्थ हो बजारमा बैंकहरुको सेयरको ‘प्रवाह’ साविकभन्दा कम छ । अर्कोतिर माघ १ बाट सबै कम्पनीको डिम्याट सेयर मात्र कारोबार हुन थालेको छ । सबै लगानीकर्ताहरु सेयरको डिम्याट नगराइसकेकाले बजारमा आपुर्ति घटेको छ ।

४. नाकाबन्दी र तराई आन्दोलनले देशको आर्थिक कृयाकलाप खल्र्याप्पै घट्दासमेत बाणिज्य बैंकहरुले पुस मसान्तमा पनि राम्रो नाफा कमाएका छन् । अहिले नाकाबन्दी र तराई आन्दोलनको दुबै अवरोध हटेको छ । यसले बैंकले लगानी वढाउने लगानीकर्ताको आँकलन छ ।

५. बजारमा अधिक तरलता कायमै छ । तरलता वढेका कारण ब्याज दर त घटेकै छ कर्जा लिने प्रकृया पनि सजिलो भएको छ ।

६. बजारमा निक्षेपको कर्जा कम भएको तथा सहज लगानीको वातावरण अरु क्षेत्रमा नभएका कारण पनि लगानीकर्ता सेयर बजारमा ओइरिएका छन् । नयाँ लगानीकर्ताको पनि प्रवेश भएको छ । धितोपत्र वोर्डले सेयर बजार सुधारका लागि सकारात्मक कदमहरु चालिरहेको छ ।

बुलिस प्रबृत्ति
आइतबार बजारमा ५.६४ अंकको बृद्धिसहित नेप्से १२७८.९२ अंकमा पुगेको छ । बिमा वाहेक बाँकी समूह हरियो भएका छन् । अन्य सुचक भने स्थिर छ ।

होमटल १०.८३, विकास बैंक ३.३, जलविद्युत् ८.४३, फाइनान्स १.५३, उत्पादनमूलक २९.१६ अंकले बढेको छ । बिमा भने १४ अंकले झरेको छ ।

आइतबार स्वरोजगार लघुवित्त र नमस्ते वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पति वढाएका छन् । गुमाउनेमा काष्ठमण्डप डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।