सिइओको तलव, स्प्रेड दर बजारले नै तय गर्ने हो, डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता

बिजमाण्डू
२०७२ फागुन २७ गते ००:०० | Mar 10, 2016
सिइओको तलव, स्प्रेड दर बजारले नै तय गर्ने हो, डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता

Tata
GBIME
Nepal Life

अघिल्लो बुधबार डेपुटी गभर्नरमा नियुक्त भएका शिवराज श्रेष्ठले त्यसयता फुर्सद पाएनन् । अढाइ महिना ढिलो गरी डेपुटी गभर्नर नियुक्ती भएका कारण राष्ट्र बैंकमा धेरै काम ‘पेन्डिङ’ मा थिए । सार्वजनिक विदा परेको शिवरात्रीका दिन पेन्डिङ काम सक्न कार्यालय पुगेका श्रेष्ठलाई बिजमाण्डूका सम्पादक सरोज काफ्ले सुदर्शन सापकोटाले सोधे– तपाईहरु सिइओको तलव, स्प्रेड दरमा पुनर्विचार गर्दै हुनुहुन्छ ? डेपुटी गभर्नर श्रेष्ठको अन्तर्वार्ता:

डेपुटी गभर्नर भएर आइसकेपछि राष्ट्र बैंकभित्र तत्काल के–कस्ता कामहरु अगाडि बढाउनु पर्छजस्तो लाग्छ ?
अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले खेल्ने भूमिका विशेष र महत्वपूर्ण नै हुन्छ । विशेषगरी आर्थिक क्षेत्रलाई डोर्याउनका लागि राष्ट्र बैंकले जहिले पनि ‘ब्याक बोन’ का रुपमा काम गर्नु पर्ने हुन्छ । केन्द्रीय बैंकले विशेषगरी वित्तीय स्थायित्वमा ध्यान दिनुपर्छ । बैंक तथा वित्तीय क्षेत्रमा सुशासन कायम भयो भने सर्वसाधारणको विश्वास बढ्छ । सर्वसाधारणको विश्वास बढाउने काम राष्ट्र बैंकले गरिरहेको छ, यसलाई प्राथमिकतामै राखेर अगाडि बढ्नु पर्छ ।

तपाईको प्राथमिकता चै के हो ?
यसमा मेरोभन्दा पनि राष्ट्र बैंकको प्राथमिकता महत्वपूर्ण हो । वित्तीय स्थिरता, संस्थागत सुशासन, उत्पानशिल क्षेत्रमा कर्जा प्रवाह नै प्राथमिकता हुन् । किनभने हामीले रोजगारी बढाउनु पर्नेछ, उद्यमशिलता पनि बढाउनु पर्नेछ । पैसा कमाउन ठूलो युवा जनशक्ति बाहिर गएको छ । उनीहरुलाई देशभित्रै रोजगारी दिन सकियो भने देशको आर्थिक विकासमा ठूलो योगदान पुग्छ ।

तपाई डेपुटी गभर्नरका रुपमा आउँदा आउँदै  दुई वटा तत्काल गरिहाल्नु पर्ने काम देखिन्छ राष्ट्र बैंकको तर्फबाट । एउटा, २ प्रतिशत ब्याजमा भुकम्प पिडितलाई कर्जा र अर्को, भुकम्प र नाकाबन्दीले थलिएका उद्योगधन्दालाई राहत दिन पुनरुद्धार कोषमार्फत कर्जा । यसले अब कसरी गति लिन्छ ?
भुकम्पले धेरै जनतालाई प्रभावित गरेको छ । उद्योगधन्दामा पनि असर परेको छ । उनीहरुको राहतका लागि नै राष्ट्र बैंकले स्किम ल्याएको हो । यसमा सरकारले पनि विभिन्न किसिमका प्याकेजहरु घोषणा गरेको छ । राष्ट्र बैंकले दिने पुनर्कर्जाले घर बनाउन र उद्योगधन्दा चलाउन सजिलो हुन्छ । यसमा तिब्र गतिमा अगाडि बढ्न आवश्यक छ । केही समयपछि बर्षा सुरु हुन्छ । त्यसैले तत्काल काम थालिहाल्नु पर्छ । सरकारी निकायसँग समन्वय गरेर बैंकिङ प्रणालीबाट भुकम्प तथा नाकाबन्दीबाट पीडित भएका उद्योगधन्दालाई ऋण दिने काम अब सुरु हुन्छ । घर बनाउन दिने ऋणले पनि प्राथमिकता पाउँछ ।

घर बनाउन दिइने ऋणको स्किमले कसैलाई पनि आकर्षित गर्न सकेन नि ?
त्यो कर्जाले आकर्षित नगरेको होइन । घना शहरी बस्तीमा भएका घरहरुको पुननिर्माणका लागि सरकारले छुट्टै भवन निर्माण आचारसंहिता सहितको जुन डिजाइन ल्याएको छ, त्यो अनुसार नबनाउने हुँदा ऋणमा समस्या हुन्छ । एकआनामा बनेका समेत घर रैछन्, संयुक्त परिवार भएको घर निर्माणका लागि ऋण लिन पनि ग्राहकको व्यवहारिक कठिनाइ रहेछ ।

धेरै जनाको सोचाइ के रहेछ भने, परकम्प आइरहेको छ, यो विस्तारै कम हुन्छ अनि बनाउनु पर्छ भनेर पनि ऋण माग्न आएका छैनन् । म आफै पनि भुकम्प पीडित छु । मेरो पनि घर भत्किएको छ । अहिले बनाइ नहालेको कारण केही समय हेरौं भनेर पनि हो । बैशाख जेठसम्म हेरेर बनाउनु पर्छ भनेर सोचिरहेको छु ।

तर ऋण नजानुमा प्राविधिक कठिनाइ ठूलो इस्यु रहेछ । राष्ट्र बैंकले ६ महिनाका लागि पुनर्कर्जा उपलब्ध गराउने रहेछ । त्यसलाई एक पटक मात्र नवीकरण गर्न पाइन्छ । त्यसो हुँदा दुई प्रतिशत ब्याजमा एक बर्षसम्म मात्र कर्जा पाउँदा रहेछन् सर्वसाधारणले । एक बर्ष नाघेपछि त बजार भाउ अनुसार बैंकहरुले फेरि आठ/दश प्रतिशत ब्याज तोकिदिन्छन् । आकर्षित नहुनुको कारण त यो हो नि हैन र ?
यसका लागि विशेष व्यवस्था नै गर्नुपर्छ । यसले गर्दा बैंकले ऋण दिन सक्दैन । पीडित वर्गले पनि ऋण लिएर एक दुई बर्षमै तिर्न सक्दैन । यसमा हामीले छलफल गरेर केही निर्णय गर्नै पर्ने हुन्छ । सरकारी निकायसँग पनि छलफल गर्न आवश्यक छ ।

अब पुँजीतिर जाउँ । बैंक तथा वित्तीय सस्थाको पुँजी बृद्धि योजनामा मिश्रित धारणा छ सबैतिर । तपाईलाई चै के लाग्छ ?
पुँजी बृद्धिको निर्णय दुई/तीन बर्ष अगाडि नै गर्नु पर्ने थियो । त्यो बेला प्राविधिक कारणले कार्यान्वयन गर्न सकिएन होला । अहिले उपयुक्त समयमै योजना आएको हो । यो गर्न जरुरी नै थियो । सार्क मुलुकहरुमै हेर्दा पनि हाम्रो देशमा बैंकको पुँजी एकदमै कम छ । बैंकहरुको स्ट्रेन्थ बढाउन पनि आवश्यक छ । ठूलो एउटा आयोजना बनाउनु पर्यो भने १० वटा बैंक मिल्नु पर्ने अवस्था छ ।

पुँजी बृद्धि योजना त आयो । तर दुई चार वटा संस्थाले नटेरेको पनि देखियो नि । उनीहरुले समानुपातिक योजनासमेत बुझाइ दिएनन् ।
सबैले नै पुँजी बृद्धि योजना बुझाइ सकेका छन् । दुई बर्षमा उनीहरुले पुर्याउँछन् । बाहिरका नियामक तथा सरोकारवालाहरु त दुई बर्ष समय पनि बढि भयो एक बर्ष मात्रै समय दिनु पथ्र्यो पनि भन्छन् । समय बढी दिँदा संस्थाहरुले झन् लचकता खोज्छन् भनिरहेका छन् उनीहरुले ।

एउटा दुईटा संस्थाहरुले समानुपातिक पुँजी बृद्धि योजना नबुझाएका हुन् । किनभने उनीहरु संयुक्त लगानीका बैंक भएकाले आफ्नो ‘प्यारेन्ट’ कम्पनीबाट पनि स्वीकृति लिनु पर्ने भएकाले केही ढिला भएको होला ।

राष्ट्र बैंकले योजना त ल्यायो । सफल पनि होला । तर एक जिल्ला, तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुलाई जसरी ४० गुणासम्म पुँजी वढाउनु पर्ने व्यवस्था गरियोे, उनीहरुले पुर्याउन सक्छन् ?
१० बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको बृद्धि ब्यापक रुपमा बढ्यो । शाखा पनि बढेको छ । तैपनि वित्तीय पहुँच भने सोचेजस्तो पर्याप्त हुन सकेन । बैंक खोल्यो, एक जिल्ला भन्यो, त्यहीँ बस्यो । यसले वित्तीय पहुँच बढाउन संख्या मात्र ठूलो कुरा होइन रहेछ भन्ने प्रमाणित गर्यो । बरु बलियो, स्ट्रेन्थ भएको बैंक भयो भने त उसले सानोतिनो सञ्चालन खर्च सजिलैसँग धान्न सक्छ । त्यसो हुँदा उसले शाखा विस्तार सजिलोसँग गर्न सक्छ ।

दुई करोडको बैंकलाई एउटा शाखा खोल्न जति गाह्रो हुन्छ, १०० करोडको बैंकलाई एउटा शाखा खोल्न गाह्रो हुँदैन । त्यो खर्च त उसले नियमित तथा चालु आम्दानीबाटै गर्न सक्छ । आधुनिक बैंकिङ सेवा दिन सक्छ ठूलो संस्थाले । त्यही हिसाबले नै पुँजी बढाउन लगाइएको हो । साना संस्थाहरुलाई आफैले पैसा हालेर पुँजी हाल्न समस्या भए विकल्पहरु भने धेरै छन् । उनीहरुले मर्जरमा गएर, नयाँ प्रवद्र्धक खोजेर पनि पुँजी बढाउन सक्छन् ।

एक जिल्ला, तीन जिल्ला भनेर राष्ट्र बैंकले विशेष व्यवस्थाबाटै उनीहरुलाई सञ्चालन स्वीकृति दिएको थियो । ती संस्थाहरुले पुँजी बढाउन सकेनन् भने त तपाईहरुले नै फेरि ती संस्थालाई विशेष व्यवस्था गरिदिनु पर्ने अवस्था आउन सक्छ नि ?
त्यस्तो परिस्थिति त नआउला । किनभने पुँजी बृद्धि गर्ने समय अझै बाँकी छ । ती बैंकका प्रवद्र्धक तथा सेयरधनीहरुले केही न केही योजना बनाएका होलान् । उनीहरुलाई पनि ठूलो हुन त मन लागिहाल्छ नि ।

राष्ट्र बैंकले लघुवित्तलाई छाडेर सबैको पुँजी बढायो । मर्जरबाट संख्या घटाउन पनि पुँजी बृद्धि ल्याउनुको एउटा कारण हो भनेर मौद्रिक नीतिमै लेखिएको छ । लघुवित्त भने असीमित रुपमा खुलिरहेका छन् । अहिले नै ४२ वटा सञ्चालनमा छन् ६० वटा पाइपलाइनमा छन् । योजना के हो राष्ट्र बैंकको ?
बैंक तथा वित्तीय संस्थाहरु खोल्न बन्द गरिएकाले पनि घ वर्गको लघुवित्त विकास बैंकमा लगानीकर्ता आकर्षित भएकोजस्तो देखिन्छन् । लघुवित्तहरुको नाफा बढी भएर लाभांस धेरै बाँड्ने देखिएकाले पनि आकर्षित भएको देखिन्छन् । लघुवित्तले जनतासँग भिजेर काम गर्छन् । जनतासँग भिज्न खोज्नेहरुले पनि लघुवित्त खोलेको हुनसक्छ । राष्ट्र बैंकले लघुवित्तको पुँजी बढाउने तयारी गरिरहेको छ । यसो हुँदा थोरै थोरै पुँजी हुनेहरुले लाइसेन्स माग्न नआउलान् । भइरहेकाहरुले पनि क्षमता बढाउँछन् र मर्ज गर्छन् भन्ने हो । देशको विकासका लागि त लघुवित्तले राम्रै काम गरिरहेको छ । गरिवी निवारणमा यसले काम गरिरहेको छ ।

हाम्रो प्रश्न चाहीँ, हिजो पनि क, ख र ग वर्गका संस्थालाई त्यही भनेर लाइसेन्स बाँडेका थियौं । अहिले संस्था बढेर मात्र पहुँच विस्तार नहुने रहेछ भन्ने राष्ट्र बैंकले ठान्यो । भोली लघुवित्तमा त्यस्तै धारणा नबन्ला फेरि ?
राष्ट्र बैंकले एउटा सन्दर्भमा एउटा निर्णय गरेको हुन्छ । तत्कालिन आवश्यकता पुरा गर्न त्यही अनुसारको नीति बनाइएको हुन्छ । काम गर्दै जाँदाखेरी पहिलाको सोच, योजना पुरा भइसकेको हुन्छ । फेरि नयाँ आवश्यकता सिर्जना भइसक्छ । नयाँ आवश्यकताका सिर्जना भएको परिप्रेक्ष्यमा नयाँ हिसावले जानु पर्ने हुन्छ । त्यो बेला वित्तीय पहुँच २५ प्रतिशतमा पनि थिएन भनेर लाइसेन्स दिइयो । अहिले मोटामोटी ४२ प्रतिशतमा पहुँच पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा त आए तर उनीहरुले शाखा विस्तार भने अपेक्षाकृत रुपमा गरेका छैनन् । उनीहरु आफै पनि खुसी देखिँदैनन् । राम्रो नाफा गरेर राम्रो लाभांस वाँड्न सकेको भए उनीहरु खुसी हुन्थे । त्यो नभइसकेपछि  बन्द गरेर हिँड्न पनि सकिँदैन । इज्जतका लागि पनि बन्द गर्न सक्दैनन् । सानो पुँजीमा खोलेका कारण विस्तार हुन नसकेका हुन् । विस्तार नभएपछि त नाफा हुँदैन । त्यही भएर उनीहरु अहिले मर्जरमा आकर्षित हुन थालेका छन् ।

क, ख र ग वर्गमा लगानी गर्न खोज्नेहरु नै घ वर्गको लघुवित्तमा गएका हुन् ?
बैंकिङ क्षेत्रमा अनुभवीहरु, यस क्षेत्रबाट अवकास भएकाहरुलाई यही क्षेत्रमा फेरि काम गर्न मन लागिरहेको हुन्छ । क, ख र ग वर्गमा लाइसेन्स खुला छैन । घ वर्गमा भए पनि काम गरौं भोली स्तरोन्नति गर्ने अवशर पनि आउन सक्छ भन्ने सोचाइ हुन सक्छ । स्कोप देखेरै उनीहरु आएका हुन्छन् । सीमित बैंकिङ कारोबार गर्ने गैरसरकारी संस्थाहरु पनि लघुवित्तमा स्तरोन्नती भएर काम गरुन् भन्ने राष्ट्र बैंककोे नीति भएका कारण संख्या बढेको हो ।

भनेपछि केही समयपछि नै घ वर्गका वित्तीय संस्थाहरुलाई स्तरोन्नती गर्न दिने पक्षमा तपाईहरु हुनुहुन्छ ?
यो पछिको कुरा हो । हामी अध्ययन गर्दै जान्छौं । त्यो बेला आवश्यक देखियोे भने त्यसतर्फ पनि सोच्न सकिन्छ ।

अब अर्को प्रशंगमा जाउँ । राष्ट्र बैंकभित्रै पनि र बाहिरको सिङ्गो बैंकिङ क्षेत्र राष्ट्र बैंकको पुरानो व्यवस्थापनले लिएको दुई तीन वटा नीतिको विपक्षमा देखियो, उभियो । विशेष गरी प्रमुख कार्यकारी अधिकृतको तलवमा सीमा, ब्याज दरमा स्प्रेड । राष्ट्र बैंकमा अब गभर्नरसँगै उच्च व्यवस्थापनमा नयाँ टिम आयो । यस बारेमा केही ‘रिभ्यु’ हुन सक्छ ?
यस बिषयमा झट्टै प्रतिक्रिया दिइहाल्नु उपयुक्त हुँदैन । जुन कुरा पनि बजारको सिद्धान्त अनुसार नै चल्नु पर्छ । विश्व नै खुला बजारमा विश्वास गर्छ अहिले । काम गर्नसक्ने क्षमता भएका, प्रोफेसनलहरुको मूल्यांकन बेग्लै ढंगबाट हुनु पर्छजस्तो लाग्छ मलाई । यसमा राष्ट्र बैंकले उपयुक्त बेलामा उपयुक्त निर्णय त लिइहाल्छ ।

स्प्रेड दर पनि विश्वभरीनै बजारमूखि हुन्छ । ब्याज दर बजारले नै निर्धारण गर्छ भन्ने सिद्धान्त पनि हो, त्यही अनुसार राष्ट्र बैंकले २०४२ सालबाटै ब्याज दर बजारमूखि बनाएको हो । क्रमसः सुधार हुँदै पनि गएको छ अहिले स्प्रेड दर । पहिला पहिला १०/१२ प्रतिशतसम्म थियो । विस्तारै  ६ प्रतिशतमा आयो । अहिले पाँच प्रतिशत भनेका छौं । स्प्रेड दर आफै घटेर गएको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरु इफिसेन्ट्ली चल्नु पर्ने अवस्था आयो । पहिला पहिला विजिनेस ल्याउने काम गर्ने चलन थियो । विस्तारै खर्च कटौती गरेर आम्दानी बढाउन थालियो । न्यूनतम खर्चमा गुणस्तरीय सेवा दिनु पर्छ भन्ने सोचाइ अहिले बैंक तथा वित्तीय संस्थामा आएको देखिन्छ ।

बजारमा विकृति नै आयो, बजार बिग्रियो भने त केन्द्रीय बैंकले त्यसलाई सुधार गर्नै पर्छ । तर पोलिसी भनेको स्थिर हुँदैनन् । एउटा दुईटा संस्थाले गरेको गल्ति सुधार्न सबैलाई नीति थोपर्नु हुँदैन भन्ने आवाज बैंकिङ क्षेत्रको हो । यसमा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्छ ।

नीतिमा रिभ्यु गर्न तपाईहरु तयार हुनुहुन्छ ?
नीति भनेको स्थिर त हुँदैन नि । पुरानो नीतिले कसैलाई साँच्चै अप्ठेरो परेको छ, देशको आर्थिक क्रियाकलापमा असर परिरहेको छ भने त्यसमा त सोच्नै पर्छ । समय नै परिवर्तनशिल छ । नीतिहरु पनि परिवर्तन हुन्छन् ।

तपाईहरु केही संस्थाहरु आफैले व्यवस्थापन हेरेर बस्नु भएको छ । ती संस्थाको भविष्य कसरी लैजाने भन्ने तपाईहरुको केही तयारी छ ?
हामीले सुपरीवेक्षण गरिरहेका ती संस्थाहरुमा सुशासनको ज्यादै नै कमि देखियो । आर्थिक जवाफदेहिता देखिँदै देखिएन । चरम लापरवाही देखियो । सेयरधनीको पैसा त डुब्ने डुब्ने निक्षेपकर्ताको पनि पैसा डुब्ने अवस्था आयो । कर्जा कहाँ गएको भन्ने अत्तोपत्तो छैन । यस्तो समस्या देखिएपछि सुधार गर्न राष्ट्र बैंकले केही संस्थाहरुको व्यवस्थापन हेरेको हो । सुधार हुनै नसक्ने संस्थाहरु खारेजीमा समेत गए ।

१३ वटा संस्था समस्याग्रस्तै छन् । तीन वटा संस्थालाई राष्ट्र बैंकले प्रत्यक्ष रुपमा हेरिरहेको छ । केही संस्थाहरु मर्नु न बाँच्नुको अवस्थामा छन् । उनीहरु रिभाइभ हुन नसक्ने अवस्थामा पनि पुगेका छन् । केही संस्थालाई मर्जरमा लैजान सकिन्छ भने केहीलाई नयाँ प्रवद्र्धक खोजेर जिम्मा लगाउने विकल्प छ । किनभने केही सञ्चालक मात्र खराव हुन् सबै सेयरधनी खराव होइनन्, सबै व्यवस्थापक पनि खराव होइनन् । राम्रो हुन सक्ने संस्थाहरुलाई विकल्प दिनु पर्छ ।

तर राष्ट्र बैंकले लामो समयसम्म यस्ता संस्थाहरुको व्यवस्थापन हेर्नु हुँदैन । व्यक्तिगत रुपमा राष्ट्र बैंकले अरु संस्थाको व्यवस्थापन लिएर काम गर्नु हुँदैन भन्ने मेरो धारणा छ । किनभने त्यसमा राष्ट्र बैंकको दक्ष जनशक्ति खर्च भइरहेको हुन्छ । बरु बाहिरबाट प्रोफेसनलहरु ल्याएर संस्था सुधारको जिम्मा दिनु पर्छ ।

बजारको अहिलेको अर्को ठूलो इस्यु अधिक तरलता पनि हो । तरलताका कारण ब्याज दर केही समयभित्रै उच्चतम अंकमा पुग्ने र फेरि न्यूनतम विन्दुमा पुगेको देखिएको छ । ब्याज दर स्थायित्वका लागि किन राष्ट्र बैंकले स्थायी संयन्त्रको विकास गर्न नसकेको ?
तपाईले कुन अर्थमा भन्नु भयो थाहा भएन, तर हामीसँग स्थायी संयन्त्र त छ । प्रणालीमा अधिक तरलता हुनु ठिक होइन र कम पनि ठिक होइन । यथोचित तरलता हुनुपर्छ । हामीले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको सल्लाह सुझावमै  एउटा संयन्त्र बनाएका छौं । त्यो संयन्त्रले तरलता के हुन्छ भनेर प्रक्षेपण गर्छ । अहिलेको प्रक्षेपण भनेको अल्पकालिन रुपमा अधिक तरलता हुन्छ भन्ने हो । तरलता व्यवस्थापनका लागि राष्ट्र ऋण विभागले खुला बजार हस्तक्षेपको काम गर्छ । तरलता व्यवस्थापन गर्ने हामीसँग स्थायी संयन्त्र छ ।

तपाईहरुले जतिसुकै हस्तक्षेप गरेपनि त्यसको असर त ब्याज दरमा देखिनु पर्ने हो । त्यो असर त केही भएन नि ?
त्यो नदेखिनुमा वाह्य कारण बढी हो । अधिक तरलताको अवस्था अल्पकालिन हुन्छ भन्ने थियो तर यहाँ त त्योभन्दा केही बढी अवधिको भयो । भुकम्प गएको अवस्था थियो । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा थिए । यहीबीचमा दक्षिततर्फको नाकामा अवरोध आयो । आपुर्ति व्यवस्थापनमा समस्या आएकाले उद्योगी व्यापारीहरुले पनि थप लगानी गर्ने, क्षमता बढाउन आँट गरेनन् । भुकम्प र नाकाबन्दी हुन्छ भनेर त कसरी प्रक्षेपण गर्न सकिन्छ र ? त्यही भएर यसपाली तरलता व्यवस्थापनमा केही इस्युहरु आएका हुन् । मौद्रिक नीति तर्जुमा गर्दा यस्ता घटना होलान् भनेर त सोचिएको हुँदैन । त्यही अनुसार नीति बनेका हुन्छन् ।

ब्याज दर न्यूनस्तरमा झरिसकेको अवस्थामा राष्ट्र बैंकले यसबाट केही ‘थ्रेट’ महशुस गरेको छ कि छैन ?
ब्याज दर पक्का पनि तल्लो स्तरमा आएको छ । पहिला पहिला पनि यस्तो हुने गरेको थियो । कतिपय बैंकको पुँजी लागत कम भएकाले मार्जिन कम राखेर भए पनि कमाउँ भन्ने उद्देश्यले ब्याज घटाएका हुन् । पैसा तिरेर लिएको बचत थुपार्नु भन्दा त अलिअली भए पनि कमाउनु पर्छ भनेर ब्याज झारेका हुन् ।

अहिलेको अवस्था अल्पकालिन होजस्तो लाग्छ । आपुर्ति व्यवस्थापन सुधार भएको छ । भुकम्पको परकम्प कम हुँदै गएपछि उद्योगधन्दामा पनि लगानी बढ्न थाल्छ । काम गर्नु पर्छ भन्ने सोचाइ पनि बढ्दै जान्छ । पुर्वाधारमा लगानी बढ्छ । सरकारले पनि लगानी बढाउन थाल्छ । त्यही भएर अहिलेको तरलता अल्पकालिन हो । ब्याज दर पनि अल्पकालिन रुपमा झरेको हो । यो लामो समयसम्म रहँदैन ।