बजेटबाट लक्जरियस कारमा एकप्रतिशत करको दर बढेपछि भारतमा बढ्यो कारको मूल्य, नेपालमा बढ्दैन

बिजमाण्डू
२०७२ फागुन २८ गते ००:०० | Mar 11, 2016

उमेश पौडेल/बिजमाण्डू
काठमाडौं । बजेटबाट लक्जरियस कारमा करको दर बढेपछि भारतमा कारको मूल्य बढिसकेको छ । भारतमा मूल्य बढेपछि नेपालमा कारको मूल्यमा के प्रभाव पर्छ  ? भारतले लगाएको कर  अन्तरिक वा वाह्य हो  सवारी साधनका नेपालका अधिकृत विक्रेता अन्यौलमा छन् । तर कर लाग्नु अघिनै आएका गाडी पूरानै मूल्यमा नेपाली उपभोक्ताले पाउने उनीहरुले बताएका छन् ।
 
भारतमा मूल्य बढेपनि नेपालमा तत्कालै असर भने नपर्ने सवारी साधनका नेपालका अधिकृत विक्रेता बताउँछन् ।

Tata
GBIME
Nepal Life

टाटा गाडीको नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले तत्काल कुनै पनि गाडीको मूल्य नबढाउने भएको छ । 'यो नितान्त भारतमा बढेको कर हो र त्यो नेपालका लागि लागु हुँदैन' सिप्रदी पेसेन्जर कार युनिटका प्रमुख प्रविण खतिवडाले भने । टाटाले भारतमा दुर्इदेखि ३५ हजार भारुसम्म मूल्य बढाउने निर्णय गरिसकेको छ । सिप्रदीले नेपालमा प्रतिमहिना दुईसय कार बेच्छ ।

 

हुन्डार्इ गाडीको नेपालको अधिकृत विक्रेता लक्ष्मी हुन्डाईले नेपालमा विक्री हुने कारको मूल्य तत्काल नबढ्ने बताएको छ ।
 
'विदेश निकासी हुने गाडीहरुमा करको दायरा बढाउने वा नबढाउने भनेर भारतीय सरकारले स्पस्ट गरेको छैन' लक्ष्मी हुन्डार्इका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बिजमाण्डूसँग भने 'भारतले स्थानीय कर बढाएको हो । हामी तत्कालै मूल्य बढाउँदैनौ।'
 
कोरियन मोटर निर्माता कम्पनी हुन्डाइले भारतमा आफ्ना कारमा तीनहजारदेखि ८० हजार भारतीय रुपैयाँले बढाउने भएको छ । भारतमा विशेषगरी हुन्डाइका एसयुभि र डिजेल इन्जिनका गाडीको मूल्य बढ्नेछन् ।
 
लक्ष्मी हुन्डार्इले महिनाको तीन सय गाडी विक्री गर्दै आएको छ । भारतले लक्जरियस कारमा एक प्रतिशत करको दर बढाएको थियो ।
 

भारतमा मूल्य बढाउने निर्णय गरिसकेको मारुती सुजुकीका सवारी साधनको मूल्य नेपालमा तत्कालै नबढ्ने भएको छ । मारुती सुजुकीको नेपालको अधिकृत विक्रेता सिजी मोटर कर्पले वैशाख अघि मूल्य नबढ्ने जनाएको छ । नेपालमा मारुती सुजुकीका मासिक साढे चार सय  गाडी विक्री हुन्छ ।

 

कम्पनीले भारतभरी लागुहुनेगरी आफ्नो उत्पादनमा १५ सय देखि ३४ हजार पाँचसय भारतीय रुपैयाले मूल्य बढाउने निर्णय गरेको छ । मारुती सुजुकीले सिएज र एर्टिकाका स्मार्ट हाईब्रिड मोडेलमा भने मूल्य यथावत राखेको छ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका भेहिकल समितिका सभापति गोपी न्यौपाने नेपालका आयातकर्ता र गाडी निर्माता कम्पनीवीचको छलफलपछि मूल्य टुंगो लाग्ने बताए ।



'तत्काल यसै भन्न सकिन्न तर बैशाख वा जेठमा टुङ्गो लाग्छ ' उनले भने, तत्कालै मूल्य बढ्दैन ।'

पुजा इन्टरनेसनलले भारतीय बजेटमा करको दायरा बढेसंगै कारको मूल्यमा केही हेरफेर हुने जनाएको छ। 'हामीसँग यो बर्षभरीका लागि पुग्ने गाडीहरु पाइपलाइनमा छन् । भारतमा मूल्य बढे मात्र नेपालमा मूल्य बढ्छ' पुजा इन्टरनेशनलका सेल्स मेनेजर सुदिप आचार्यले भने 'यदि कर बढेर आयो भने  हामीले तीनदेखि आठ लाखसम्म मूल्य बढाउनुपर्ने हुन्छ।' कम्पनीले नेपालमा प्रति महिना ७० गाडी विक्री गर्छ ।