तयार भयो विश्वकै सबैभन्दा ठूलो समुद्री जहाज

बिजमाण्डू
२०७२ चैत्र १ गते ००:०० | Mar 14, 2016
तयार भयो विश्वकै सबैभन्दा ठूलो समुद्री जहाज


१२४ फिट लामो, आइफेल टावर जत्रै अग्लो, समुद्रमा चल्ने विश्वकै सबैभन्दा ठूलो पानीजहाज हार्मोनी अफ द सि तयार भएको छ। दुई लाख २७ हजार टन गह्रौं यो जहाजको गत साता परीक्षण गरियो।

Tata
GBIME
Nepal Life

न्युयोर्क सेन्ट्रल पार्कको सानो रुपमा तयार गरिएको यो जहाजमा १८ वटा डेक छन् भने यहाँ १० हजार ५८७ वटा प्लान्ट तथा २० फिटसम्म अग्ला ५२ वटा रुख रोपिएका छन्।

इन्जिनियरिङको अद्भुत कलाका रुपमा व्याख्या गरिएको यो जहाज तयार गर्न ८० करोड पाउण्ड (एक खर्व २३ अर्व रुपैयाँ) खर्च गरिएको छ।

हार्मोनी अफ सिलाई फ्रान्सको सेन्ट नजाइरेमा तयार गरिएको हो। यसलाई विस्तारै समुद्रमा धकेल्न थालिएको छ। यो जहाज चलाउनका लागि कम्तीमा तीन जना पाइलट अनिवार्य गरिएको छ। उनीहरुलाई कम्प्युटर सिमुलेटरमा तालिम दिइएको छ।

जब मेमा यो जहाज साउथह्याम्टनमा हुनेछ, त्यतिवेला रोयल क्यारिवियन इन्टरनेशनल जहाजमा जस्तै यसका छ हजार यात्रीलाई जिपिएसमा आधारित नाडी ट्रयाकर प्रदान गरिनेछ। यो ट्रयाकरले उनीहरुलाई जहाजको आन्तरिक बनावटमा हराउनबाट जोगाउनेछ।

जहाजमा १६ वटा रेष्टुरेण्ट तथा क्याफे हुनेछन् भने जामे इटालियन नामको बुटिक सपिङ समेत हुनेछ। त्यसैगरी जहाजमा उच्च गतिको इन्टरनेट सुविधा समेत हुनेछ।

टाइटनिकभन्दा ३३० फिट लामो यो जहाजको उचाइ सात वटा डबल डेकर बसलाई खप्टाए बराबर छ। जहाजमा बायोनिक बार समेत छ। जहाँ यात्रीलाई रोबोटले ककटेल सर्भ गर्ने व्यवस्था मिलाइएको छ। जहाजमा १३८० सिट क्षमताको थिएटर समेत छ। जहाँ यात्रीले ग्रिज जस्ता संगीतमा रमाउन सक्नेछन्।

जहाजमा भिआइपि रोयल लफ्ट सुइट समेत छ। यो सुविधा उपयोग गर्नका लागि एक यात्रीले एक साताका लागि सात हजार ५२५ पाउण्ड (११ लाख ५० हजार रुपैयाँ) तिर्न पर्नेछ।

हार्मोनी अफ सिको मालिक रोयल क्यारिवियन क्रुज हो। यसको सञ्चालन रोयल क्यारिवियन इन्टरनेशनलले गर्नेछ। यस अघि यही कम्पनीले ‌ओसिस अफ सि तथा अलुरे अफ द सि गरेर दुई ठूला जहाज बनाइसकेको छ।

विश्वका दुई ठूला जहाज सञ्चालन गरिसकेपछि कम्पनीले त्योभन्दा पनि ठूलो जहाजको अर्डर सन् २०१२ मा गरेको थियो। तीन वर्ष लगाएर बनाएपछि यही वर्ष समुद्रमा सेवाका लागि ओर्लिन लागेको हो।

डेलीमेल तथा अन्य एजेन्सीको सहयोगमा