कसरी जोगाएका छन् लघुवित्त र बीमा कम्पनीले पुँजी बजारलाई?

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
कसरी जोगाएका छन् लघुवित्त र बीमा कम्पनीले पुँजी बजारलाई?

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजारमा पछिल्लो समय बीमा र लघुवित्त कम्पनीको सेयर मूल्य निकै आकाशिएको छ। बजारमा निर्जीवन बीमा कम्पनी र लघुवित्तको सेयर मूल्य ३० देखि एकसय प्रतिशतसम्मले बढेका छन्।
 
तुलनात्मक रुपमा बजारमा सानो हिस्सा भएपनि बीमा र लघुवित्त कम्पनीको सेयर मूल्य आकासिँदा बजारको समग्र सूचक पनि स्थिर जस्तै देखिएको छ । ठुला हिस्सा ओगट्ने वाणिज्य बैंकहरुको सेयर मूल्यमा खासै बृद्धि नआउँदासमेत बजारले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । केही जलविद्युत कम्पनीको सेयर मूल्यमा आएको बृद्धिलेसमेत बजारलाई माथि धकेल्न सहयोग गरिरहको छ ।
 
पछिल्ला केही दिनमा बीमा कम्पनीको सूचक एकसय अंकसम्मले बढेको छ। यस्तै लघुवित्त कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढिरहेका छन्। लघुवित्तकै कारण विकास बैंक सुचकले बाणिज्य बैंक सुचकलाई उछिनिरहेको छ ।
 
बजार पुँजीकरण सानो भएपनि यी क्षेत्रको सेयरमा ठुलो वृद्धि देखिँदा सेयर बजार पनि हरियो हुने गरेको छ। सेयर विष्लेशक रविन्द्र भट्टराई लगानीकर्ताले विकल्प खोजिरहेका बेला यी क्षेत्र लगानीका लागि सकारात्मक हुने बताउँछन्।
 
'लगानीकर्ता मुभ भइरहेका बेला अरु क्षेत्र घट्दा पनि यी क्षेत्रले अहिले आशा देखाइदिएका छन्,' उनले भने, 'बजार बढाउन नसकेपनि यिनीहरुले घटिरहेका बेला सकारात्मक सन्देश दिन भने खोजेको देखिन्छ।'
 
बजारमा लघुवित्तको तुलनामा बीमा कम्पनीको सेयर आपूर्ति धेरै भएपनि मागअनुसारको आपूर्ति नहुँदा यी कम्पनीको मूल्य बढाइरहेको छ। 'कसैले अलिकति सेयर होल्ड गरिदियो भनेपनि बजारमा आपूर्ति हुँदैन,' उनले भने, 'कम आपूर्ति हुँदा मूल्य बढाउन सहयोग गरेको छ।'
 
स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापति पनि यी क्षेत्रको आपूर्ति कम हुँदा बजार बढेको बताउँछन्। 'कसैले पाँचहजार कित्ता माग गर्‍यो भनेपनि बजारमा त्यसको पर्याप्त आपूर्ति हुँदैन,' उनले भने, 'त्यसले पनि मूल्य बढाउन सहयोग गरेको छ।'
 
बजारमा यी दुवै क्षेत्रका कम्पनीको पुँजी बढाउने चर्चा पनि चलिरहेको छ। पुँजी बढाउने हल्लाका कारण पनि बजारमा लागनीकर्ता आकर्षित देखिएका हुन्। बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी जीवनतर्फ पाँच अर्ब र निर्जीवनतर्फ चार अर्ब बनाउने प्रस्ताव गरेको छ। तर यो अहिलेसम्म पारित भने भएको छैन।
 
यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जबी नेपालले लघुवित्तको पनि पुँजी बढाउने बताएसँगै त्यसले पनि लघुवित्तको मूल्‍य बढाइरहेको छ।
 
'ट्याक्टफुल्ली काम गर्नेले पैसा कमाएका छन्'
विष्लेशक भट्टराई यी दुवै क्षेत्रमा राम्रोसँग अध्ययन गरेर लगानी गर्नेले नाफा कमाएको पनि बताउँछन्। 'आफ्नो नाफाको लक्ष्य हेरेर लगानी गर्नेले पैसा कमाएका पनि छन्,' उनले भने, 'ट्याक्टफुल्ली काम गर्नेहरुले नाफा कमाएको देखिन्छ।'
 
सिजापति पनि यी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुले थोरै भएपनि नाफा कमाएको बताउँछन्। 'पाँच प्रतिशत नाफा हुने बित्तिकै लगानीकर्ताले किनबेच गर्ने गरेको देखिन्छ, धेरै लगानीकर्ताहरु अहिले रोटेट भइरहेका छन्,' उनी भन्छन्, 'अहिले कारोबार रकम बढ्नुको कारण पनि यसैलाई लिन सकिन्छ।'