चिनियाँ बैंक नेपाल आउन लागेका हुन् ? गभर्नर भन्छन्– अहिले त सुपरभाइजरी एमओयु मात्र हुन लागेको हो

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
चिनियाँ बैंक नेपाल आउन लागेका हुन् ? गभर्नर भन्छन्– अहिले त सुपरभाइजरी एमओयु मात्र हुन लागेको हो
काठमाडौं । आइतबारबाट सुरु हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणसँगै नेपालको वित्तीय क्षेत्रमा चीनियाँ बैंकहरुको प्रवेशलाई बाटो खुल्ने चर्चा चल्न थालेको छ ।

Tata
GBIME
Nepal Life

यस्तो चर्चा साढे दुई बर्षअघि पनि चलेको थियो, जब तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला चीन गएका थिए ।

गभर्नर डा. चरिञ्जिबी नेपालसहित बाणिज्य बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायण पौडेल पनि प्रधानमन्त्रीसँग चीन जाने भएपछि चीनका बैंकहरुलाई औपचारिक रुपमा नेपाल भित्राउनका लागि औपचारिक पहल हुन लागेको चर्चा वित्तीय क्षेत्रमा चल्न थालेको हो ।


डा. नेपालले वेलाबेलामा विदेशी बैंकहरु नेपालमा आउन लागेको तथा विदेशी बैंकसँग नेपाली बैंकको मर्जर तयारी भएको सार्वजनिक भाषणा गरिरहेको पृष्ठभूमिमा चीनियाँ बैंक नेपाल आउन लागेका चर्चा सुरु भएको हो ।

गभर्नर नेपालले भने प्रधानमन्त्रीको चीन भ्रमणमा दुई देशबीचको केन्द्रीय बैंकहरुबीच सुपरभाइजरी अनुभव आदनप्रदान सम्बन्धि प्रारम्भिक सहमति (एमओयु) मा हस्ताक्षर हुन थालेको बताए ।

‘हामीले ६ महिनाअघि नै यो सम्झौताका तयारी गरेको हो,’ डा. नेपालले बिजमाण्डूसँग भने, ‘उता पक्ष (चीन) ले प्रधानमन्त्रीको भ्रमणमा नै प्रस्ताव ल्याउन भनेकाले  अहिले जान लागिएको हो ।’

के उसो भए चीनियाँ बैंक नेपाल आउन लागेका होइनन् त ? भन्ने प्रश्नमा गभर्नरले भने– चीनियाँ बैंक नेपाल आउने कुरा दुई–तीन बर्षअघि नै आएको हो । नेपालमा वातावरण बन्यो भने उनीहरु आउन सक्छन् । चीनियाँ मात्र होइन अरु तीन चार ठाउँका बैंकहरुसँग पनि कुराकानी भएको हो ।

गभर्नर नेपाल प्रधानमन्त्रीसँगै गएपनि उनीभन्दा चाँडै फर्किँदैछन् । एमओयु सकेपछि हाम्रो टिम फर्किन्छ– उनले भने ।