दैनिक पाँच सय टन सिमेन्ट उत्पादनको लक्ष्यसहित सनराइज उद्योग स्थापना

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
दैनिक पाँच सय टन सिमेन्ट उत्पादनको लक्ष्यसहित सनराइज उद्योग स्थापना

 
  • उमेश पौडेल/बिजमाण्डू
काठमाडौं । पूर्वाञ्चल क्षेत्रका व्यवसायीले आधा अर्बको लगानीमा झापामा सिमेन्ट उद्योग संचालनमा ल्याउने भएका छन् । ५५ करोडको लगानीमा झापाको चन्द्रगढीमा सनराइज सिमेन्ट उद्योग स्थापना भएको छ ।

Tata
GBIME
Nepal Life

 दैनिक पाँच सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित उद्योग दर्ता प्रक्रिया समेत भइसकेको छ । उद्योगका संचालक दिपेश ढकालका अनुसार एक महिना अघि उद्योग दर्ता भइसकेको जानकारी दिए ।

उद्योग विभागमा उद्योग दर्ता भइसकेको छ । हामी एक वर्षभित्रै उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाएका छौ, उनले बिजमाण्डूसँग भने, हामीले ६ विघा जग्गा समेत किनिसकेका छौ । यो ग्राइन्डिङ युनिट हो । उद्योगले सनराइज ब्रान्डमा सिमेन्ट बजारमा ल्याउनेछ ।

सनराइज ब्रान्डमा पिपिसी,  ओपिसी र पिएससी सिमेन्ट बजारमा ल्याउनेछ । उद्योगले भारत र नेपालभित्रै बाट क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गर्नेछ । उनका अनुसार केही समयभित्रै उद्योगको क्षमता दैनिक १५ सय टन पुर्याइनेछ ।

३३ करोड २६ लाख स्थीर पुँजी रहने यो उद्योगमा ११ करोड ७३ लाख चालु पुँजी रहने यो कम्पनीमा जम्मा ५५ करोड कुल लगानी रहको छ। सिमेन्टका लागि चार हजार केभिए क्षमता विद्युत लाग्ने उद्योगले जनाएको छ ।

यो उद्योगमा पाँचजना सञ्चालक रहेका छन् । उद्योगमा ओम अग्रवाल, प्रदिप मुरारका, दिपेश ढकाल र अरु दुर्इजना संचालक  छन् । यी उद्योगीको समूहले यसअघि सिमेन्ट लगानी गरिरहेका छन् । यही समूहको गोरखकाली सिमेन्ट उद्योग संचालनमा छ ।  उद्योगमा ६० जनाले रोजगार पाउने ढकालले बताए । ढकालले सिमेन्टको बजार प्रशस्त रहेको बताउँदै नेपालको पुर्ननिर्माणमा आफ्नो सिमेन्ट हिस्सा बन्ने दावी गरे ।

उद्योगले वार्षिक रुपमा तीसहजार मेट्रिकटन पिपिसी सिमेन्ट, ९० हजार मेट्रिकटन पिएससी सिमेन्ट र तीस हजार मेट्रिकटन ओपिसी सिमेन्ट उत्पादन गर्नेछ । गुणस्तर तथा नापतौल विभागका अनुसार मुलुकभित्र ७७ ब्राण्डले  गुणस्तर चिन्ह लिइसकेका छन् ।

नेपालमा अहिले चार दर्जन सिमेन्ट उद्योग संचालनमा छन् ।  मुलुकभित्र सिमेन्टको माग ४५ लाख टन छ तर उत्पादन भने ३५ लाख टन रहेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा रहेका उद्योगको क्षमता झन्डै ६० लाख टन पुगेपनि उर्जा संकटले पूर्ण क्षमतामा चल्न सकेका छैनन् । पूर्ण क्षमतामा चल्न नसकेकोले भारतबाट १० लाख टन भन्दा बढी आइरहेको व्यवसायीहरु बताउँछन् ।