पुनर्निर्माणका लागि सरकारले इन्जिनियर सहित २६ सय जना प्राविधिक माग्यो, १५ दिनभित्र आवेदन

बिजमाण्डू
२०७२ चैत्र ५ गते ००:०० | Mar 18, 2016
पुनर्निर्माणका लागि सरकारले इन्जिनियर सहित २६ सय जना प्राविधिक माग्यो,  १५ दिनभित्र आवेदन

विनोद ढकाल/बिजमाण्डू
काठमाडौं । भूकम्पका कारण क्षति भएका घर पुनर्निर्माणमा सहयोग पुर्‍याउन सरकारले इन्जिनियर सहित झण्डै २६ सय जना प्राविधिक जनशक्ति माग गरेको छ। बिभागले शुक्रबार सूचना प्रकाशित गरी आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका लागि केन्द्र र जिल्ला स्तरमा काम गर्ने इन्जिनियर,  सब इन्जिनियर र असिस्टेन्ट सब इन्‍जिनियर गरी २५ सय ७१ जना माग गरेको हो। जसमध्ये १३ सय ४६ जना इन्जिनियर,  ६ सय ५० जना सब इन्जिनियर र ५ सय ७५ जना असिस्टेन्ट सब माग गरिएको छ।

Tata
GBIME
Nepal Life

यी इन्जिनियरहरुले सरकारी अनुदान लिएर बनाइने निजी भवनको प्राविधिक जाँच र प्रमाणीकरणको काम गर्ने बिभागले जनाएको छ। घर निर्माणका लागि सरकारी अनुदान लिने भूकम्प पीडितको घरको डिजाइन स्वीकृत, प्रमाणीकरण र भुक्तानीका लागि सिफारिस गर्ने काम पनि उनीहरुले गर्नेछन्।


बिभागका सूचना अधिकृत सुरेश कुमार वाग्लेका अनुसार अहिले माग गरिएको प्राविधिक जनशक्ति श्रोत केन्द्र र गाविसमा बसेर काम गर्नुपर्नेछ। 'निजी घर, सरकारी र सामुदायिक भवनका साथै भूकम्पका क्रममा क्षति भएका शहरी र ग्रामीण पुनर्निर्माणको लागि यति धेरै संख्यामा इन्जिनियर माग गरिएको हो' उनले भने 'सरकारी स्तरबाट यति धेरै प्राविधिक जनशक्ति माग गरिएको यो सायद पहिलो पटक हो।'

अहिले माग गरिएको प्राविधिक जनशक्तिको करार अवधि असारसम्म तोकिएको छ। तर त्यसपछि पुन करार नवीकरण भइ पुनर्निर्माण अवधिभरी निरन्तर हुन सक्ने वाग्लेले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पमा क्षति भएका घर पुनर्निर्माणका लागि अहिले भूकम्प प्रभावित जिल्लामा लगत संकलनको काम गरिरहेको छ। लगत संकलन सकिएको दोलखाको लादुक र लामिडाँडामा भने अनुदान वितरण गरिसकेको छ। लगत संकलन सकिएको गाविसमा अनुदान वितरण गर्दै जाने प्राधिकरणको तयारी छ।

बिभागले यसअघि गएको मंसिरमा ४६ जना इन्जिनियर र ७१ जना सब इन्जिनियर माग गरेको थियो। त्यतिबेला आवेदन दिएका तथा अन्तर्वार्तामा नबोलाइएकाहरुलाई पनि अहिले अन्तर्वार्तामा सहभागी गराइने जनाएको छ।

इच्छुक इन्जिनियरले १५ दिनभित्र शहरी विकास तथा भवन निर्माण बिभागको वेवसाइटबाट अनलाइन आवेदन गर्न सक्नेछन्। इन्जिनियरका लागि सिभिल इन्जिनियरिङ वा आर्किटेक्चरमा कम्तीमा स्नातक तह उतीर्ण गरी नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको हुनुपर्नेछ।

त्यस्तै सब इन्जिनियरका लागि सिभिल इन्जिनियरिक वा आर्किटेक्चरमा डिप्लोमा वा प्रमाणपत्र उतीर्ण हुनुपर्नेछ। असिस्टेन्ट सब इन्जिनियरका लागि प्राविधिक शिक्षालयबाट टिप एसएलसी कोर्स उतीर्ण गरेको हुनुपर्नेछ। छनोठ हुन इन्जिनियरले अन्तर्वार्ता मात्र दिए पुग्नेछ।