टेलिकमले डेटा सेन्टर सञ्चालन गर्ने, सरकारी संस्था र बिजनेस हाउसले कसरी लिन सक्छन फाइदा ?

बिजमाण्डू
२०७२ चैत्र ५ गते ००:०० | Mar 18, 2016
टेलिकमले डेटा सेन्टर सञ्चालन गर्ने, सरकारी संस्था र बिजनेस हाउसले कसरी लिन सक्छन फाइदा ?

उमेश पौडेल/बिजमाण्डू
काठमाडौ। नेपाल टेलिकमले व्यवसायिक रुपमा डेटा सेन्टर सञ्चालन गर्ने भएको छ। सरकारी तथा निजी क्षेत्रका तथ्यांकलाई एकीकृत रुपमा सुरक्षित राख्नका लागि टेलिकमले डेटा सेन्टर सञ्चालन गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

टेलिकमले व्यवसायिक रुपमा नै डेटा सेन्टर सञ्चालनमा ल्याउने छ। डेटा सेन्टर सञ्चालनका लागि टेलिकमले टेण्डर आव्हान गर्ने तयारी गरिरहेको छ। टेलिकमले डेटा सेन्टर स्थापनाका लागि प्राविधिक अध्ययन सकिसकेको र छिट्टै नै टेण्डर गरी स्थापना गरिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

'हामी यसबारे छिट्टै नै टुङ्गोमा पुग्छौं,' वैद्यले भनिन् 'अध्ययनको चरण सकिइसकेको छ, टेन्डरको तयारीमा छौं।' डेटा सेन्टर सञ्चालनका लागि टेलिकमले टेण्डर डकुमेण्ट तयार गरिरहेको छ। टेण्डरको प्रक्रियामा रहेकाले लागत भने सार्वजनिक गरिएको छैन। टेलिकमले डेटा सेन्टर सञ्चालनका लागि चाहिने पूर्वाधार निर्माणको काम पनि अगाडि बढाउने तयारी गरिरहेको छ।

टेलिकमले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा पनि डेटा सेन्टर सञ्चालनका लागि काम अगाडि बढाउने उल्लेख गरेको थियो। टेलिकमले सञ्चालनमा ल्याउने डेटा सेन्टरमा उच्च प्रविधियुक्त अप्टिकल फाइबर केबल र अहिलेसम्मकै नयाँ प्रविधि  प्रविधि प्रयोग हुनेछ।

टेलिकमले फाइबरसँगै क्लाउडमा आधारित मोडलको पनि सेवा दिने तयारी गरेको छ। ‘हामी कम्प्लिट सोलुसन दिने तयारिमा छौं,’ टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘व्यावसायीक रुपमा जाने भएपछि सबै सेवा दिनेगरी नै आउछौं।’

के हो डेटा सेन्टर
डेटा सेन्टर एक केन्द्रिकृत डेटा भण्डार हो जसमा डेटा र डेटाको जानकारीका लागि सरकार, व्यक्ति अथवा कुनै कम्पनीले आफ्नो डेटा सुरक्षित रुपमा राख्न एक विशेष रुपमा तयार पारिएको डिभाइस हो।

डेटा सेन्टर फिजिकल र क्लाउडमा आधारित तथा सम्पूर्ण रुपमा क्लाउडमा मात्रै आधारित गरी दुई किसिमबाट सञ्चालन हुन्छ। फिजिकल डेटाबेस सेन्टरमा आफ्ना महत्वपूर्ण डेटालाई कतै लिकेज नहोस भनेर सुरक्षितसाथ राखिन्छ। क्लाउडबेस्ड डेटासेन्टरले पनि आफ्ना क्लाइन्टलाई डेटासँग सम्बन्धित कामका लागि सेवा दिन्छ। यो सेवा सुरक्षाका हिसाबले निकै नै बलियो मानिन्छ।

सरकारी संस्था तथा निजी व्यवसायिक संघ संस्थाले आफ्ना डेटा सुरक्षित राख्न यस्तो आफूसँग भएको स्पेस अपर्याप्त भएपछि डेटा सेन्टरको प्रयोग गर्छन्। डेटा सेन्टर सञ्चालकले निश्चित शुल्कमा उनीहरुले मागेअनुसारको स्पेस दिन्छन्।

अहिले कस्तो छ डेटा व्यवस्थापन?
नेपाल सरकारका डेटा सुरक्षित राख्न सिंहदरबारभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र छ, जहाँ नेपाल सरकारका प्रत्येक डेटा भण्डारण, वितरण र संयोजन भइरहेको हुन्छ। यो सूचना प्रविधि केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो।

सरकारीस्तरमा सिंहदरबारबाट यो सेवा उपलब्ध भइरहेको हुन्छ भने निजीस्तरमा विभिन्न संस्थाले आफ्नै सर्भर राखेर सेवा उपलव्ध गराइरहेका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक, स्टान्डर्ड चार्टड बैंक, नबिल बैंकलगायतका ठुला बैंकले आ आफ्नै सर्भरहरु राखेका छन भने बाँकि रहेका बैकहरुले डेटा सुरक्षित राख्नका लागि अरु निजी तथा विदेशी कम्पनीसँग आफ्नो सहयोग लिइरहेका छन्।

विश्वमा माइक्रोसफ्ट र अमेजनलाई सबैभन्दा विश्वासिलो र भरपर्दो डेटा स्टोरेज भएको कम्पनीका रुपमा लिइन्छ। यिनीहरुले क्लाउड बेस्ड माध्ययमबाट विश्वभर रहेको आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेका छन्। नेपालमा पनि यिनीहरुका धेरै ग्राहक रहेका छन्।

हेटौंडामा अर्को सूचना प्रविधि केन्द्र बन्दै
सरकारले हेटौंडामा पनि सूचना केन्द्र स्थापनाको तयारी गरेको छ। सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्दा ठूलो सूचना केन्द्र सञ्चालमा ल्याउने तयारी भइरहेको हो।