गणेशमान सिंहको तस्बिर अङ्कित सिक्का निष्काशन, मूल्य दुई हजार ७६ रुपैयाँ, टक्सार विभागमा पाइने

बिजमाण्डू
२०७२ चैत्र ५ गते ००:०० | Mar 18, 2016
गणेशमान सिंहको तस्बिर अङ्कित सिक्का निष्काशन, मूल्य दुई हजार ७६ रुपैयाँ, टक्सार विभागमा पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजनेताको तस्बिर अङ्कित सिक्का पहिलो पटक निष्काशन गरेको छ।
 
गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैंकले लौहपुरुष गणेशमान सिंहको तस्बिर अङ्कित चाँदीको सिक्का पहिलो पटक निष्काशन गर्न लागेको हो।
 
नेपाल राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा शुक्रबार राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उक्त सिक्का सार्वजनिक गरे।
 

Tata
GBIME
Nepal Life

गभर्नर डा नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको ठूलो भूमिका रहेकोले उनको योगदानलाई कदर गर्दै सिक्का निकाल्न पाउँदा राष्ट्र बैंक खुसी भएको बताए । उनले भने– 'यो सिक्काले स्वर्गीय सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।'
 
फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले जनताका लागि सङ्घर्ष गर्ने व्यक्ति सिंह भएको भन्दै उनको योगदानलाई कसैले भुल्न नहुने बताए। सिंहले भने–'इतिहासलाई प्रजातान्त्रिक पद्धतिमा हिँडाउने र जनताका हक अधिकारका लागि कसैसँग सम्झौता नगर्ने व्यक्ति सिंह हुनुहुन्छ ।'
 
उनले सर्वोच्च नेता सिंहजस्तो दुःख कष्ट खेपेर प्रजातन्त्रका लागि लडेको व्यक्ति नेपाली राजनीतिमा भेटाउन गाह्रो पर्ने उल्लेख गरे ।
 
सिंहको सम्झनामा निष्कासन गरिएको सो सिक्का ९९ प्रतिशत शुद्ध धातु, ७७ मिलिमिटर गोलाइ, २५ ग्राम तौल रहेको छ । यसको बिक्र वितरण टक्सार विभाग सुन्धाराबाट गरिने र यसको मूल्य दुई हजार ७६ रुपैयाँ पर्ने फाउन्डेसनले जनाएको छ । रासस