नेपाल अाइपुगेका बेलायती राजकुमारका यस्ता छन् कार्यक्रम, पदयात्रा देखि जलयात्रासम्म गर्दै

बिजमाण्डू
२०७२ चैत्र ६ गते ००:०० | Mar 19, 2016
नेपाल अाइपुगेका बेलायती राजकुमारका यस्ता छन् कार्यक्रम, पदयात्रा देखि जलयात्रासम्म गर्दै
  • नारायण न्यौपाने र विष्णु नेपाल- 
  • काठमाडौं : बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ पाँचदिने औपचारिक भ्रमणमा शनिबार दिउँसो अपराह्न काठमाडौं आइपुगेका छन्।

    नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन्।

    राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले स्वागत अभिवादन गरेकी थिइन्।

    नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कावा राजदुत तेजबहादुर क्षेत्री र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग (डिएफआइडी) का प्रमुखलगायतले पनि स्वागत गरेका थिए। 

    राजकुमार ह्यारीले विमानस्थलबाट बाहिर निस्कने क्रममा हात हल्लाएर त्यहाँ उपस्थित सर्वसाधारणलाई अभिवादन गरेका थिए। राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायरलगायत छन्।  राजकुमार ह्यारी विमानस्थलबाट खैरो ल्याण्डक्रुजर चढेर होटल सोल्टीमा पुगेका छन्।

    नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी पहिलोपटक नेपाल आएका हुन्। बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन्। युवराज चार्ल्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ। बेलयातसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामा नेपाल पहिलो मुलुक हो। 

    Tata
    GBIME
    Nepal Life

    राजकुमार ह्यारीको कार्यक्रम 

    प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाटको कार्यक्रम रहेको छ। त्यसलगत्तै शनिबार साँझ राजकुमार ह्यारीको सम्मानमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले स्वागत समारोहको आयोजना गर्नेछन्। सो अवसरमा राजकुमारले स्वागत समारोहमा सहभागी नेपाल सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकृतसँग भेटघाट गर्नेछन्।  

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार शिष्टाचार भेटको कार्यक्रम तय भएको छ। 

    गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राखेका थिए। नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका ललितपुर र भक्तपुरका विभिन्न स्थलको अवलोकनसमेत गर्नेछन्।

    उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गरी जानकारी लिनेछन्। साथै उनले नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकन गर्ने कार्यक्रम छ। 

    पुरातात्विक तथा ऐतिहासिक स्थल घुम्न र यसका बारेमा जानकारी राख्न उत्सुक राजुकुमार ह्यारीले ती स्थलमा भूकम्पले पुर्‍याएका क्षति र पुनःनिर्माणका बारेमा जानकारीसमेत लिनेछन्। परम्परागत काष्ठकला र सीपका बारेमा पनि उनले जानकारी लिनेछन्।  

    सोही दिन राजकुमार भक्तपुर भइ भूकम्पपीडित समुदायसँग उनीहरूका भोग्नुपरेका दुःख र व्यथा सुन्नुहुने र सहानुभूति प्रकट गर्नेछन्। नेपाल रेडक्रस सोसाइटीद्वारा त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीका बारेमा पनि जानकारी लिनेछन्।  

    सो सामग्री बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले सोसाइटीलाई सहयोग गरेको थियो। राजकुमार ह्यारीले अस्थायी शिविरमा रहेका करिब २५० भूकम्पपीडितलाई सामूहिक रुपमा भेटघाट गर्नेछन्। त्यहाँ राजकुमारले उनीहरुका अनुभवलाई सुन्नेछन्।

    वर्दियामा वन्यजन्तु र जलयात्राको कार्यक्रम 

    सोमबार र मङ्गलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा बिताउनेछन्। वन्यजन्तु प्रत्यक्ष रुपमा हेर्न उत्सुक ३२ वर्षीय राजकुमारले बर्दिया राष्ट्रिय वन्यजन्तु निकुञ्ज रहेका वन्यजन्तु खासगरी गैँडा, हात्ती र बाघका बारेमा जानकारी लिनेछन्।  साथै उनले जलयात्रा समेत गर्नेछन्। विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुर्‍याउँदै आएको छ। त्यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन्। 

    पदयात्रा, होमस्टे र दृश्यावलोकन 

    पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन्। उनले भूपू गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी समेत गर्नेछन्। सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने यहाँस्थित बेलायती दूतावासले जनाएको छ।

    राजकुमार ह्यारीले लमजुङमा गोर्खा होमस्टेमा रात बिताउनुहुने कार्यक्रम छ। पोखरा, लमजुङ र बर्दिया घुमाइका क्रममा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले अवलोकन गर्नेछन्। 

    भ्रमणका क्रममा राजकुमारबाट नेपालमा पहिलोपटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुनेछन्। संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को आर्थिक एवम् प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो। 

    राजकुमारले सोही दिन कान्ति बाल अस्पताल जानुभई अस्पतालको नवजातशिशु कक्षसहित विभिन्न बार्डको कामका बारे जानकारी लिनेछन्। त्यस्तै सानोठिमीस्थित प्राविधिक विद्यालय जानुभई प्राविधिक शिक्षाका बारेमा जानकारीसमेत लिनुहुनेछ । भ्रमणको अन्तिम दिन राजकुमार ह्यारीले आफ्ना अनुभव सार्वजानिक समेत गर्नेछन्। रासस