उपल मजुमदार नेपालको पर्यटन उद्योगसँग साढे चार वर्षदेखि जोडिएका छन्। सुरुमा होटल अन्नपूर्णको सिईओ र अहिले होटल सोल्टी क्राउन प्लाजाको जिएमका रुपमा। नेपाल आउने हाइप्रोफाइल गेष्टलाई स्वागत गर्ने नेपालको सबैभन्दा ठूलो ब्राण्ड सोल्टीको मुखिया उपललाई बिजमाण्डूका सविन मिश्रले सोधे, नेपालको पर्यटन किन यति कमजोर छ जसले एउटा भुकम्पको धक्का पनि सहन सकेन्?
तपाईं साढे चार वर्षदेखि नेपालमा हुनुहुन्छ। र नेपालको पर्यटन उद्योगसँग जोडिनुभएको छ। अहिले नेपालमा पर्यटकलाई स्वागत गर्ने सबैभन्दा ठुलो ब्राण्डको नेतृत्व तपाईंको हातमा छ। नेपालको पर्यटन यति धेरै कमजोर किन भयो, एउटा भूकम्प पनि थेग्न नसक्ने गरी ?
पहिलो कुरा हामीले के बुझ्नुपर्छ भने नेपाल विभिन्न राजनीतिक कालखण्डबाट नराम्रोसँग गाँजिएको छ। यहाँ संविधानमा सहमति जुटाउन राजनीतिक दलहरुले आफ्नो शक्ति खर्च गरे। अहिले त्यो उपलब्धि पनि हासिल भएको छ। धेरै कुराहरुमा त्यत्तिकै समय बेतित भएका छन्। तपाईंले हेर्न सक्नुहुन्छ, पछिल्लो साढे चार वर्षमा यहाँ पर्यटन क्षेत्रको विकासका लागि कुनै पनि नीति बनेन। नेपाल जस्तो देशमा पर्यटन क्षेत्रको व्यवसायका लागि जे कुरा गरिनु पर्थ्यो त्यो केही पनि हुन सकेन। सकारात्मक कुराहरु केही भएका छन्, त्यो म भन्न सक्छु तर जब नीतिगत कुरा आउँछ केही हुन सकेन।
यद्यपि पर्यटन भनेको दीर्घकालीन व्यवसाय हो। काठमाडौंमा अहिले ५/६ वटा अन्तर्राष्ट्रिय स्तरका ब्राण्डेड होटल आउँदैछन्। काठमाडौंका होटलमा मात्रै तीन/चार हजार कोठा पुग्नेछन्। अहिले नेपालमा हायात र सोल्टी क्राउन प्लाजामात्रै अन्तर्राष्ट्रिय स्तरको चेन म्यानेजमेन्टबाट चलिरहेका छन्। र्याडिसन फ्रान्चाइज होटल हो।
पछिल्लो चार/पाँच वर्षको कुरा गर्नुहुन्छ भने केही नयाँ लगानीकर्ता यो क्षेत्रमा प्रवेश गरेका छन्। स्थानीय लगानीकर्ताको पनि पर्यटन उद्योगमा आकर्षण देखिएको छ। यीमध्ये धेरै जना पर्यटन क्षेत्रमा पहिलो पटक लगानी गरिरहेका छन्। यहाँ केही निश्चितता र अनिश्चितता पक्कै पनि छन् होला तर एउटा सत्य कुरा केहो भने यो क्षेत्रमा उज्वल र दीर्घकालीन भविष्य छ। म त्यही देख्छु।
नीतिगत कुरा एउटा समस्या होला। तर यहाँ पूर्वाधार कमजोर छन्। टर्किस एयरलाइन्स दुर्घटना भयो, चार/पाँच दिनसम्म विमानस्थल बन्द भयो। हाम्रो राष्ट्रिय ध्वजाबाहक पनि बलियो छैन। यस्ता कुराको प्रभाव कस्तो देखिन्छ ?
जब हामी पर्यटन व्यवसायमा प्रवेश गर्छौं, यो एउटा यस्तो व्यवसाय हो जहाँ खुशीको मात्रै व्यापार हुन्छ। कोही पनि दु:ख परेको बेला होटलमा जाँदैन। म जहिले पनि हरेक चिजलाई राम्रो पक्षबाट हेर्ने गर्छु। तपाईंले भन्नु भएको कुरा सही हो, हामीसँग एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ। तर अहिले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाको काम अगाडि बढिरहेको छ। निजगढमा पनि ठुलो विमानस्थल बन्दै छ।
त्रिभुवन विमानस्थलको पनि दुई वर्षअघिबाट मर्मत र स्तरोन्नतिको काम भइरहेको छ। यहाँ पार्किङ वे बन्दैछन्, थप ट्याक्सी वे बनिरहेका छन्। अहिलेसम्म एउटा ट्याक्सी वे हुँदा समस्या भएको थियो। ब्यागेज बेल्टहरु पनि थपिँदै छन्। यसले अब विमान उडान र अवतरणका बेला हुने थप झन्झट कम होला। अहिले यो विमानस्थल १६ घण्टा मात्रै सञ्चालन हुन्छ। यसलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी पनि काम भैरहेको छ। अझै पनि ठुला विमान आउन सक्दैनन्। तर विमानस्थलमा जे काम भइरहेका छन्, ती पुरा हुने हो भने त क्षमता दोब्बर हुन्छ।
त्यसका अतिरिक्त चिनियाँ कम्पनीले भैरहवा र पोखरामा काम गरिरहेका छन्। हामीले के बुझेका छौं भने चिनियाँले धेरै छिटो काम सक्छन्। उनीहरुले तोकिएकै समयमा काम सक्छन्। हामीले के अपेक्षा गर्न सक्छौं भने अबको दुई/तीन वर्षमा त्रिभुवन विमानस्थलको क्षमता दोब्बर हुनेछ, पोखरा र भैरहवा विमानस्थलको निर्माण पुरा हुनेछ र निजगढमा पनि काम सुरु हुनेछ। त्यसपछि हामीले अहिले भोगिरहेका मौसमको समस्या पनि कम होला। किनभने मौसमकै कारण धेरै फ्लाइटहरु डाइभर्ट गर्नुपरेको छ।
तपाईंका कुरा सुन्दा अबको केही वर्षमा नै हामी सबैकुरा हासिल गर्छौं। धेरै आशावादी देखिनु भयो नि?
मैले यहाँ सडक पूर्वाधारमा पनि सुधार हुने अपेक्षा गरेको छु। अहिले पनि कोही पर्यटक सडकमार्गबाट नेपाल घुम्न चाँहदैन। किनभने यहाँको सडक त्यति धेरै डरलाग्दो अवस्थामा छन्। नेपाल हवाइ क्षेत्रमा राम्रो कनेक्टिभिटी भएको मुलुक हो। तर हवाइ सुरक्षा यहाँको प्रमुख चुनौति भएको छ। अहिले पनि अन्तर्राष्ट्रिय मानकहरु पुरा गर्न सकेको छैन। युएस सेफ्टी स्टाण्डर्ड, युरोपेली स्टाण्डर्डको आधारमा यहाँ धेरै प्रश्न उठाइएको छ, जुन समाधान गर्नु आवस्यक छ।
म फेरि पनि भन्छु यहाँ संविधान निर्माणमा लामो समय बित्यो। निर्वाचित सरकारले पर्यटन जस्ता क्षेत्रमा उपयुक्त नीतिको लागि काम गर्न पाएन। नीतिगत परिवर्तन भएको भए यहाँ लगानी पनि बढ्न सक्थ्यो। नयाँ प्रविधि भित्र्याउन सकिन्थ्यो। सरकारले पर्यटन क्षेत्रको विकासका लागि छुट्याएको बजेट पनि प्रभावकारी कार्यान्वयन हुन सकेन।
पर्यटन क्षेत्रमा पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँसम्म यात्रा गराइरहनु पर्छ। त्यो कुरा यहाँ कठिन छ। हाम्रा जति पनि यातायातका साधन छन्, ती असाध्यै पुराना भइसकेका छन्। अहिले २४० प्रतिशतको कर छ सवारी साधनमा, कम्तिमा पर्यटन क्षेत्रका लागि यो हुनु हुँदैन। नेपालमा राम्रो के छ भने पर्यटकका लागि हरियो नम्बर प्लेटका सवारी साधनको व्यवस्था छ। यो राम्रो कुरा हो। यसलाई अझै बढावा दिनुपर्छ।
पर्यटन क्षेत्रलाई विलासी मानेर धेरै कर लगाइएको छ। धनाढ्यहरु नेपाल आउँछन् र थुप्रै डलर खर्च गरेर जान्छन् भन्ने मान्यता थियो। तर अहिले त्यो परिवर्तन भएको छ। अहिले त्यस्तो धेरै खर्च गर्नेहरु आउँदैनन्। अहिले संसारभर नै मध्यमवर्ग भाइब्रेन्ट भएको छ। यो समूह नै संसारभर यात्रा गर्छ। अहिले अर्बपति र गरिबहरु एकदमै कम आउँछन्। आउने भनेकै मध्यमवर्गीय हुन्। मैले यहाँ जोड्न खोजेको के हो भने पुरानो नीतिका कारण हामी पर्यटन क्षेत्रमा संसारकै महँगो भएका छौं।
हामीले नेपाल जस्तै धेरै पर्यटक भित्र्याउने मुलुकबाट केही कुरा सिक्नुपर्छ। श्रीलंङ्का, भारत, थाइल्याण्ड, सिंगापुर हेर्ने हो भने त्यहाँ पर्यटन क्षेत्रमा सरकारले नै लगानी गरेको छ। सरकारी सहयोगमै ती देशले पर्यटन पूर्वाधार विकास गरेका छन्। तपाईंले यहाँ एउटा केचप फ्याक्ट्री खोल्नु भयो वा पर्यटन क्षेत्रको कुनै उद्योगमा लगानी गर्नुभयो भने एउटै नीतिले हेर्छ। केचप फ्याक्ट्रीले ३०/४० जनालाई रोजगारी दिन्छ। तर तपाईंले पर्यटन क्षेत्रमा लगानी गर्नुभयो भने त्यसले तीनसय जनालाई रोजगारी दिइरहेको हुन्छ। त्यसकारण हामीले हाम्रो देशमा केही नयाँ कुरा गर्नैपर्छ।
मलाई लाग्छ सरकार प्रिन्स ह्यारीको सुरक्षा र अन्य कुरामा धेरै केन्द्रित भयो। तर हामीले यही बेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बलाउन सक्नुपर्थ्यो। प्रिन्स ह्यारीले नेपालको भ्रमण ६ दिनले लम्ब्याउनु ग्लोबल हेडलाइन थियो। यो देशको ठुलो मार्केटिङ हुन्थ्यो। उहाँ पुग्नुभएको ठाउँ संसारभर फैलन्थ्यो। तर त्यसमा हामी चुक्यौं।
—
यो वर्ष नेपालले धेरै भिआइपी गेस्टलाई स्वागत गर्यो। डेभिड बेक्ह्याम, जेके रोलिङ नेपाल आए। बलिउडका सुपरस्टार खानहरु नेपाल आए। तर नेपालले यही कुराको मार्केटिङ गर्न सकेन। यस्ता विषयमा समस्या कहाँ छ ?
हाम्रो जस्तो विजनेशमा निजी क्षेत्रको कुरा गर्नुहुन्छ भने पर्याप्त काम गरिरहेका हुन्छौं। हामीले हाम्रै मार्केटिङ गर्ने हो। हामी कुनै मार्केट छान्छौं र गइरहेका हुन्छौं। तर जहाँसम्म ठुलो स्केलमा मार्केटिङको कुरा छ, त्यो काम गर्ने भनेको सरकारले हो। अहिले सार्वजनिक निजी साझेदारीको कुरा गर्छौं। नेपालमा पहिल्यैदेखि यो अभ्यास भइरहेको छ।
सरकारले नेपाल पर्यटन बोर्ड स्थापना गरेको छ। जहाँ सार्वजनिक र निजी क्षेत्रबाट ५०/५० प्रतिशत प्रतिनिधित्व हुन्छ। त्यहाँ दुई/तीन वर्षसम्म नेतृत्व छानिन सकेन। वित्तीय रुपमा त्यहाँ मिसम्यानेजमेन्ट भएपछि काम गर्न सकेन। अहिले मात्रै केही काम भएको छ। अहिलेका पर्यटनमन्त्री आनन्द पोखरेलले केही कठिन निर्णय लिनुभएको छ। मैले 'फर्वार्ड थिंकिङ मिनस्टर'को रुपमा उहाँलाई पाएको छु। उहाँले नै पर्यटन बोर्डमा सिइओ छनौट गराउनु भएको छ। अहिले बजेट पनि पास भएको छ र अब बोर्डले केही काम गर्छ होला।
पर्यटन बोर्डसँग पर्यटन प्रवर्द्धनका लागि पर्याप्त बजेट छ। उनीहरुले त्यसलाई प्रभावकारी रुपमा खर्च गर्न सकेका छैनन्। नेपालको सगरमाथाको प्रचार गर्न सकेका छैनन्। नेपाल एउटा यस्तो देश हो जहाँ, ८० किलोमिटरको अल्टिच्युड फरक एकै ठाउँमा भेट्न सकिन्छ। गर्मी ठाउँमा रहेको मान्छे एकै क्षणमा हिमालमा पुग्न सक्छ। यस्तो अचम्म संसारमा अन्त कहीँ पनि छैन। हामीले यही कुरा संसारलाई भन्न सकेनौं। मार्केटिङमा हामी चुक्यौं।
तर मलाई खुशी के कुरामा लागेको छ भने पर्यटन बोर्डले केही सकारात्मक कामहरु पनि थालेको छ। उनीहरुले माइस टुरिजम मिटिङ गर्दैछन्। यसले विभिन्न कम्पनीलाई आफ्नो कार्यक्रमहरु यहाँ आएर गर्न प्रेरित गर्छ। हामीले नेपालमा रहेका हरेक व्यक्तिबाट पर्यटनका लागि पैसा उठाएका छौं तर खर्च गर्न सकेका छैनौं।
प्रिन्स ह्यारीले नेपाल भ्रमण गरे। नेपाली पर्यटनका लागि के उनी ब्राण्ड एम्बेस्डर बन्न सक्छन् ?
यो कुरा हाम्रा लागि पक्कै पनि अवसर हो। जब उहाँ नेपाल आउनु भयो हामीले अन्तर्राष्ट्रिय मिडियाहरु बिबिसी, सिएनएनका लागि विशेष व्यवस्था गर्न सक्नुपर्थ्यो। अहिलेको बजारमा टेलिभिजनले मिडिया एक्सपोजर कन्ट्रोल गरेको छ। दोस्रो भनेको सोसल मिडिया। जब प्रिन्स नेपाल आउनु भयो हामीले धेरै कुरा सामाजिक सञ्जालबाट थाहा पायौं नकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट। त्यसकारण हामीलाई अहिले मार्केटिङका लागि राम्रा र दक्ष जनशक्ति चाहिएको छ।
मलाई लाग्छ हाम्रो सरकार ह्यारीको सुरक्षा र अन्य कुरामा धेरै केन्द्रित भयो। तर हामीले यही बेलामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई पनि बलाउन सक्नुपर्थ्यो। यो हाम्रो लागि सुनौलो अवसर थियो। प्रिन्स ह्यारीले नेपालको भ्रमण ६ दिनले लम्ब्याउनु ग्लोबल हेडलाइन थियो। यो देशको ठुलो मार्केटिङ हुन्थ्यो। उहाँ पुग्नुभएको ठाउँ संसारभर फैलन्थ्यो। हामीले त्यती गर्न सकेको भए नेपाल हिमालका कारण मात्रै संसारको उच्च देश हुने थिएनौं, पर्यटनले पनि हामीलाई त्यति नै उचाइ दिन्थ्यो।
नेपालमा होटल क्षेत्रमा धेरै लगानी भइरहेको छ। काठमाडौं बाहिर पाँचतारे होटलसमेत बनिरहेको छ। सरकारले पर्यटनका लागि नीति बनाउन सकेन, मार्केटिङ गर्न सकेन। तर निजी क्षेत्रले पनि केही गर्न त सक्छ होला नि ?
हामीले पहिले त यहाँ धेरै पर्यटक कहाँबाट आउँछन् भनेर हेर्नुपर्छ। हाम्रो प्रमुख बजार भनेकै भारत र चीन हुन्। प्रधानमन्त्रीले पनि दुवै देशको भ्रमणमा विभिन्न सम्झौता गर्नुभयो। व्यापारका कुरा भए, लगानीका कुरा भए। तर त्यहाँ पर्यटनको एजेण्डा खै ? नेपालमा पर्यटन क्षेत्रमा जति जे भएको छ सबै निजी क्षेत्रबाट नै भएको छ। हामीले भारत, चीनलाई हेर्यौं भने पर्यटन सरकारी र निजी दुवै क्षेत्रले गर्ने काम भएको छ। भारतको कुरा गर्नुहुन्छ भने सरकारी स्वामित्वमा होटल चलेका छन्, बसहरु चलेका छन्। सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधार बनाएको छ। तर नेपालमा सबै कुरा निजी क्षेत्रकै हातमा छ। यहाँ सरकारले कर उठाएको छ त्यसको खर्च मात्रै गरेको छ। सार्वजनिक निजी साझेदारीको कुरा छ, त्यो पनि राम्रोसँग कार्यान्वयन हुन सकेको छैन।
अर्कोकुरा हरेक बिजनेशमा आफ्नो लगानीमा प्रतिफल मान्छेले खोजेकै हुन्छ। बैंकबाट ऋण लिइएको हुन्छ। त्यो पनि तिर्नुपर्छ। पोखरामा मिनी सार्क भयो त्यो पनि ठुलो सफलता हो। त्यहाँ छिट्टै नै दुई वटा पाँचतारे होटल बन्दैछन्। जहाँ यसअघि पाँचतारे होटल थिएनन्। कतिपय क्षेत्रमा सरकारले पनि निजी क्षेत्रसँग मिलेर काम गर्न सक्छ। निजी क्षेत्रले व्यवसायिकता अगाडी बढाउँछ। सरकारले त्यसका लागि आवस्यक नीति बनाइदिन्छ। अहिलेको अवस्थामा भन्नुहुन्छ भने कामदार पाउन निकै कठिन छ। अरु क्षेत्रमा कामदारका लागि जे नियम लगाइन्छ पर्यटनमा पनि त्यही नै छ। यस्तै अवस्था रह्यो भने भोलि नेपालको पर्यटन क्षेत्र निकै महँगो पर्न सक्छ। अहिले पनि कूल कारोबारको ३० प्रतिशत खर्च कर्मचारी/कामदारमा हुन्छ। संसारमा सबैभन्दा महँगो नेपालमा नै छ।
अबको दुई/तीन वर्षमा मेरिएट, सेराटन जस्ता ब्राण्डको चेन हामीले काठमाडौंमा भेट्छौं। सोल्टी होटलको जिएमको नजरबाट हेर्दा अब प्रतिस्पर्धा मात्रै बढ्छ कि सँगै बजार पनि बढ्दै जान्छ ?
पहिलो कुरा त अब प्रतिस्पर्धा नै बलियो हुन्छ। मलाई लाग्दैन कि यहाँ बजार त्यति ठुलो हुन्छ भनेर। दुई वर्षमा के के हुन्छ त अहिल्यै भन्न सकिन्न तर यो पक्का हो प्रतिस्पर्धा चाँही बढ्छ। यसमा पनि अर्को कुरा हुन्छ, हामीले पनि अब सोल्टीलाई नम्बर एक होटल नै कसरी कायम राख्ने भनेर काम गर्नुपर्छ।
भूकम्पपछि होटलहरुको अकुपेन्सी कम भयो। तर सोल्टी होटलले त्यसलाई एउटै तहमा कायम राखिरह्यो। यो कुरा कसरी संभव भयो ?
यसमा तीनवटा कारण छन्। पहिलो कुरा हाम्रो धेरै बिजनेश आइएचजीबाट आएको छ। किनभने हामीले अरु धेरै होटलहरुको पनि व्यवस्थापन हेरिरहेका छौं। होलिडे, कन्टिनेन्टल र बिजनेश होटल चलेका छन्। त्यसकारण उनीहरुबाट पनि बिजनेश आउँछ। आइएचजीको मेम्बर्स क्लब पनि छ, जुन संसारकै धेरै सदस्य भएको क्लब हो। यदी यस्ता सदस्यहरु भ्रमणमा आए भने भेटेसम्म आइएचजी अन्तर्गतकै होटलमा बस्छन्।
दोस्रो कुरा सोल्टी धेरै पुरानो होटल हो। हामी सधैं एउटा स्टाण्डर्ड मेन्टेन गरिरहेका हुन्छौं। यही बेलामा पनि केही होटलमा बत्ती भएन, कसैले हिटिङ दिन सकेनन्। कसैले खानाको मेनु नै घटाएका थिए। तर हामीले कहिल्यै पनि ब्राण्ड स्टाण्डर्डलाई सम्झौता गर्दैनौं। सक्छौं सबै कुरा दिन्छौं, सक्दैनौं बन्द गरिदिन्छौं। हामी हाम्रो गुणस्तरमा कहिल्यै पनि सम्झौता गर्दैनौं। हामीले फाएरवुड किचन प्रयोग गर्यौं तर हाम्रो सर्भिस क्वालिटीमा सम्झौता गरेनौं।
तेस्रो कुरा भनेको हाम्रो स्टाफहरु नै हुन्। उनीहरुले ग्राहकलाई अधिकतम सेवा दिएका छन्। इन्धन उपलब्ध नहुँदा पनि उनीहरुले हिँडेरै आएर काम गरेका छन्। मसँग यहाँ साँच्चिकै गर्व गर्न लायक टिम छ। त्यसले पनि हामीले गुणस्तरसँग सम्झौता गरेनौं।
—
तर चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा तपाईंहरुको नाफा त घटेको छ नि ?
हो नाफा घटेको छ। हामीले यो अवधिमा ३५/४० प्रतिशतले प्रोफिट्याबिलिटी गुमाएका छौं। यो बीचमा महँगी केही थियो नै। तै पनि हामीले खर्च कटौतीका लागि काम गरिरहेका छौं।
तपाईंलाई नाफा बढाउने चुनौति त रहिरहन्छ होला, होइन ?
हामी हाम्रो गुणस्तरसँग कहिल्यै पनि सम्झौता गर्दैनौं। म यहाँ व्यवस्थापक कम्पनीको तर्फबाट आएको छु। हामीलाई हाम्रो समूहको जुन किसिमको गुणस्तर छ त्यहाँबाट तल झर्न कहिल्यै पनि अनुमति हुँदैन। तर हामीले नयाँ काम त गर्न सक्छौं नि। हामीले यहाँ नयाँ काम पनि गरेका छौं। हामीले यहाँ धेरै बिजुली खपत हुने लण्ड्रीलाई रातिको समयमा चलाएका छौं। राती चलाउँदा हामीले विद्युत प्राधिकरणले दिने बिजुलीबाट नै काम गर्न सक्छौं।
जबकी आठ रुपैयाँ प्रति युनिटमा बिजुली पाइन्छ भने ३५ रुपैयाँ युनिट पर्ने जेनेरेटरको बिजुली किन चलाउने ? हामीले फाएरवुड लाइन चलायौं जसले हामीलाई किचेन फ्युल कम गर्न सहयोग गर्यो। हामीले स्टाफको किचेन मेनुमा पनि केही कटौती गरेका छौं तर गेस्ट मेनुमा कहिल्यै कटौती भएको छैन। हामीले म्यानेजमेन्ट, स्टाफ र युनियन मिलेर नै यस्तो निर्णय गरेका थियौं। हामीले यहाँ धेरै असल मान्छे पाएका छौं। यहाँ युनियनको कुनै समस्या छैन। यहाँ अझै पनि मान्छेहरु के गर्ने भनेर बसेका हुन्छन् तर भूकम्प र नाकाबन्दीको समयमा पनि हामीले यस्तै कर्मचारीको सहयोगमा ठुलो काम गर्न सकेका छौं।
पहिले सोल्टी होटलमा धेरै कार्यक्रमहरु हुन्थे, लोकल टुरिष्टलाई टार्गेट गरेर पनि काम हुन्थे। अहिले किन रोकिए ?
अहिले पनि इन्धन आपूर्ति सामान्य भएको छैन। तर हामीले यो महिना राजस्थानी फुड फेस्टिबल गर्यौं। हामी अर्को महिना ढावा फेस्टिबल गर्न गइरहेका छौं। हामीले पहिले किन गरेनौं भने धेरै ग्राहकहरु इन्धन समस्याकै कारण यहाँसम्म आउन सक्दैन थिए। अहिले यो समस्या केही समाधान हुँदैछ। हामी केही समयमा नै गल्फ प्रतियोगिता पनि गर्न गइरहेका छौं। अब केही समयमा नै पुराना कार्यक्रमहरु सुरु हुन्छ। हामीले जनवरीमा सुरु गर्नुपर्ने कार्यक्रम मार्चमा सारेका छौं।
सोल्टी होटलले पोखरा र नेपालगञ्जमा होटल निर्माण गर्दैछ। ती होटलहरु बनेपछि सोल्टी ब्राण्डलाई के फाइदा हुन्छ ?
यी सबै काम हाम्रो लगानीगर्ने कम्पनीले नै गरिहरेको छ। मैले यसबारेमा धेरै कुरा भन्नु छैन किनभने यी कुरा प्रत्यक्ष रुपमा कम नै आउँछन्। तर वास्तविक कुरा के हो भने नेपालमा सोल्टी आफैंमा निकै बलियो ब्राण्ड हो। सोल्टीले क्वालिटी र स्टाण्डर्ड जसरी मेन्टेन गरेको छ, ती दुवै होटलमा पनि यी कुराहरु अवस्य हुन्छन्। हाम्रो म्यानेजमेन्ट र बोर्ड निकै अनुभवी समूह छ। मलाई लाग्छ यो समूहले ब्राण्डको हितका लागि पक्कै राम्रो काम गर्नेछ।