ऋण काँढेर विदेश जाँदा रित्तो हात, स्वदेशमा पशुपालनले बनायो महिनामै लखपति

बिजमाण्डू
२०७२ चैत्र २५ गते ००:०० | Apr 7, 2016

पाल्पा । बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग  दुई लाख रुपैयाँ ऋण गरेर बहराइन पुगे ।  दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उनलार्इ धौधौ प¥यो ।

मनग्य कमाइ गर्न त परै जाओस् साहुसँग विदेश जाँदा लिएको ऋण तिर्न मुस्किल भएपछि रेश्मी घर फर्किएर गाईपालन व्यवसायमा लागे ।विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने उहाँको सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । “सात वर्षअघि  पच्चीस लाख रुपैयाँको लागतमा थालेको व्यवसायबाट अहिले मासिक एक लाखभन्दा बढी आम्दानी हुन्छ”, रेश्मीले भने– “घरमै बसेर पनि मनग्य कमाउन सकिँदो रहेछ ।”

Tata
GBIME
Nepal Life

रेश्मीले जर्सी र होलस्टिन गरी २० वटा गाई पालेका छन् । दैनिकजसो १२० लिटर दूध उत्पादन गरी सदरमुकाम तानसेनमा बिक्री गर्दै आएका उहाँले २५ वटा माउ गाई पाल्ने लक्ष्य लिएका छन् ।यस्तै रामपुरका गणेश आचार्यले पनि तीन वर्ष खाडी मुलुकमा काम गरेर अहिले गाउँमै गाईपालन व्यवसाय थालेका छन् । १७ लाखको लगानीमा व्यवसाय थालेका उनले जर्सी र होलस्टिन जातका २२ वटा गाई पालेका छन् । “दैनिक ७० देखि ८० लिटरसम्म दूध उत्पादन गरी मासिक रु ६० हजार आम्दानी हुन्छ,” उनले भने ।

त्यस्तै रोजगारीका लागि खाडी मुलुक पुग्नुभएका ज्ञानराज पोखरेललाई विदेश जाँदा बैंकबाट झिकेको तीन लाख रुपैयाँ ऋण तिर्न मुस्किल प¥यो । तीन वर्षमा उनले मुस्किलले रु दुई लाख ५० हजार कमाइ गर्नुभयो । स्वदेश फर्किए लगत्तै पोखरेलले गाई फार्म व्यवसाय सुरु गरे ।१२ लाखको लागतमा व्यवसाय थालेका उनले अहिले ११ वटा गाईबाट दैनिक ३० देखि ५० लिटरसम्म दूध उत्पादन गर्छन् । “मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भने। विदेश जानुअघि धेरै इच्छा, आशा मनमा भए पनि त्यहाँ पुग्दा सबै सपना विलिन हुने गरेका उनले बताए ।विदेश गएर स्वदेश फर्केका जिल्लाका युवा अहिले गाईपालनबाट मनग्य कमाइ गर्न सफल भएका छन् । साहुसँग ऋण झिकेर विदेशिएका युवाले पछिल्लो समय आम्दानीको बलियो र दिगो व्यवसाय पशुपालनलाई बनाएका छन् ।

जिल्लामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेका जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउँछन् । कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम, विभिन्न सामग्री, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएका कारण पशुपालनमा युवाको सङ्ख्या बढेको हो ।“दस वर्ष यताकै पशुपालनमा तेब्बर सङ्ख्यामा युवाको आकर्षण बढेको छ” उनले भने  । रासस