यस वर्ष ३१ सय नेपाली कामदार जान पाउने छन् दक्षिण कोरिया, असार ४ र ५ गते भाषा परीक्षा लिने

बिजमाण्डू
२०७२ चैत्र २६ गते ००:०० | Apr 8, 2016
यस वर्ष ३१ सय नेपाली कामदार जान पाउने छन् दक्षिण कोरिया, असार ४ र ५ गते भाषा परीक्षा लिने
काठमाडौं  । सन् २०१६ का लागि दक्षिण कोरियामा रोजगारीका लागि करिब ३१ सय जना नेपाली जान पाउने भएका छन्। वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले शुक्रबार सूचना आह्वान गरी उत्पादनमुलक क्षेत्रमा १ हजार र कृषि तथा पशुपालन तर्फ २१ सय जना नेपाली कोरिया पठाउन सक्ने जानकारी दिएको छ।


इपिएस कोरिया शाखाले त्यसका लागि भाषा परीक्षामा सहभागी हुन आवेदन दर्ता आह्वान गरेको छ। परीक्षा भने २०७३ सालको असार ४ र ५ गते हुनेछ। कोरिया भाषा परीक्षामा सहभागी हुन १८ देखि ३९ वर्षभित्रका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्। त्यस्तै फौजदारी अभियोग नलागेको र कोरियामा गैर कानुनी रुपमा बसेर फिर्ता नपठाइएको ब्यक्ति हुनुपर्नेछ।



आवेदन फाराम वैशाख १५ देखि १९ गतेसम्म काठमाडौं उपत्यकाका ६ वटा र काठमाडौं बाहिरका ५ वटा केन्द्रमा बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ।

काठमाडौंमा ललितपुर बालकुमारीको च्यासल खेलमैदान, महाराजगञ्जको काठमाडौं भ्याली उच्च मावि, कीर्तिपुरको ल्याबोरेटोरी उच्च मावि, ललितपुर सातदोवाटोको महेन्द्र आदर्श विद्याश्रम र गौशालाको नेपाल वेद विद्याश्रमममा बुझाउन सकिनेछ।

त्यस्तै काठमाडौं बाहिर धरानको धरान सभागृह,  रुपन्देहीको बुटवल प्रदर्शनी मण्डप, पोखरा बाटुलेचौरको विन्द्यवासिनी उच्च मावि, डडेल्धुराको जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र र जनकपुरको श्रम कार्यालयमा पनि बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ।

भाषा परीक्षाका लागि २४ अमेरिकी डलर शुल्क तोकिएको छ। भाषा परीक्षाको नतिजा भने साउन ११ गते सूचना टाँसेर र वेवसाइट मार्फत प्रकाशित हुने जनाइएको छ। नेपाल सरकार र कोरियाली सरकारबीचको समझदारी अनुसार नेपाली कामदारहरु कोरिया जानका लागि लिइने यो सातौं भाषा परीक्षा हो।

Tata
GBIME
Nepal Life

करिब १ देखि डेढ लाख रुपैयाँ खर्चमा कोरिया जान पाइने र अरु देशको तुलनामा धेरै कमाइ हुने भएकाले कोरियाको जागिर वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि आकर्षक मानिन्छ।

भाषा परीक्षा उतीर्ण हुँदैमा कोरिया जाने ग्यारेन्टी भने नहुने इपिएस कोरिया शाखाले जनाएको छ। भाषा परीक्षा उतीर्ण भएपछि पनि स्वास्थ्य परीक्षणमा असफल भएमा र प्रहरी रिपोर्ट प्रतिकुल आएमा कोरिया जान पाइँदैन। त्यस्तै यसअघि कोरियामा गैरकानुनी रुपमा बसेकाहरु पनि भाषा परीक्षा पास हुँदैमा कोरिया जान पाउँदैनन्। 

-समाचारको शीर्षकमा पहिले १३ सय भएकोले क्षमा माग्दै सच्याइएको छ ।सम्पादक