काठमाडौँ । युरोपेली टेलिकम कम्पनी टेलियासोनेराले लगानी फिर्ता गर्ने प्रक्रिया पूरा भएको घोषणा गरेको भोलिपल्ट मलेसियाली टेलिकम कम्पनी एक्जियटाले नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आफ्नो मातहतमा आइसकेको दावी गरेको छ।
एक्जियटाले आफ्नो वेबसाइटमा र एनसेलको वेबसाइटमा समेत यही व्यहोराको सूचना राखेको छ। एनसेलका कर्मचारीहरुका अनुसार सोमबारबाटै एक्जियटाको तर्फबाट अस्ट्रेलियनमुलका प्रमुख कार्यकारीले कार्यभार सम्हालिसकेका छन् ।
एक्जियटाले आफ्नो वेबसाइटमा राखेको क्रियटिभ्समा आफ्नो फुटप्रिन्ट नेपालमा विस्तार गरिएको भन्दै एनसेललाई आफ्नो सञ्जालमा स्वागत गरेको सन्देश उल्लेख छ।
त्यस्तै एनसेलको आधिकारिक वेबसाइटमा 'नयाँ वर्ष, नयाँ युग' भन्दै एनसेलको पुरानो लोगोव हटाएर एक्जियटाको लोगो राखेको छ।
एक्जियटाले जारी गरेको प्रेस विज्ञप्तिमा एक्विजिसन पूरा भएको र नेपाल र मलेसियाका सबै सम्बन्धित विभागसँग अनुमति लिइएको दावी गरेको छ। तर नेपालका सम्बन्धित विभागहरुलाई एनसेलको ८० प्रतिशत हिस्सा बिक्री भएको बारे कुनै जानकारी दिइएको छैन। ती सेयर हस्तान्तरणको प्रक्रियासमेत सुरु गरिएको छैन।
यद्यपि, २० प्रतिशत स्थानीय साझेदारको सेयर स्वामित्व परिवर्तनका लागि सोमबार २८३ करोड रुपैयाँ कर भुक्तान गरिएको छ।
नेपालको कानुन अनुसार २० प्रतिशत सेयर नेपाली नागरिककै नाममा रहनुपर्छ। यही प्रावधान अनुसार निरजगोविन्द श्रेष्ठका नाममा एनसेलको २० प्रतिशत सेयर रहेको थियो, जसमा टेलियासोनेराको 'इकोनोमिक इन्ट्रेस्ट' थियो। व्यवहारिक रुपमा यो टेलियासोनेराकै स्वामित्वको सेयर भए पनि कानुनी रुपमा श्रेष्ठको नाम थियो।
श्रेष्ठ र एनसेल खरिद गर्न टेलियासोनेरासँग सहमति भएको मलेसियाको एक्जियटाले स्थानीय साझेदार छानेको सुनिभेरा बीच ३ अर्ब ३१ करोड रुपैयाँको एसपिए (सेयर खरिद सम्झौता) थियो। तर बुक भ्यालुका आधारमा २८३ करोडको कर भुक्तान गरिएको हो। यो हिसाबले २० प्रतिशत सेयरको भ्यालुएसन ११ अर्ब रुपैयाँमा भएको छ।
एक्जियटाको विज्ञप्तिमा स्थानीय साझेदारको सेयर बिक्री पूरा हुनु एनसेलको एक्विजिसनका लागि पूर्वशर्त रहेको पनि उल्लेख छ।
कर छल्ने नियत : कागजी कम्पनीको सेयर एक अर्ब डलरमा बिक्यो
टेलियासोनेरा र एक्जियटाले नेपालको कम्पनी रजिस्ट्रारमा दर्ता भएको एनसेल प्राइभेट लिमिटेडको खरिद बिक्री पूरा भएको जनाए पनि यसमा लाग्ने पूँजिगत लाभ कर भने तिरेको छैन। न एनसेलको ८० प्रतिशत हिस्साको स्वामित्व परिवर्तन भएको बारे जानकारी नै गराएको छ।
एनसेलको ८० प्रतिशत स्वामित्व कागजी रुपमा अझै पनि रेनल्डस होल्डिङग्ससँग नै छ जुन सेन्ट किट्स नामको ट्याक्स हेभन देशमा दर्ता भएको शेल (कागजी) कम्पनी हो र जोसँग कुनै कर्मचारीसमेत छैन।
यही शेल कम्पनीको सेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरमा एक्जियटाले खरिद गरेको हो।
रेनल्डसकै सेयर खरिद गरेको आधारमा एक्जियटाले एनसेल आफ्नो भएको दावी गरेको हो। एक्जियटा र टेलियासोनेरा दुवैले गुपचुप नभई घोषित रुपमै खरिदबिक्री प्रक्रिया अघि बढाएकाले नेपाली निकायहरुले अब करको प्रक्रिया अघि बढाउन सक्छन्।
एक्जियटाका अध्यक्ष तथा समूहका प्रमुख कार्यकारी अधिकृत जमालुद्दिन इब्राहिमले विज्ञप्तिमा एक्जियटा एक्विजिसन गर्ने क्रममा अनुमति दिने सबै सरकारी निकायलाई धन्यवाद दिएका छन्।
नयाँ म्यानेजिङ डाइरेक्टर र रोमिङ योजना घोषणा
एक्जियटाले नेपालका लागि नयाँ म्यानेजिङ डाइरेक्टर घोषणा गरेको छ- साइमन पर्किन्स। ५५ वर्षीय पर्किन्सले टेलिकम उद्योगमा ३० वर्ष बिताइसकेका छन्। यसअघि उनले भियतनाम, सिंगापुर र भारतमा काम गरिसकेका छन्।
एक्जियटाले एनसेलमा आफ्नो स्वामित्व घोषणा गरेलगत्तै दुई वटा भ्वाइस र रोमिङ प्याकेज पनि घोषणा गरेको छ। एक्जियटा रोम अन्तर्गत एक्जियटाको फुटप्रिन्ट रहेका देश र अपरेटिङ कम्पनी र पार्टनरहरुसँग एनसेलका ग्राहकलाई छुटमा रोमिङ सेवा उपलब्ध हुनेछ। विज्ञप्तिमा यसको घोषणा गरिए पनि शुल्क भने तोकिएको छैन।
त्यसैगरी कल आयो पैसा पायोमा मलेसिया, कतार, साउदी अरब र युएईबाट आउने अन्तर्राष्ट्रिय कल पाँच मिनेटभन्दा बढी भयो भने आकर्षक बोनस ब्यालेन्सको घोषणा विज्ञप्तिमा छ।










