चार अर्व लगानीमा ठमेल भित्रै बन्दैछ अर्को ठमेल




देश भूकम्प र नाकाबन्दी ग्रस्त छ। र त्यसैकारण सबै समस्याको प्रश्नमा एउटै जवाफ छ, भुकम्प र नाकावन्दी। त्यसमाथि ठूला परियोजना किन समयमा अघि बढेनन्, त्यसको स्वभाविक जवाफ हुने भयो भुकम्प र नाकावन्दीले बर्वाद बनायो। लाग्छ विकास निर्माण ‘पज’ मोडमा छ। सरकारका ठूला आयोजना ठप्पप्राय रहे यस बीच। तर, ठीक यतिखेरै ठूला लगानीमा केही यस्ता आयोजनाहरु जारी नै रहे जसले नेपाल बनिरहेको छ भन्ने आधार खडा गरेका छन्। ‘पज मोड’बाट विकासलाई एक्टिभेट गराउने यस्ता योजनाहरु कसरी अघि बढे?  नयाँ वर्ष नयाँ उत्साहमा बिजमाण्डुले सुरु गरेको छ, एउटा नयाँ श्रृङ्खला। दोस्रो श्रृङ्खलामा– चार अर्व लगानीमा बन्दै गरेको काठमाडौंको छायाँदेवी सेन्टर। ठमेलमा निर्माणाधिन १६ रोपनीको यो १४ तल्ले भवन हुनेछ मिनी ठेमल।
  • सरोज काफ्ले/ऋषिकेश दाहाल
काठमाडौं। ‘धरहराजत्तिकै उचाईमा छौं होला‘
केही दिनअघिमात्रैलगातारमा सिंढी चढेर छतमा पुग्दा हामी जमीनभन्दा १२ औं तल्लामाथि थियौं। जमीनमुनि थप दुई बेसमेन्ट तल्ला जोड्दा हामी १४ औं फ्लोरमा।

हामी उक्लिएर पुगेको १२ औं तल्लाभन्दा माथि अझै दुई तल्लाहरु उकासिन बाँकी नै छ। यो १२ औं तल्लामा हामी पुग्दा धरहराको याद आउनु सामान्य नै थियो। तर, धरहरा ढलेको वर्षदिन बितिसक्दा सरकार कुरेर बसेकाहरु घरमा जग हाल्ने अवस्थामा छैनन्। सरकारले पुनर्निर्माणका लागि चरण चरणमा पुजापाठ र औपचारिक अभियान नथालेको होइन। नभएको त काम मात्र हो पुनर्निर्माणको।

गएको वर्ष भूकम्पले धेरै क्षति पुर्‍यायो। सहरको शान धरहरा नै ढल्यो। साना घरहरु पनि उत्तिकै संख्यामा माटामा मिले। गोर्खादेखि दोलखाबीच भूकम्पले धरमर्‍याउँदा धरहरा टिक्ने कुरै थिएन। त्यसपछि राजनीतिक अस्थिरताकै बीच संविधान जारी भयो। नाकाबन्दीको नसा पनि संविधान जारीसँगै जोडियो।

‘तपाईँलाई त मर्निङ वाक नै पर्दैन होला!’

पश्चिमतिरको स्वयम्भूतिर नजर लगाउँदै सोध्दा महेश्वर श्रेष्ठ मुस्काए।

‘खासै पर्दैन।’

हामी छायाँ सेन्टरको १२ तल्लामा छौं। एक वर्षपछि हामी उभिएको तल्ला आलिसान होटलको रुम तयारी अवस्थामा भइसक्ने छ।

१६ तल्ले यो भवन बनाउन थालेको तीन वर्षमात्र भयो। यही भवनभित्र आउँदो दसैंअघि देशकै ठूलो मल खुल्नेछ। धरहरा बिर्साउने उचाईमा बसेर काठमाडौंलाई फनक्कै हेर्न सकिने यहाँबाट हामीले रातको रुपको कल्पना गर्‍यौं।

लोडसेडिङ विहीन काठमाडौंको कल्पना गर्‍यौं। त्यो कल्पनाले देखायो – चारैतिर बिजुलीको झिलमिल उज्यालोले धपक्क बलेको काठमाडौं। पूर्वमा नारायणहिटी, पश्चिममा स्वयम्भू, उत्तरमा बालाजु र विस्तारिँदै शिवपुरीसम्मै गाँसिएको बस्ती, दक्षिणमा पुरानो सहर। यसको सुन्दरता यही हो।

यो त्यही काठमाडौंको एउटा भवन हो जहाँ ‘सरकारको काम कहिले जाला घाम’ भनिन्न। सरकारको काम पनि होइन। दिनरात काम चलिरहेको छ – एउटै मिसन बोकेर। व्यापार, व्यवसायसँग पर्यटनलाई जोड्दैछन् व्यवसायिक व्याङ्करहरुले यो गगनचुम्बी भवनबाट। ४ अर्बको लगानीमा तयार हुँदै गरेको यो भवनले भूकम्पपछि गर्नैपर्ने पुनर्निर्माणका काममा हात हाल्न नसक्नेहरुलाई चुनौति दिएको छ।

लोडसेडिङ, भूकम्प र नाकाबन्दी सबै खेपे पनि यहाँ काम जारी छ।

एउटा ठमेल सपना
नेपालको पर्यटन उद्योग ‘उद्योग’ बन्न नपाउँदै खिइन थाल्यो। प्राइसिङ र भ्यालुलाई ख्याल गरिएन। सशक्तबाट ठमेल कमजोर बन्न थाल्यो। तर पनि ठमेल ‘ठमेल’ नै हो। यसका केही मान्यताहरु छन् जो ठमेल हुनुदेखि आजसम्म पनि कायम छ। त्यो सिंगो ठमेललाई एउटा भवनभित्र समेट्ने अभियानको यो एउटा सपना हो।

यहाँ खर्च गर्नेका लागि धेरै ठाउँ हुनेछन्। मलले दिनभरि अल्मल्याउने हैसियत राख्छ। पर्यटकलाई लक्षित गरेर तयार हुँदै गरेको एउटै छतभित्रको ठमेलमा ती सबै उपलब्ध हुनेछन् जुन अहिलेको ठमेलमा छ। तारे होटल यसको शिरपोश बन्दैछ। बीचमा देशी विदेशी परिकार पस्कने रेस्टुराँहरु रहनेछन्। सिनेमा हेर्नेका लागि मल्टिप्लेक्स पनि बन्नेछ – हाइ इन्ड क्वालिटीको।

भित्र दैनिकजसो प्रदर्शनी र कार्यक्रम हुने फ्लोर तयार भइसकेको छ। इन्ट्रीमा रहेको पुरानो पिपलको रुखलाई जोगाउँदै ठमेलभित्रको ठमेललाई जिवन्त बनाउने प्रयास गरेको देखिन्छ। यही देशी विदेशी चर्चित चित्रकलाको ग्यालरी पनि रहने छ।

नेपाल इन्भेस्टमेन्ट बैंकका पृथ्वीबहादुर पाण्डेले संकलन गरेका नामुद चित्रहरु यहाँको ग्यालरीमा सजिने छ र ग्यालरी च्यारिटीका रुपमा रहने छ। छायाँ सेन्टर पाण्डेकै नेतृत्वमा तयार हुँदै गरेको प्रोजेक्ट भएकाले पनि उनले आफ्ना सौखलाई व्यवसायसँगै समाजसेवाका लागि पनि छुट्याउन लगाएका हुन्।

परम्परागत शैलीलाई आधुनिकतासँग फ्युजन गराउँदै फिनिसिङको चरणमा पुगेको छ यो भवन।
 
मेकानिकल बहुतले पार्किङ
हाइड्रोलिक सिस्टमवाला पार्किङ पहिलो पटक हामीले यही भवनको बेसमेन्टमा अनुभव गर्नेवाला छौं। एउटै फ्लोरमा दुईतले पार्किङ रहने छ यहाँ। मेकानिकल लिफ्टको प्रयोग गरेर एक कारभन्दा माथि अर्को कार पार्क गर्न सकिने सुविधा यहाँ रहन्छ। त्यसैले दुई फ्लोरमा गरी ४ सय भन्दा बढी कार यो भवनभित्र अटाउन सक्छ।

बेसमेन्ट तयार भइसकेकाले त्यहाँ फ्लोरिङ चलिरहेको छ। बिजुली बालेर मानिसहरु काममा जुटिरहेका छन्। यस्तो पार्किङ अरु मुलुकमा धेरैअघिदेखि प्रचलनमा आएको भए पनि नेपालमा भने पहिलोपटक प्रयोगमा आउँदैछ।

‘यसले धेरै खर्च पार्ने होइन रहेछ, तर थोरै ठाउँमा दोब्बर गाडी अटाउन सकिने रहेछ,’ महेश्वरले सुनाए। उनले हामीलाई बहुतले पार्किङ रहने अन्डरग्राउन्ड फ्लोरमा लैजाँदा त्यहाँ मानिसहरु काम गरिरहेका थिए – बत्ती बालेर।

भवनको पूर्वीदक्षिणमा ठूलो खाडल खनिँदै थियो। ‘यहाँ जेनेरेटर बस्छ पावर व्यकअपका लागि,’ उनले सुनाए। नेपालमा रहेका मलहरुमा सबैजसो पावर व्याकअपका लागि राखिने हेभी पावर जेनेरेटरहरु पार्किङ लटमा नै राखिन्छन्।

गाडी पार्किङ र जेनेरेटर सँगै हुँदा जोखिम हुन्छ नै। केही वर्षअघि कमल पोखरीको सिटी सेन्टरभित्र जेनेरेटरबाट निस्किएको आगोका कारण मल नै बन्द हुने स्थिति बनेको थियो। त्यसैले यहाँ पावर जेनेरेटर जमिनमुनि अलग्लै राखिने तयारी भइरहेको थियो।

बहुतले पार्किङ भएपछि विजुली यहाँ अनवरत हुनै पर्छ। डेडिकेटेड इन्ट्री र एक्जिटले मलमा हुनसक्ने ट्राफिक जामलाई नियन्त्रणमा राख्ने नै छ। सँगै पैदलमात्र आउने बाटाहरुले पनि मललाई जोड्छन्।
 
पर्याप्त उर्जा खपत
विद्युतबाटै तयार हुने पार्किङ लट, एक्सक्लालेटरहरु र पर्याप्त लिफ्टसँगै हाइ इन्ड मल हुने भएकाले एअर कन्डिसन जतिखेर पनि चालु हुनै पर्छ। त्यसैले यहाँ विजुली कति खपत होला? हाम्रो जिज्ञासा थियो।

‘पूर्ण रुपमा संचालनमा आउँदा कति विजुली खपत गर्छ यसले?’

‘३.५ मेगावाट’

केही वर्षभित्रै हामीकहाँ निर्माण भएका आयोजनाहरुले लोडसेडिङलाई कटौती गर्दै लैजाने निश्चित छ। त्यसपछि बन्ने आयोजनाहरु विदेश निर्यात गर्न सकिएला वा नसकिएला तर यस्ता आयोजना बन्ने हो भने खपत यहीभित्रै हुने रहेछ। सानो खाले एउटा आयोजनाको सबै उत्पादन एउटा मल्टिप्लेक्सले नै किन्न सक्ने भएपछि बजारको अभाव टर्ने निश्चित नै छ। त्रास विजुली अभावको मात्रै हो। उत्पादन भए खपत सहजै हुने देखायो एउटै आयोजनाले।
 
एक ठाउँ सबै सुविधा
तपाईँको रुचीअनुसार यहाँ सबै सुविधा उपलब्ध हुनेछन्। फुटयार्डमा देशी विदेशी ब्रान्डका स्वादको परख गर्न पाउनुहुनेछ। भित्रै क्यासिनो र डिस्को थेकहरु पनि भेट्नुहुनेछ। ब्रान्डेड दुकान, क्युरियो पसलहरु सबै यहाँ अटाउने छन्।

पार्टी तथा ठूला कार्यक्रम गर्नका लागि वेग्लै स्थान पनि यसमा अटाएको छ। अफिस अपार्टमेन्ट र बैंकहरु पनि यहीभित्र रहनेछन्। कन्सर्ट र कन्केल्भका लागि पनि ठाउँ बनिसकेको छ। सिनेमा पारखीले यहाँ सबैभन्दा सुविधासम्पन्न हल पाउने छन्। करिब ४ सय सिट क्षमताको सुविधासम्पन्न सिनेमा घर बनिसकेको छ। छड्के ढलानले सिनेमा भवनको आकृति देखाइसकेको छ। दक्षिण भागमा रहने फिल्म हल अहिलेका सिनेमा भवनभन्दा बढी सुविधासम्पन्न र महँगो हुनेछ।   

अहिले ठमेलमा जे जति सुविधा पर्यटकले लिन पाउँछन् ती सबै यहाँभित्रै उपलब्ध हुनेछन्। महेश्वर श्रेष्ठले हामीलाई हरेक तलामा हुने विशेषताहरु बुझाउँदै डुलाइरहेका थिए। हरेक तल्लामा केही न केही काम भइरहेकै थियो। कोही नयाँ खुल्ने पसलको इन्टेरियरमा तल्लिन थिए त कोही एक्सटर्नल लुकलाई आकर्षक बनाउन जुटिरहेका थिए। सबैभन्दा माथिल्लो तल्लामा भवन अग्ल्याउन मजदूरहरु सक्रिय थिए।
 
अभौतिकबाट भौतिक सपना
छायाँ सेन्टरको अभौतिक स्वरुपलाई कम्पनीले एनिमेटेड भिडियोबाट धेरै अघि सार्वजनिक गरेको हो। यस्ता भिडियो एनिमेसनले हत्तपत्त भौतिक रुप धारण कमै गर्छन् यहाँ। केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि यो सहरमा सपनाका यस्ता अभौतिक स्वरुपहरु कोरिन थालेका थिए।

ती सपनामा टुँडिखेलमुनि कार पार्किङ हुन्थे, बसपार्कमुनि बहुतले अन्डरग्राउन्ड पार्किङ रहन्थे, कमल पोखरी बहुतले हुन्थ्यो र त्यसको अन्तिम तलामा रेस्टुँरासहित कमल पोखरी बस्थ्यो- त्यसको मुनि मल्टिप्लेक्स र पार्किङ। एनिमेसनबाट बाहिर यथार्थमा आउन नसकेका ती कल्पनाहरुको ठीक विपरित हामी यसका तलहरुमा चढेर अनुभूति गरिरहेका थियौं– अभौतिकबाट भौतिक संरचानको। 

भूकम्प सबैले भोगेकै हो। भूकम्पकै कारण धेरैतिर निराशा छायो। आयोजनाहरु भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण अवरुद्ध नै भए। इन्धन अभावले सबैलाई पिरोल्यो। त्यति हुँदा हुँदै पनि यहाँ काम चलिरेको रहेछ।

हामी यहाँ पुग्दा हरेक तल्लामा कामदारहरु जुटिरहेका थिए। कतै फिनिसिङ हुँदै थियो त कतै फलामे रडहरु बाध्ने काम भइरहेको थियो। कतै पनि कुनै काम रोकिएको थिएन। गतिशील रुपमा अघि बढेको यो आयोजनाले भूकम्प र नाकाबन्दीले पारेको तनाव नखेपेको होइन।

समस्याहरु यससँग बारम्बार जोडिए पनि। तर पनि उचाई छुने यसको अभियान रोकिएन। अभावका श्रृङ्खलाले कामलाई केही धिमा त बनायो नै। भत्किएको धरहरा छाडौं नीति केन्द्र सिंहदरबारभित्र चर्किएका घर पुनर्निर्माणको थालनीसमेत हुन सकेको छैन। तर यहाँ काम रोकिएन।

‘इन्छाशक्ति बलियो नभएको भए यसरी काम हुन्थेन्,’ आयोजनाका एक प्रवर्द्धक सुमन पाण्डेले हामीलाई भवनको ग्राउन्ड फ्लोरमा भेटेपछि सुनाए, ‘सरकारले थालेको भए यो काम कुन हालतमा हुन्थ्यो होला तपाईँ आफैँ अनुमान गर्नुस्।’

हामीले चै त्यो अनुमान तपाईँहरुलाई नै गर्न छाडेका छौं।
















Share this Story

   

चार अर्व लगानीमा ठमेल भित्रै बन्दैछ अर्को ठमेल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.