काठमाडौं। ठूला करदाता कार्यालयले चैत ३० गते एनसेलको सेयर खरिद विक्रिको विवरण सात दिन भित्र दिन निर्देशन दिंदै टेलियासोनेरालाई लेखेको पत्रको बिहिवार जवाफ आएको छ।

एनसेलको सिईओमार्फत दिइएको जवाफमा टेलियासोनेराले एनसेल खरिद विक्रिमा आफूलाई कर दायित्व नलाग्ने स्पष्टिकरण दिएको छ। टेलियासोनेराले सेन्टस किट्स तथा नेभिसमा दर्ता भएको एनसेलको प्यारेन्ट कम्पनी रेनल्ड होल्डिङको सेयर विक्रि नभएको तर्क गर्दै कर दायित्व आफूमा नभएको दलिल पेश गरेको हो।
त्यसैगरी सेयर खरिद विक्रमा टेलियासोनेरा नर्वे जिम्मेवार भएको भन्दै टेलियासोनेराको हेडक्वाटर विवादबाट समेत पन्छिने प्रयास गरेको छ। स्विडेनको टेलियासोनेरालाई लेखेको पत्रमा जवाफ समेत नेर्वेको टेलियासोनेरा नर्वे नेपाल होल्डिङ दिएको छ।
एनसेल खरिद विक्रि प्रकरणमा कम्पनीले कर दायित्व आफूमा नभएको जानकारी दिंदै बरु नेपाललाई अफठ्यारो पर्दा सहयोग गरेको जानकारी भने पत्र मार्फत दिएको छ।

कम्पनीले पत्रमा लेखेको छ, 'गतवर्षको अप्रिल तथा मेमा गएको भयानक भुकम्पमा टेलिया कम्पनीले करिव (दश लाख डलर) दश करोड रुपैयाँ प्रधानमन्त्री राहात कोषमा दान(डोनेशन) दिएर नेपाली समाजका लागि आफ्ना प्रतिवद्धताहरु देखाएको छ।'
यस अघि पनि टेलियाका सिईओ जोन डेनिल्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २१ डिसेम्वरमा पत्र लेखेर नेपालका भुकम्प पिडितलाई एक अर्व रुपैयाँ दान दिन लागेको विषयलाई उठाएका थिए।
गत वर्षको भुकम्पमा एनसेलले तीन वर्ष भित्र खर्च गर्ने गरी एक अर्व रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। टेलियासोनेराका सिईओ जोन डेनिल्डलले लेखेको पत्रमा उक्त एक अर्व रुपैयाँ पुन: निर्माणमा खर्च गर्ने प्रतिवद्धता फेरी दोहोराइएको थियो।

यसअघि जोनले २१ डिसेम्वरमा पनि प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेर भुकम्प पिडितलाई एनसेलले एक अर्व रुपैयाँ दिएको कुराको सम्झाएका थिए। गतवर्षको भुकम्पपछि एनसेलले प्रधानमन्त्री राहात कोषमा दश करोड रुपैयाँ दिएको थियो भने तीन वर्ष भित्र एक अर्व रुपैयाँ खर्च गर्ने गरी पुन:निर्माणका काम अघि बढाउने प्रतिवद्धता जनाएको थियो।
तर त्यही प्रतिवद्धता बमोजिम पनि कम्पनीले अहिलेसम्म एक रुपैयाँ पनि खर्च गरेको सार्वजनिक जानकारी आएको छैन्।










