काठमाडौँ । टेलियाले सात दिनमा दोस्रो पटक बुधबार साँझ विज्ञप्ति जारी गर्दै एनसेल बिक्री वापतको कर तिर्न नपर्ने जिकिर गरेको छ।
अर्थ मन्त्रालयको आन्तरिक राजस्व विभाग अन्तर्गत रहेको ठूला करदाताको कार्यालयले टेलियालाई कर तिर्न ताकेता गर्दै पुनः पत्र लेखेपछि उसले आफ्नो आधिकारिक वेबसाइटमा विज्ञप्ति जारी गर्दै नतिर्ने बताएको हो।
सात दिनअघि गत बिहीबार जारी गरिएको विज्ञप्तिमा टेलियाले नेपालको कर कार्यालयबाट खरिद विक्रिका विषयमा जानकारी दिन अनुरोध मात्रै आएको, करको दावी नपरेको उल्लेख गरेको थियो। स्विडिश पत्रिका एसभिडीमा प्रकाशित समाचारको खण्डन गर्न जारी विज्ञप्तिमा नेपालले करको दावी नै नगरेको उल्लेख थियो।
तर एसभिडीले ठूला करदाताको कार्यालयका प्रमुख शोभाकान्त पौडेलको भनाईसहितको समाचार प्रकाशित गरेपछि भने टेलिया चुप थियो। सो समाचारमा नेपालले कर उठाउन अन्तर्राष्ट्रिय रुपमा आवाज उठाउने र टेलियाका अधिकारीहरु भागेमा रेड कर्नर नोटिस जारी गर्नेसम्मको तयारी भइरहेको उल्लेख थियो।
बुधबार जारी विज्ञप्तिमा भने टेलियाले नेपालको कर कार्यालयबाट अर्को चिट्ठी प्राप्त भएको र त्यसमा 'ट्याक्स रिटर्न'को नयाँ अनुरोध र एनसेलको सेयर कारोबारवापतको कर डिपोजिट गर्नुपर्ने दावी (क्लेम) भएको स्वीकारेको छ।
विज्ञप्तिमा टेलियाले आफूहरुको धारणा पहिलेको विज्ञप्तिभन्दा फरक नभएको भन्दै नर्वेको सब्सिडरी कम्पनी टेलियासोनेरा नर्वे नेपाललाई पत्रको जवाफ फर्काउन लगाएको उल्लेख गरेको छ।
स्विडिश मन्त्रीले भेटे प्रधानमन्त्री र अर्थमन्त्री
यसैबीच स्विडेनका अन्तर्राष्ट्रिय विकास सहयोग मन्त्री इसाबेला लभिनले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन्। नेपाली प्रेसलाई प्रधानमन्त्रीको समाचार पठाउने आधिकारिक इमेलबाट जानकारी नआए पनि स्विडेनका मन्त्रीका सहयोगीले फोटोसहित प्रधानमन्त्री र अर्थमन्त्रीसितको भेटबारे हिजै ट्विट गरिसकेका थिए।
In Kathmandu Development Cooperation Minister @IsabellaLovin met with PM K.P. Sharma Oli.@SweMFA pic.twitter.com/Z3QzxDW5m7
— Helena Sångeland (@HelenaSangeland) April 26, 2016
.@IsabellaLovin & Minister of Finance Paudel #Nepal discussing importance of women's participation for development pic.twitter.com/mJ3PIIUpj6
— Annika Flensburg (@AnnikaFlensburg) April 26, 2016










