टाइगर ल्याण्ड खरिद गरेर अरुण चौधरी पनि पर्यटन उद्योगमा प्रवेश, पाँच वर्षमा पाँच होटल खोल्दै

बिजमाण्डू
२०७३ बैशाख १५ गते ००:०० | Apr 27, 2016
टाइगर ल्याण्ड खरिद गरेर अरुण चौधरी पनि पर्यटन उद्योगमा प्रवेश, पाँच वर्षमा पाँच होटल खोल्दै

काठमाडौं। मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेताबाट स्थापित चौधरी समूहका अरुण चौधरीले सिजी होल्डिङबाट होटल क्षेत्रमा प्रवेश गरेका छन्।

चितवन जगतपुरको टाइगर ल्याण्ड खरिद गरेर सेवा क्षेत्रको ढोका ढकढकाएका उनले आगामी पाँच वर्ष भित्र  होटल क्षेत्रमा पाँच अर्व लगानी गर्ने महत्वाकांक्षी योजना समेत सार्वजनिक गरेका छन्।

Tata
GBIME
Nepal Life

३५ वटा कटेजको टाइगर ल्याण्ड खरिद गरेर हामी होटल क्षेत्रमा लगानी सुरु गरेका छौं, चौधरीले बुधवार आयोजित पत्रकार सम्मेलनमा भने, आगामी पाँच वर्ष भित्र हामीसँग पाँच वटा होटल हुनेछन्।

पाँचमध्ये एउटा 'होलिडे इन'को चेनमा पुल्चोकमा पाँच तारे होटल स्थापित हुने सिजी होल्डिङका अध्यक्ष तथा प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए। पुल्चोकमा मारुती सुजुकीको शोरुम तथा त्यसको परिसर रहेको स्थानमा सन् २०२० भित्र दुई सय बेडको पाँच तारे होटल तयार हुने उनले बताए।

पाँच तारे होटलसँगै त्रिपुरेश्वरको राइस एण्ड बल भएको स्थानमा अर्को बिजनेश होटल स्थापना हुनेछ। यो होटलमा १२५ वटा रुम हुनेछन्। पुल्चोक र त्रिपुरेश्वरमा तिव्र रुपमा काम सुरु हुने समेत चौधरीले बताए।

सिजी होल्डिङले बुढानिलकण्ठमा ५० वटा कटेजको वेलनेस सेन्टर तथा पोखराको साराङ्कोटमा ८० वटा रुमको रिसोर्ट स्थापनाको तयारी समेत गरेको छ। बुढानिलकण्ठ र पोखरामा पनि हामीले जग्गा लिइसकेका छौं,  अब डिजाइनको काम सुरु हुन्छ, अध्यक्ष चौधरीले बताए।

उनले हालै किनेको चितवनको टाइगर ल्याण्डको सेवा सुविधा विस्तार गरेर त्यसलाई अर्कै रुप दिइने बताए। आगामी पाँच वर्षमा सिजी होल्डिङ्सँग पाँच सय हाराहारीमा कोठा हुने समेत चौधरीले बताए। उनले यी पाँच होटलका लागि १५ सयभन्दा बढीले रोजगारी पाउने पनि जानकारी दिए।
 
पर्यटन उद्योगमा सम्भावना
सिजी होल्डिङ्गसको व्यानरमा पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा चौधरीले नेपालमा पर्यटनको अपार सम्भावना रहेको बताए। पर्यटनका लागि पूर्वाधार चाहिन्छ, नेपालको पर्यटन पूर्वाधारको अभावमा फस्टाउन सकेको छैन्, उनले भने।

पुरै विश्वमा तीन ट्रिलियन डलरको पर्यटन उद्योग छ तर नेपालमा जम्मा आठ लाख पर्यटक आउँछन्, चौधरीले भने पूर्वाधार तयार भए पर्यटकको संख्या पनि बढ्छन्।