मासु, दूध या अन्डा खाँदै हुनुहुन्छ? औषधी खाएका पशुपन्छीबाट राेग फैलिदै, कस्ताे खान हुन्छ ?

बिजमाण्डू
२०७३ बैशाख १६ गते ००:०० | Apr 28, 2016
काठमाडौं : के तपाईंले खानका लागि ठिक्क पारेको मासु, दूध तथा अन्डा खान योग्य छ कि छैन, कहिल्यै सोच्नुभएको छ?यदि छैन भने होस गर्नुस्, त्यस्तो खानेकुराले तपाईं बिरामी पनि हुन सक्नुहुन्छ ।

चिकित्सकका अनुसार बिरामी भएका पशुपन्छीको उपचार गरेर स्वस्थ भएपछि मात्र ती वस्तुको मासु, अन्डा वा दूध खानका लागि प्रयोग गर्नुपर्छ।
पशु विकास विभाग, केन्द्रीय पशु चिकित्सालयका अनुसार पशु बिरामी भएमा सर्वप्रथम त्यसको उपचार गर्नुपर्छ। उपचार गरेको पशुपन्छीमा प्रयोग भएको औषधिको प्रभाव शरीरमा समाप्त भएको भोलिपल्ट मात्र त्यो वस्तुभाउ काट्नुपर्छ।
 
चिकित्सालयका वरिष्ठ चिकित्सक डा अवधेश झाले चिकित्सालयमा विशेषगरी जिउँदो गाई, भैँसी, बाख्रा, बंगुर, चरा, कुकुर, बिरालोसम्मको उपचार हुने जानकारी दिएका छन्। १० रुपैयाँको टिकट काट्नासाथ पशु तथा चराचुरुंगीको उपचार हुने भएकाले यहाँको सेवा कृषकका लागि करिब निःशुल्कजस्तै विभागले सेवा प्रदान गरिरहेको उनको भनाइ छ।
 
यहाँ सरदर दैनिक ४० देखि ५० वटासम्म बिरामी वस्तुभाउ उपचारका लागि ल्याउने गरिएको र कहिलेकाहीँ १०५ सम्म पुग्ने गरेको छ। 'बिरामी पशुपन्छीलाई दिइने खोप तथा औषधिको असर पशुमा दुईदेखि ३० दिनसम्म हुने गर्दछ । पशुमा औषधिको प्रभाव रहेसम्म उसको मासु, दूध तथा अन्डा प्रयोग गर्नु हुँदैन,' झाले भने, 'औषधिको प्रभाव समाप्त भई वस्तु स्वस्थ भएको वा औषधिको प्रभाव समाप्त भएको भोलिपल्ट मात्र ती पशुपन्छी काटनुपर्छ। चिकित्सकको भाषामा त्यस अवधिलाई ‘विथड्र पिरिएड’ भनिन्छ।'  
 
नेपालमा औषधि दिएको दुई दिनमा नै मासुका लागि काट्ने वा दूध बिक्री गर्ने व्यवसायी पनि बढ्दै गएका छन्। यसले मानिसमा रोगव्याधी फैलाउने खतरा हुन्छ।नेपालका गाउँघरमा कृषि तथा पशुपालन मुख्य पेसा भए पनि राजधानी काठमाडौँसहित मुख्यमुख्य सहरमा व्यावसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दै गएको छ। तराईका कृषकमा भने वस्तुभाउ बिरामी भएपछि उपचार गर्नुपर्छ भन्ने जनधारणा बलियो हुँदै गएको डा झाले जानकारी दिए।
 
घरपालुवा कुकुरलाई मात्र रोग नलागोस् भनेर ती कुकुरलाई कोरोना नामक औषधि, तथा मानिस र कुकुरलाई नै रोग लाग्न ननदिन डिएचपिपिटीआई नामक औषधि दिइने गरिएको उनी बताउँछन्।गाईवस्तुलाई जुकाको पनि औषधि दिने गरिएको जानकारी दिँदै उनले गाईभैँसी तथा बाख्रा र कुखुरालाई एन्टिबायोटिक औषधि समेत दिने गरिएको बताए। रासस

Tata
GBIME
Nepal Life