एनआईडिसीले १३५३ रुपैयाँमा बेच्न राखेको नबिलको सस्थापक सेयरमा १८ सय रुपैयाँ सम्मको आवेदन

बिजमाण्डू
२०७३ बैशाख १६ गते ००:०० | Apr 28, 2016
एनआईडिसीले १३५३ रुपैयाँमा बेच्न राखेको नबिलको सस्थापक सेयरमा १८ सय रुपैयाँ सम्मको आवेदन
काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बेच्न लागेको नबिल बैंकको सेयर प्रति किक्ता १६३० रुपैयाँको हाराहारीमा बिक्री हुने भएको छ । न्युनतम १३५३ रुपैयाँमा बोलकबोल गराइएको यो सेयर किन्न प्रतिकित्ता १६२० रुपैयाँभन्दा बढी मूल्य ‘कोट’ गरेर चार सयको हाराहारीमा आवेदन परेको छ ।

Tata
GBIME
Nepal Life

एनआईडिसीले मंगलबारदेखि आवेदन छुट्याउने काम थालेको हो । ‘पहिलो चरणमा हेर्दा चारसय भन्दा बढी आवेदनमा १६३० रुपैयाँको हाराहारीमा मूल्य कोट गरेर सेयर मागिएको देखियो, एनआईडिसीका निमित्त निर्देशक रविन्द्रराज पन्तले भने, सेयर किन्न कूल सात सय आवेदन परेका छन् ।’

यो कम्पनीले आफ्नो स्वामित्वमा रहेको एक लाख ६२ हजार कित्ता सेयर प्रतिस्पर्धामा बिक्री गर्न आवेदन मागेको थियो । एनआईडिसी नबिलको सस्थापक मध्ये समूह ख को लगानीकर्ता हो । यही समूहमा राष्ट्रिय बीमा सस्थानले पनि लगानी गरेको थियो । यी दुई सस्थाको नबिलमा २० प्रतिसत लगानी थियो । यस पटक सेयर बिक्री गरेपछि एनआईडिसी नलिबको लगानीकर्ताबाट बाहिरिन्छ ।

एनआईडिसीले यस पटक सबै सेयर बिक्री गर्ने करिब पक्का भएको छ । यो सेयर बिक्री गर्दा कम्पनीले करिब २७ करोड रुपैयाँ पाउँछ । कम्पनीले करिब २२ करोड रुपैयाँमा बेच्ने तयारी गरेको यो सेयर लगानीकर्ताले बढी मूल्यमा किन्न खोजेपछि सस्थालाई करिब पाँच करोड थप रकम प्राप्त हुनेभएको हो ।

‘केही लगानीकर्ताले प्रतिकित्ता १८ सय रुपैयाँसम्ममा सेयर किन्ने आवेदन दिएका छन्, सूचना अधिकृत समेत रहेका निमित्त निर्देशक पन्तले भने, औसतमा १६२० भन्दा बढी मूल्यमा सेयर बिक्री हुन्छ । सबै प्रक्रिया पुरा गर्दा करिब एक साता लाग्न सक्छ ।’ एनआईडिसीको करिब १२ लाख कित्ता सेयर मध्ये विगतमा बिक्री गरेर बाँकी रहेको सेयर यस पटक बेच्न लागिएको हो ।

आवेदनको चाप हेर्दा यस पटक सबै सेयर बिक्री हुने अनुमान कम्पनीको छ । बढी मूल्य कोट गर्ने लगानी कर्तालाई सेयर बिक्री गर्नुपर्ने प्रावधान छ । बढी मूल्य कोट गर्ने तर सेयर लिने अन्य प्रक्रिया पुरा गरेनन् भने कम्पनीले पुनः प्रतिस्पर्धा गराएर मात्रै सेयर बेच्न पाउँछ । नबिलको सेयर बिक्री गरेपछि एनआईडिसीको क्रस होल्डिङ पनि सकिन्छ ।