विश्वविख्यात अनलाईन कम्पनी अलिबाबाले बेच्छ गोल्डस्टार जुत्ता,ग्लाेबल ब्रान्ड गाेल्डस्टार

बिजमाण्डू
२०७३ बैशाख १८ गते ००:०० | Apr 30, 2016
  • पवन तिमिल्सिना/बिजमाण्डू
काठमाडौं । नेपाली जुत्ता गोल्डस्टार संसारकै चर्चीत अनलाईन मार्केटप्लेस कम्पनी अलिबाबाको अनलाईन सपिङ साइटमा बिक्रीका लागि राखिएको छ । दैनिक अर्बौ कारोबार हुने अलिबाबामा नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो कम्पनी बनेको छ ।

माओवादी जनयुद्धको समयमा स्वदेशमा लोकप्रिय बनेको यो ब्रान्डले विश्वबजारमा समेत स्थापित ब्रान्ड बनाउन सफल भएको छ ।मर्निङ वाक, सैनिक, प्रहरी तथा लडाकुहरुको रोजाईमा परेको गोल्डस्टार जुत्ताको माग विश्वबजारमा पनि छ । किन छ त विश्वमा नेपाली जुत्ता गोल्डस्टारको आकर्षण ?
भारत लगायत अन्य दक्षिण एसियाली तथा मध्य पूर्वी मुलुकका मध्यम वर्गका मानिसहरुका माझ गोल्डस्टार लोकप्रिय छ।

Tata
GBIME
Nepal Life

भारतको विभिन्न प्रान्तमा यसका आधिकारिक विक्रेताहरु रहेपनि पाकिस्तान लगायतका दक्षिण एसियाली मूलुकहरु तथा मध्यपूर्वी मूलुकहरुमा पनि अर्डर अनुसारका जुत्ताहरु निर्यात हुने गरेको युनिभर्सल ग्रुपका कार्यकारी सदस्य सुरेन्द्र निरौलाले जानकारी दिए । उनले भने, 'हामीले न्युन आय स्रोत भएका र मध्यम वर्गीय उपभोक्ताहरुलाई लक्षित गरेका छौं।'निरौलाका अनुसार खासगरी इटालियन प्रविधिबाट बनाइने हुनाले गोल्डस्टारका जुत्ताहरु निकै बलिया हुन्‍छन्। यसले जुत्ताहरु ठुलो परिमाणमा उत्पादन गर्ने भएकाले यसको मुल्य तुलनात्मक रुपमा सस्तो रहेको उनले बताए । उनले भने, 'गोल्डस्टार जुत्ता सस्तो मुल्यमा बलियो जुत्ताका लागि लोकप्रिय मानिन्छ।'

निरौलाले भने,' हामी कच्चा पदार्थका लागि क्वालिटीमा सम्झौता गर्दैनौं।' गोल्डस्टारका जुत्ता बनाउनका लागि आवश्यक कच्चा पदार्थहरु प्रयोग गर्नु अगाडी ४/५ वर्ष परिक्षण गरेर मात्र प्रयोगमा ल्याइन्छ।विदेशमासमेत अत्याधिक माग पाएको गोल्डस्टार जुत्ताले अन्य मुलुकमा बजार बिस्तार गर्न सकिरहेको छैन। स्वदेशी मागलाई नै पुर्‍याउने क्षमता नभएको कारण जुत्ता उद्योगले बजार विस्तार गर्न नसकेको निरौलाले बताए । 'गोल्डस्टारको ब्राण्डिङ आफैमा काफि छ', उनले भने,'यसलाई मार्केटिङ गर्नुपर्ने कनै आवश्यकता छैन।' 

नेपालमा उत्पादन हुने जुत्ताहरुमध्य ८० प्रतिशत जुत्ताहरु विदेशमा निर्यात हुने गरेका छन् । त्यसमध्य निर्यातहुने अधिकांश जुत्ताहरुमा गोल्डस्टार जुत्ताले एकछत्र राज गरेको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका अध्यक्ष रविन कुमार श्रेष्‍ठले बताए । श्रेष्ठका अनुसार गत वर्ष विदेशमा साढे दुई अर्ब नेपाली जुत्ता निर्यात भएका छन् । त्यसबाहेक वार्षिक रुपमा करिब ४० करोड बराबरको विशेष जुत्ताहरु युरोपका विभिन्न मुलुकमा निर्यात हुनेगरेको उनले जानकारी दिएका छन्। उनले भने, 'युरोपमा निर्यात हुने जुत्ताहरु  सिल्ड र लेदरबाट बनेका हुन्छन्।'

नेपाली जुत्ता बजारले अहिलेसम्म स्वदेशमा ६५ प्रतिशत माग पुरा गर्न सकेको श्रेष्ठले बताए। नेपाली जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा नेपाल पूर्णरुपमा आत्मनिर्भर बन्न सकेका छैनन्। नेपाली जुत्ता उत्पादनमा ३० प्रतिशत मात्र कच्चा पदार्थ पाइने र बाकी कच्चा पदार्थ बाहिरबाट आयात हुने गरेको उनले जानकारी दिए।श्रेष्ठका अनुसार नेपालमा करिब आठ सय ५० देखि नौ सयसम्मका घरेलु उद्योग र दुई सय ५० वटा उद्योग दर्ता भएका छन् । देशभरमा करिब दुई हजार जुत्ता तथा चप्पल उद्योगहरु सञ्चालनमा रहेका छन् ।