नदीमा पानी घटेपछि प्राधिकरणले अघोषित रुपमा बढायो लोडसेडिङ, आन्तरिक उत्पादन २६० मेगावाट

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
नदीमा पानी घटेपछि प्राधिकरणले अघोषित रुपमा बढायो लोडसेडिङ, आन्तरिक उत्पादन २६० मेगावाट


काठमाडौं । नदीमा पानीको बहाव अप्रत्याशित मात्रामा घटेपछि विद्यूत आपुर्तिमा समस्या देखिएको छ । सोमबारबाटै लोडसेडिङ घटाउने योजनामा रहेको नेपाल विद्यूत प्राधिकरणले थप एक घण्टा अघोषित रुपमा लोडसेडिङ बढाएको छ । 
 
कुलेखानी जलविद्युत आयोजनामा पानीका मात्रा निकै तल झरिसकेको र कालीगण्डकीमा पानीको मात्रा निकै घटेको छ । यही कारण प्राधिकरणले करिब एक घण्टा लोडसेडिङ बढाएको हो । 
लोडसेडिङ बढेपनि प्राधिकरणले औपचारिक घोषणा भने गरेको छैन । गर्मी बढ्दै गएकोले हिउ पग्लिएर नदीमा पानीको मात्रा बढे अहिलेकै हाराहारीमा लोडसेडिङ राख्न सकिन्छ भन्ने विश्लेषण प्राधिकरणका अधिकारीहरुले गरेका छन् । 
 
प्राधिकरणकै सूचनामै एक घण्टा तलमाथी गर्न सक्ने उल्लेख भएको भन्दै भारप्रेषण शाखा प्रमुख भुवन कुमार क्षेत्रीले लोडसेडिङ नबढेको दावी गरे । तर तीन दिन देखि नै प्राधिकरणमा लोडसेडिङ बढाउने वा अन्य कुनै विकल्प खोज्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । 
 
अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष आन्तरिक उत्पादन १६८ मेगावाट कम भएको छ । भारतबाट आयात भएको विद्यूतले केही भरथेग गर्दा लोडसेडिङ बढाउनु नपरेको प्राधिकरणका अधिकारी बताउँछन् । 
 
कुलेखानीमा पानीको एक सय पाँच मिटर मात्रै छ । यो भन्दा पनि धेरै तल गए जोखिम हुनसक्छ । वैशाख महिना सुरु भएपछि नदीमा पानीको वहाव बढ्ने गरेको विगतको अनुभवका आधारमा कुलेखानी आयोजनालाई पुर्ण क्षमतामा चलाएर चैतमा दैनिक दुई घण्टा लोडसेडिङ घटाइएको थियो । 
 
कालीगण्डकीमा विगतका वर्षहरुमा वैशाख तेस्रो साता तिर एक सय मेगावाट विद्युत उत्पादन हुन्थ्यो । सोमबारसम्म यो आयोजनाबाट जम्मा ५५ मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । 
 
‘केही दिनयता नदीमा पानीको वहाव निकै कम हुदै गएको छ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, आन्तरिक उत्पादन निकै तल्लो तहमा झरिसकेको छ । तर हामी लोडसेडिङ नबढाइ व्यवस्थापन गर्ने प्रयासमा छौं।’ 
 
हाल आन्तरिक उत्पादन २६० मेगावाटको हाराहारीमा ओर्लिएको छ । प्राधिकरणले सातामा ७७ घण्टा लोडसेडिङ गर्दै आएको छ । 
 

Tata
GBIME
Nepal Life