उपत्यकाको ट्राफिक अवस्थाको जानकारी अब एपबाट, ट्राफिक प्रहरीको एपमा के के छन् सुविधा

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
उपत्यकाको ट्राफिक अवस्थाको जानकारी अब एपबाट, ट्राफिक प्रहरीको एपमा के के छन् सुविधा


उमेश पौडेल/बिजमाण्डू
काठमाडौं । तपाई बाहिर निस्कँदै हुनुहुन्छ, कहाँ ट्राफिक जाम छ-छैन, कहाँ डाइभर्सन छ उपत्यकाको ट्राफिक अवस्था कस्तो छ? यो सब थाहा पाउन अब चिन्ता गर्नुपर्दैन, ट्राफिक प्रहरीले तपाइँको स्मार्टफोनमै सम्पूर्ण जानकारी दिनेछ। 

Tata
GBIME
Nepal Life

ट्राफिक प्रहरीले आफ्नो १५ एमबीको एप सोमबार सार्वजनिक गरेको छ। एपमा ट्राफिक अवस्थाको जानकारीका दिनका लागि लाइभ ट्राफिकको अप्सन राखिएको छ जसबाट उपत्यकाको कुन क्षेत्रमा ट्राफिकको अवस्था कस्तो छ भनेर थाहा पाउन सकिन्छ। 


तपाइँले रङ्गका आधारमा उपत्यकाका विभिन्न स्थानहरुको नाम र ट्राफिकको अवस्था थाहा पाउन सक्नुहुनेछ। जस्तै बानेश्वर लेखेर रातो रङ लेखिएको रहेछ भने सोच्नुस त्यहाँ धेरै जाम रहेको छ। पहेलो रङ रहेछ भने ठिक्क ठिक्क जाम र हरियो रङ रहेछ भने जाम छैन भनेर बुझ्नुहोस्।

एपमा उपत्यकामा हुने विभिन्न किसिमका जात्राका, जुलुस आदिका कारण सवारी आवागमनमा कहाँ-कहाँ प्रभावित भएको छ, विभिन्न सवारी साधनको दुर्घटनाको अवस्था र मापसे गरी सवारी साधन चलाउनेका माथि कारवाहीको विवरण पनि राखिएको छ। 

हाल एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा मात्र उपलब्ध यो एप एक हप्तापछि आइओएस अपरेटिङ सिस्टम भएका डिभाइस तथा मोवाइल फोनमा पनि उपलब्ध हुने ट्राफिक प्रहरीले  बताएको छ।

यस्ता छन् थप सुविधा

ट्राफिक पुलिस नेपाल एपमा लाइभ ट्राफिकिङ, ट्राफिक सम्बन्धी समाचार, कुन ट्राफिक नियम उल्लङ्घन गरेको हो त्यसको शुल्क, इमर्जेन्सी कल गर्ने अप्सन, जरिवाना शुल्क तिर्नका लागि बैँक रहेको स्थान थाहा पाउन सक्नुहुनेछ।

त्यस्तै उपत्यकामा रहेका ट्राफिकका स्टेसनहरु, ट्राफिक अपडेट, ट्राफिक एफएम, नेपाल प्रहरी र ट्राफिक प्रहरीको इतिहास, विभिन्न किसिमका ट्राफिक सिग्नल, जनचेतनाका लागि राखेका भिडियोहरु हेर्ने सुविधा रहेको छ।

आफ्नै भर्चुअल रुट निर्माण गर्न सकिने

एपमा तपाइले आफ्नो दैनिक हिड्ने रुट बनाएर यो रुटको ट्राफिक अवस्था कस्तो रहेको छ भनेर थाहा पाउन सक्नुहुनेछ। जस्तै तपाई नयाँ बानेश्वरमा बस्नुहुन्छ र तपाइँको अफिस त्रिपुरेश्वरमा छ।  तपाइँ रत्नपार्क हुँदै फर्कनुहुन्छ भने तपाइले एपमा नयाँ बानेश्वर, बबरमहल, माइतिघर, थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, सिंहदरबार, माइतिघर हुँदै नयाँ बानेश्वरको रुटलाई आफू हिड्ने बाटोलाई भर्चुअल रुट निर्माण गर्न सक्नुहुनेछ र त्यहाँको ट्राफिकको अवस्थाको बारेमा थाहा पाउन सक्नुहुनेछ।

प्रविधि नयाँ, ढर्रा पुरानै

ट्राफिक प्रहरीले नयाँ समय र प्रविधि अनुसार आफूलाई परिस्कृत गर्ने भने पनि प्रयोगको हिसाबले यो सबै पुरानो तरिकाबाट चलेको छ। जस्तै ट्राफिकको अवस्थाको बारेमा जानकारी दिन स्थानअनुसारको रङको प्रयोगले यसको औचित्यमाथि प्रश्न गरेको छ।

लाइभ ट्राफिकिङको बारेमा जानकारी ड्युटीमा खटिएका प्रहरीको जानकारी र सर्वसाधारणले दिएको जानकारीअनुसार अपडेट गर्ने भनिएको छ।
ड्युटीमा खटिएका प्रहरी र स्थानीयले दिएको जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुममा पुगेर त्यहाँका प्राविधिक कर्मचारीले एपमा अपलोड गर्दा कुनै पनि स्थानको ट्राफिक अवस्था कहाँ पुग्ला?

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक नै निर्धारित समयभन्दा २० मिनेट ढिला आइपुगेका थिए । २० मिनेट ढिला सुरु भएको कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समयको पाबन्दीका कारण सबै कुरा यो एपमा समेट्न नसकेको बताए। 

एपको साइज पनि निकै ठूलो १५ एमबीको रहेको छ। यसमा मेनुहरु पनि राम्रोसँग नचल्ने, ह्याङ हुने देखिएको छ। 

सम्बन्धित लिङ्क
ट्राफिक प्रहरीको एन्ड्रोइड एप