एक नेपालीको वार्षिक आम्दानी ८० हजार रुपैयाँ, आर्थिक बृद्धिदर नकारात्मक हुनबाट मात्रै जोगियो

बिजमाण्डू
२०७३ बैशाख २१ गते ००:०० | May 3, 2016

काठमाडौं । एक वर्षमा नेपालीहरुको आम्दानी औसतमा तीन हजार आठ सय रुपैयाँ मात्रै बढेको छ । केन्द्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी ८० हजार नौं सय २१ रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो आम्दानी ७७ हजार ७९ रुपैयाँ थियो । आर्थिक वर्ष २०५८/५९ पछि सबैभन्दा कम आम्दानी यस वर्ष बढ्यो । विभागका अनुसार यस वर्ष जम्मा तीन हजार आठ सय अर्थात अघिल्लो वर्षको तुलनामा ४.९८ प्रतिसत मात्रै प्रतिव्यक्ति आय बढ्यो ।

Tata
GBIME
Nepal Life

अमेरिकी डलरमा प्रतिव्यक्ति आय सात सय ६६ मा झरेको छ । गत वर्ष यस्तो आम्दानी सात ७५ डलर थियो । डलरको भाउ बढेको कारण नेपाली मुद्रा सस्तो हुँदा आम्दानी बढेको देखिएको हो ।

प्रतिव्यक्ति आम्दानीको बृद्धिदर भन्दा मूल्य करिब दुई गुणाले बढेको छ । गत फागुन मसान्तसम्मको मूल्य बृद्धिदर दोहोरो अंक अर्थात १० प्रतिसत भन्दा बढी छ । आर्थिक वर्ष २०७१/७२मा ६.४४ प्रतिसतले, आर्थिक वर्ष २०७०/७१मा प्रतिव्यक्ति आय १५.३७ प्रतिसतले बढेको थियो ।

नकारात्मक हुनबाट मात्रै जोगियो बृद्धिदर

नकारात्मक पनि हुनसक्ने अनुमान गरिदै आएको मुलुकको आर्थिक बृद्धिदर ०.७७ प्रतिसतले बढ्ने अनुमान तथ्यांक विभागले गरेको छ । अर्थमन्त्रालयले आर्थिक बृद्धिदरको लक्ष्य संसोधन गरेर दुई प्रतिसतसम्म हुने भनेपनि बृद्धिदर एक प्रतिसत भन्दा तलै खुम्चियो । यो आर्थिक वृद्धिदर १३ वर्षपछिको सबैभन्दा कम हो ।

सेवा क्षेत्रका केही व्यवसायले आर्थिक बृद्धिदर नकारात्मक हुनबाट भने जोगाए । सबैभन्दा कमजोर उत्पादनमुलक क्षेत्र भएपनि शिक्षा, स्वास्थ्य, सरकारी क्षेत्र, रियलस्टेट जस्ता क्षेत्रले आर्थिक बृद्धिदरलाई नकारात्मक हुनबाट जोगाएका हुन् । शिक्षामा ११ प्रतिसत, स्वास्थ्यमा करिब नौ प्रतिसत, सरकार निकायको ६ प्रतिसत र रियलस्टेटमा करिब चार प्रतिसतले बृद्धि देखिएको छ ।
 
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको कुल आकार २० खर्ब सात अर्ब २७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष अर्थतन्त्रको आकार १८ खर्ब ८९ अर्ब ४१ करोड रुपैयाँ बराबरको थियो ।अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको बृद्धिदर १.१४ प्रतिसत भयो । यसले अर्थतन्त्र नकारात्मक हुनबाट जोगायो । औद्योगिक उत्पादन भने निकै घट्यो ।

गत वर्षको तुलनामा यस वर्ष औद्योगिक क्षेत्रको उत्पादन करिब १० प्रतिसत घट्यो । यो क्षेत्रको उत्पादनमा करिब साढे चार अर्ब रुपैयाँले कमी आयो । त्यस्तै विद्यूत, होलसेल तथा रिटेल, होटल तथा रेष्टुरेण्टको बृद्धि पनि नकारात्मक भयो । गत वर्षको वैशाखमा गएको भूकम्प र नाकाबन्दीका कारण आर्थिक बृद्धिदर सुस्त भएको तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले बताए ।