सार्वजनिक यातायातमा पुरानाे नीतिमा पुनरावलाेकन, काठमाडौंमा अब ठूला सवारी साधन मात्रै चल्ने

बिजमाण्डू
२०७३ बैशाख २२ गते ००:०० | May 4, 2016
  • पवन तिमिल्सिना/बिजमाण्डू
काठमाडौं सरकारले सार्वजनिक यातायातमा पूरानो नीतिगत निर्णय पुनरावलोकन गर्दै उपत्यकामा ठूला सवारी साधन मात्रै चल्न पाउने व्यवस्था गर्ने भएको छ ।

साना सवारी साधनका कारण यात्रीलार्इ सास्तीसँगै सडक समेत बढी ओगटेर जाम बढाएको निष्कर्ष निकाल्दै ठूला सवारी साधन मात्रै चलाउने व्यवस्था गर्न लागेको हो । ठूला सवारी साधन चलाउन बाध्यकारी भन्दा विस्थापनकारी नीति ल्याएको छ । ठूला सवारी साधनलार्इ प्रोत्साहन गर्न आगामी दुई वर्षमा काठमाडौंका दुई रुटका सडकहरुमा ६० यात्रु अटाउने सवारी साधनमात्र चलाउने तयारी गरेको छ ।

Tata
GBIME
Nepal Life

एसियाली विकास बैंकको सहयोगमा दिगो सहरी यातायात विकास आयोजनाको 'मास ट्रान्सपोर्टेसन' योजना अनुसार विभागले साना सवारी साधनहरु विस्थापित गरेर ठुला सवारी साधनहरु चल्ने छुट्टै रुटको 'पाइलटिङ' गर्न लागेको हो ।हाल काठमाडौंमा दस हजार ठुला तथा साना सवारी साधनहरुले अनुमति पाएको र ती मध्ये तीन सय समितिका सवारी साधन छ ।   उपत्यकाभरी दुई सय वटा रुटमा ती सवारी साधनहरु आवतजावत गर्छन् । विभागको काठमाडौंका सवारी साधन घटाएर तीन हजार पुर्‍याउने र रुट ६६ वटा कायम गर्ने लक्ष्य रहेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी लिए।
सुरुवातमा विभागले दुई वर्षभित्र दुई वटा रुटमा ४०-६० यात्रु क्षमताको सवारी साधनहरु चलाउनेछ।

पहिलो रुट अनुसार करीब १५ किलोमिटर लम्बाईमा नयाँ बसपार्क-लैनचौर-रत्नपार्क-भिमसेनगोला हुँदै सिनामंगल सम्म गाडी सञ्चालन हुनेछन् । विभागले गरेको अध्ययन अनुसार यो रुटमा दैनिक ९६ वटा बस, ३५ वटा ट्याम्पु तथा २६ वटा माइक्रोबस सञ्चालनमा रहेका छन् । ती सवारी साधनहरुलाई विस्थापित गरेर १७ वटा ४०-६० यात्रु अटाउने बस सञ्चालन गर्ने योजना रहेको श्रेष्ठले बताए ।दोस्रो रुटको लागि भने सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए। उनले भने,'यस अगाडी कलंकी देखि बल्खु हुँदै रिङरोड बाट सुर्यविनायकसम्मको सडकखण्डको अध्ययन विफल भएपछि अर्को रुटको खोजी गरिएको हो।'  

एसियाली विकास बैंकले यी दुई रुटमा चल्ने गाडी खरीद गर्नका लागि पाँच प्रतिशत ब्याजमा ३८ करोड ऋण सहयोग गरेको उनले जानकारी दिए ।
ठुला सवारी साधनहरुलाई माइक्रोबस, ट्याम्पु लगायतका साना सवारीसाधन एकैरुटमा चल्ने भएका कारण बढी ट्राफिक जाम र प्रदुषण हुनेगरेको दिगो सहरी यातायात विकास आयोजनाका प्रमुख दिपक श्रेष्ठले बताए । 'मास ट्रान्सपोर्टेसन'को अवधारणा अनुसार सबै किसिसमका सवारी साधनलाई निश्चित रुट छुट्टाएर चल्न दिने यो आयोजनको मुख्य लक्ष्य रहेको उनले बताए। 

आयोजनाले लक्ष्य राखेको ६६ वटा रुटमध्येमा आठ वटा 'प्रथम रुट', १६ वटा द्वितिय रुट र ४२ वटा तेस्रो रुट रहेका छन्। प्रथम रुट अनुसार रिङरोड, अरनिको राजमार्ग तथा बुढानिलकण्ठ लगायतका सडकमा ८० यात्रु क्षमताका बसहरु सञ्चालनमा आउनेछन् भने द्वितिय रुटमा ६० यात्रु क्षमताका गाडीहरु चल्नेछन्। तेस्रो रुटमा ट्याम्पु तथा माइक्रोबस सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ।हाल 'पाइलटिङ' का लागि सुरु गर्ने भनिएको दुई रुटमा द्वितिय रुटको परीक्षण गर्न लागिएको श्रेष्ठले बताए। 'हामीले दुई वर्षका लागि पाइलटिङ गर्न लागेका हौं',उनले भने, 'प्रतिफल अनुसार आयोजनाको काम अघि बढ्छ।'