हकप्रदमा भइरहेको छ घात तर धितोपत्र वोर्डले कुरो बुझेन, रविन्द्र भट्टराईको लेख

बिजमाण्डू
२०७३ बैशाख २३ गते ००:०० | May 5, 2016
हकप्रदमा भइरहेको छ घात तर धितोपत्र वोर्डले कुरो बुझेन, रविन्द्र भट्टराईको लेख


धितोपत्र बोर्डको पछिल्लो निर्देशन हकप्रद सेयरको सुचनामा केन्द्रित छ । बढीभन्दा बढी सेयर धनीले हकप्रद सेयरको सूचना प्राप्त गर्नु र गराउनु सकारात्मक भएपनि हकप्रद सेयरका सम्बन्धमा बोर्डको अध्ययन अनुसन्धानमा कमी रहेको निर्देशनमा समेटिएको चासोबाट स्पष्ट हुन्छ ।
 
हकप्रद सेयरका बारेमा बोर्डले सेयरधनी वा लगानीकर्ताले भोगेका सम्पूर्ण समस्या बुझ्न सकेको छैन । हकप्रद सेयरसँग सम्बन्धित साना तथा महत्वपूर्ण समस्यामा बोर्ड अझै अनभिज्ञ रहेको देखिन्छ ।
 
एउटै विषयमा पटक पटक निर्देशन दिएर निर्देशनको भिड थोपर्ने र बोर्डको वेब साइटको स्पेस भर्ने काम गर्नुभन्दा केहि दिनको अध्ययन, अनुसन्धान, छलफलबाट स्पष्ट र अधिकतम समस्याका समाधान गर्न सक्ने निर्देशन दिनु राम्रो हुन्थ्यो ।
 
वोर्डले हकप्रदका बारेमा थप चार वटा विषयलाई समेट्न आवश्यक छ । जसमा सूचना, पहुँच, अधिकार र पारदर्शिता पर्छन ।
 
धेरैभन्दा धेरैले हकप्रद सेयर निश्कासनको सूचना थाहा पाउनु मात्र समाधान होइन । हकप्रद सेयर भर्ने कुरा धेरै सेयरधनीको पहुँचमा पुर्याउनु पनि बोर्डको कर्तव्य हुन्छ । धेरैले थाहा पाउँदैमा धेरैको पहुँचमा पुग्दैन । यसैले हकप्रद सेयर जारी गर्दा आवेदन संकलन केन्द्रका बारेमा पनि बोर्डले सोच्नु पर्छ । के अहिले कम्पनीले तोकेका आवेदन संकलन केन्द्र वा आवेदन संकलन गर्ने तरिका पर्याप्त छ ? सवैको पहुँचमा छ ? बोर्ड यस बारेमा बोलेको देखिदैन । ठुलो शाखा सञ्जाल भएका वाणिज्य बैकमा हकप्रद सेयर भरेर बुझाउन त्यति समस्या नभए पनि अन्य कम्पनीका हकप्रद सेयरमा भने समस्या छ । सेयरधनीको पहुँच कम छ ।
 
हकप्रद सेयर भर्दा अन्यको नाममा भर्ने वा अन्यले भरेर लिने भन्ने नहुने भएकाले पनि यसका लागि अनलाईन फारम भर्ने व्यवस्थातर्फ बोर्ड जान आवश्यक हुन्छ । तर बोर्डको चासो यतातिर गएको देखिदैन । यसका लागि मर्चेन्ट बैंकसँग छलफल बढाउनु आवश्यक हुन्छ । तर नेपालका मर्चेन्ट बैंक परिवर्तनको पक्षमा देखिदैनन र कामचलाउ प्रकृतिको धितोपत्र निश्कासन व्यवस्थापन गर्ने प्रवृत्ति देखिन्छ ।
 
धितोपत्र निश्कासनलाई व्यवस्थित गर्न आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने काम मर्चेन्ट बैंकको पनि हुन्छ । जस्तो देशभर जुनसुकै स्थानबाट अनलाइनमार्फत फारम भर्न सक्ने सफ्टवयरको निर्माण गर्नु र लागु गराउन पहल गर्नु मर्चेन्ट बैंकको कर्तव्य हो । तर मर्चेन्ट बैंकले यो गर्न सकेका छैनन् ।
 
यसैगरि हकप्रद सेयरमा दशमलव पछिको अंकमाथि सेयरधनीको प्राप्त अधिकार कम्पनीले हनन् गरेका छन् । खोसेका छन । यसमा कम्पनीपिच्छे आ-आफ्नै नियम छन । कसैले दशमलवपछि आउने अंकलाई पूर्ण अंक बनाएर भर्न पाउने व्यवस्था गरेका छन् भने कसैले ०.९९ आए पनि भर्न नदिएका उदाहरण छन् । जस्तो सनराइज बैंकले जारी हकप्रदमा दशमलव पछिको अंक भर्न दिएन तर सेन्चुरी कमर्सियल बैंकले दशमलबपछि जति अंक आए पनि एक कित्ता थपेर भर्न दिएको थियो ।
 
कसैले दशमलबपछि शुन्य दशमलब पाँच र त्यस माथिका अंकलाई एक बनाइ भर्न दिएका छन । यसमा एकरुपता कायम गर्न आवश्यक छ । सेयरधनीले भर्न पाउने दशमलब पछिको अंकमा पाउने सेयरको हक भर्न नदिनु वा अन्यलाई दिनु वा कम्पनीले बेच्नु सेयरधनीको हकको हनन हो । सेयरधनीले दशमलवपछि जति सेयर भर्न पाउने हो त्यो भर्न पाउनु पर्छ । यो व्यवस्था बोर्डले तत्काल लागु गर्नु पर्छ । यसरी भर्न नपाउदा लगानीकर्ताले ठूलो मूल्य गुमाउनु पर्छ ।
 
कम्पनीले बोनस सेयर बितरण गर्दा दशमदबपछि आउने सेयर पनि सेयरधनीलाई प्रदान गरिन्छ र सेयरधनीको खातामा रहन्छ । अर्को पटक प्राप्त बोनसबाट पुरा सेयर भएपछि सेयरधनीले एक सेयर प्राप्त गर्छन । कतिपय कम्पनीले एक सेयर दिन नपुग रकम सेयरधनीबाट मागगरि पुरा सेयर प्रदान पनि गरेका छन । जस्तो नेपाल इन्भेष्टमेन्ट बैंकले यहि गरिरहेको छ । यसैगरि सेयरधनीले दशमलबपछि प्राप्त हुने हकप्रद सेयर पनि भर्न पाउनु पर्छ र सेयर धनीको खातामा राखिनु पर्छ । र अर्को पटक पाउने बोनस वा हकप्रदबाट प्राप्त थप सेयरबाट एक सेयर पुरा भएपछि डिम्याट खातामा राखि दिनुपर्छ वा डिम्याट नगरेका सेयरधनीलाई थप एक कित्ताको प्रमाणपत्र प्रदान गरिनु पर्छ । तर अहिले कम्पनीले यसरी दशमलबपछि आउने सेयर सम्बन्धित सेयरधनीबाट खोसेर अरुलाई मूल्य बढाबढमा बिक्रीगर्दै आएका छन । यसरी बिक्रीगर्दा कम्पनीले जारी सूचनामा ढाँट्ने पनि गरेका छन ।
 
कम्पनीले सेयरधनीलाई दशमलब पछिको सेयर भर्न दिदैनन तर मूल्य बढाबढको सूचनामा भने बिक्री नभएको वा सेयरधनीले नभरेको भनि लेख्छन । यो सरासर झुट हो । सवै सेयर बिक्री नभएको भने होइन । भर्न नदिएको पनि हो । धितोपत्र बोर्डले यसबारे के सोचिरहेको छ ?
 
हकप्रद सेयरमा पारदर्शिताको पश्न बारम्बार उठ्ने गरेको छ । हक हस्तान्तरणको सवालमा पारदर्शिताको प्रश्न उठ्छ । सेयरधनीले आफुले भर्नपाउने हक अन्य व्यक्ति वा संस्थालाई हस्तान्तरण गर्न पाउने व्यवस्था छ । तर यसका लागि कम्पनीले हक हस्तान्तरण गर्न सकिने व्यवस्था गरेको हुनुपर्छ ।
 
थाहा नपाएर वा पहुँच नपुगेका सेयरधनीले नभरेको हकप्रद सेयर कम्पनीको उच्च व्यवस्थापन, संचालक समिति तथा मर्चेन्ट बैंकको मिलेमतोमा हक लिइन्छ । हकप्रद सेयर नभर्नेको सम्पूर्ण विवरण कम्पनी तथा सेयर रजिष्ट्रारसँग हुने भएकाले हक हस्तान्तरण गरेको फारम आफै भरि हकलिने गरेका विषय बारम्बार उठ्ने गरेका छन । यो कम्पनी र अन्य सेयरधनी माथि ठुलो घात हो र घोटला पनि हो ।
 
धितोपत्र बोर्डले यसमाथि कुनै अनुसन्धान गरेको छैन । हकप्रद सेयरमा कति सेयरधनीले आफै फारम भरे र कतिले हक हस्तान्तरण गरे त्यसको विवरण लिनु पर्छ । हक हस्तान्तरण गरि भरिएका फारम जफत गरि त्यसमाथि गम्भिर अनुसन्धान गर्न आवश्यक छ । सम्बन्धित सेयरधनीले हकदिएको हो वा होइन भन्ने सम्बन्धित व्यक्तिबाट जानकारी लिइ वास्तविकता बाहिर ल्याउनु पर्छ ।

Tata
GBIME
Nepal Life