तयारी नपुगेको भन्दै रोकियो राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण, रद्द हुने कारण अर्कै

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
तयारी नपुगेको भन्दै रोकियो राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण, रद्द हुने कारण  अर्कै

काठमाडौं । सोमबारबाट हुने भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ।

Tata
GBIME
Nepal Life

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरले राष्‍ट्रपतिको भ्रमण तत्कालका लागि स्थगित भएको पुष्टी गरे। 'तयारी अलिकति पुगेन भन्ने छ। पार्लियामेन्ट सेसन पनि चालु छ। अहिलेको अवस्थामा राष्ट्रपति यतै बस्नुपर्छ भन्ने महसुस भयो। अहिलेलाई स्थगित भएको छ', पोखरेल भन्छन्।

गएको आइतबार प्रेस सल्लाहकार माधव शर्माले २७ गतेदेखि राष्ट्रपति भारतको भ्रमणमा जान लागेको जानकारी पहिलोपोस्टलाई दिएका थिए। उनले सोमबारको मन्त्रिपरिषद्को बैठकले भ्रमण अनुमोदन गर्ने बताएका थिए।

तर सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को विशेष बैठकमा भ्रमणबारे छलफल नै भएन। बैठकमा आगलागी पीडितलाई क्षतिपूर्ति दिने विषयमा मात्र छलफल भयो।

राष्ट्रप्रमुखको औपचारिक विदेश भ्रमण मन्त्रिपरिषदले अनुमोदन गर्नुपर्छ। तर बिहीबार मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रपतिको भ्रमण अनुमोदन भएन।

सरकारले अनुमोदन नगरेपनि राष्ट्रपति भण्डारीले भारत भ्रमणका लागि आन्तरिक छलफलदेखि अन्य तयारी समेत गरेकी थिइन्। बुधबार मात्र भण्डारीले आफ्नो भारत भ्रमणबारे पत्रकारहरुसँग अन्तरक्रिया गरेकी थिइन् भने भ्रमणको मिति समेत सार्वजनिक गरेकी थिइन्।

यसबीचमा घरेलु राजनीतिमा केही उतारचढाव देखापरे। एमाले नेतृत्वको सरकार छाडेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने एमाओवादी निर्णयले दुई दिन घरेलु राजनीति प्रभावित भयो। सरकार परिवर्तनकै सम्भावना देखिएपछि राष्ट्रपतिको भ्रमण केही हदसम्म प्रभावित भयो।

परराष्ट्र स्रोत भन्छ भ्रमण रद्द हुनुको प्रमुख कारण मुलुकको पछिल्लो राजनीतिक माहौल नै हो। 'राजनीतिक कारणले नै अलमल भयो', स्रोतको दावी छ।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार सुरुवातमा राष्ट्रपतिको भ्रमण कुम्भ मेलामा सहभागी हुनका लागि मात्रै तय थियो। 'पछिल्लो पटक औपचारिक भ्रमणकै कुरा उठेपछि तयारी नपुगेको हो',  दाहालले भने, 'उपयुक्त समयमा भ्रमण हुन्छ।'

संसदको अन्यौलता
सुरुवातमा राष्ट्रपतिको भ्रमणलाई ख्याल गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रम २३ गते पेश गर्न प्रस्ताव गरेका थिए। तर कांग्रेसले नमानेपछि २५ गते पेश गर्ने कार्यसूची प्रमुख सचेतकहरुको छलफलले तय गर्‍यो।

कांग्रेसले संसदमा समसामयिक विषयमा र प्रि बजेट छलफल गर्नुपर्ने अडान लिएपछि नीति तथा कार्यक्रम पेश गर्ने मिति २६ गतेलाई सरेको छ। राष्ट्रपतिको कार्यक्रम सरेपछि भ्रमणको अन्यौलता थपिएको थियो। बिहीबारको मन्त्रिपरिषद्को बैठकले भने २६ गते नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरिसकेको छ।