एनसेलमा लाभकर: बुझाउने अन्तिम म्याद आइतवार, एक्जियटाका हाइप्रोफाइल सबै हाकिम नेपालमा

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
एनसेलमा लाभकर: बुझाउने अन्तिम म्याद आइतवार, एक्जियटाका हाइप्रोफाइल सबै हाकिम नेपालमा

काठमाडौं। कर चुक्ता गर्ने डेडलाइन आउन थालेपछि एनसेलको स्वामित्व खरिद गरेको मलेसियन कम्पनी एक्जियटाका हाइप्रोफाइल अधिकारी काठमाडौंमा भेला भएका छन्।

Tata
GBIME
Nepal Life


एक साताभन्दा बढी समयदेखि दक्षिण एशियाको अप्रेशन हेर्ने डा‍‍ हन्स विजयसूर्या काठमाडौंमा छन् भने एक्जियटा समूहका सिईओ जमालुद्दिन इब्राहिम पनि काठमाडौं आइपुगेका छन्। उनीहरुसँग वित्त हेर्ने एक्जियटाका चारी टिभिटि पनि काठमाडौं आइपुगेको स्रोतले बतायो।
 
त्यसैगरी एक्जियटा हेड अफिसको हाइप्रोफाइल टिमलाई एनसेलका प्रवन्ध निर्देशक सिमोन्स पर्किन्सन तथा नेपाली साझेदार सतिशलाल आचार्यले पनि साथ दिइरहेका छन्। उनीहरुले काठमाडौंमा रहँदा केही वरिष्ठ राजनीतिज्ञलाई भेट गरेको स्रोतले बतायो। त्यसैगरी उनीहरुले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई समेत भेट गरेका छन्।
 
उनीहरुले अहिले पनि कर नलगाउन लविङ गरिरहेका छन्। त्यसैगरी करका लागि टेलियासोनेरासँग पुलको काम गरिदिने तथा करका विषयमा थप अध्ययन गर्नुपर्ने भन्दै समय माग्ने समेत गरेका छन्।
 
त्यसमध्ये हन्स विजयसूर्या एक साता अघि ठूलो करदाता कार्यालय पुगेका थिए। उनले एनसेल र एक्जियटामा कर दायित्व नलाग्ने र लाभकर टेलियासोनेराले तिर्नुपर्ने दलिल पेश गरेका थिए। तर ठुला करदाता कार्यालयले एनसेलको करका विषयमा गठन गरेको ११ जनाको समूहले अहिले कर नतिरे पछुताउनुपर्ने जवाफ हन्सलाई दिएको थियो।
 
त्यसलगत्तै एनसेलले ठूला करदाता कार्यालयलाई पत्र लेखेर टेलियासोनेरासँग करका विषयमा सहजीकरणका लागि ९० दिन माग्दै पत्र लेखेको थियो। जवाफमा ठूला करदाता कार्यालयले आयकर ऐनमा म्याद थप्ने प्रावधान नभएको सम्झाउँदै कानुनले तोकेको म्याद भित्र कारोवारको जानकारी तथा लाभकरमा लाग्ने न्यनुत्तम १५ प्रतिशत कर दाखिला गर्न पत्र लेखेको थियो। पत्र लेखे लगत्तै एक्जियटाको हाइप्रोफाइल टिम नेपाल आएको हो।
 
एनसेलमा कर अब के हुन्छ ?
चैत २८ गते निरजगोविन्द श्रेष्ठले एनसेलमा आफ्नो नाममा रहेको २० प्रतिशत स्वामित्व सुनिभेरा क्यापिटल भेञ्चरकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई हस्तान्त्रण गरे। १२ अर्व रुपैयाँ बजार मूल्य तय भएको एनसेलको यो कारोवारबाट सरकारले दुई अर्व ८३ करोड रुपैयाँ राजस्व प्राप्त गर्यो।
 
त्यसको भोलिपल्ट चैत २९ गते टेलियासोनेराले एनसेलमा रहेको आफ्नो स्वामित्व एक्जियटालाई हस्तान्त्रण भएको भन्दै प्रेस विज्ञप्ती जारी गर्यो। त्यही दिन एक्जियटाले पनि आफ्नो स्वामित्वमा एनसेल आएको जानकारी दिंदै प्रेस विज्ञप्ती जारी गर्यो।
 
त्यसको भोलिपल्ट चैत ३० गते मन्त्रालयट दवाव आएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले एनसेलको कारोवारमा कर लगाउन ठूला करदाता कार्यालयलाई पत्र लेखे। उनले पत्र लेख्नु अघि एक्जियटाले गैरकानुनी प्रक्रियाबाट चार महिना अघि मागेको कर छुटसम्वन्धी पूर्वादेश पनि उनले खारेज गरे।
 
विभागबाट पत्र पाउना साथ ठूला करदाता कार्यालयले एनसेलको सेयर खरिद विक्रिको आय विवरण माग्दै चैत ३० गते नै एनसेल तथा टेलियासोनेरालाई कर विवरणसँगै कर दाखिला गर्न पत्र पठाएको थियो। जवाफमा टेलियासोनेराले एनसेलको सेयर खरिद व्रिक्रिमा कर नलाग्ने दलिल दिंदै अरु पत्राचार एनसेलको प्यारेन्ट कम्पनी रेनल्ड होल्डिङको सेयर बेच्ने टेलिया सोनेरा नर्वे नेपाललाई पत्र लेख्न आग्रह गर्यो।
 
टेलियाको पत्र पाएपछि ठूला करदाता कार्यालयले एनसेलको अफसोर कारोवारमा लाभकर लाग्ने जानकारी फेरी टेलियासोनेरालाई दियो भने नेपालमा रहेका टेलिया नियुक्त तत्तकालिन सिईओ एरिम टाइलनलारलाई समेत कर विवरण दिन पत्र पठायो। सँगै ठूला करदाता कार्यालयले कर विवरण बुझाउने दायित्व एनसेलसँग भएको सम्झाउँदै अर्को पत्र लेख्यो।
 
आइतवार के होला ?
एनसेलको सेयर खरिद विक्रिको विवरण तथा स्रोतमा कर कट्टि गरेर बुझाउने आइतवार अन्तिम दिन हो। आयकर ऐनअनुसार कारोवार भएको महिनापछि आउने महिनाको २५ गते भित्र विवरण तथा टिडिएस बुझाउनुपर्छ। एनसेलको चैत २९ गते कारोवार भएको थियो यो आधारमा वैशाख २५ गते भित्र  विवरण तथा टिडिएस बुझाउनुपर्छ।
 
तर वैशाख २५ गते शनिवार परेकाले कर कार्यालयले आइतवारसम्मको समय दिएको छ। एनसेलले आइतवारसम्म विवरण तथा टिडिएस नबुझाए कर मूल्याङ्कन सुरु गर्छ। यसरी तय मिति नाघे चुक्ता गर्नुपर्ने कर, करको शतप्रतिशत जरिवाना तथा व्याज बुझाउनुपर्छ। एनसेलमाथि अहिले सबैभन्दा यो ठूलो जोखिम छ।
 
यही जोखिमका कारण एनसेलको लगानीकर्ता एक्जियटाका वरिष्ठ अधिकारीहरुको अहिले नेपालमा दौडधुप चलिरहेको छ।