- विज्ञान अधिकारी/सुदर्शन सापकोटा
काठमाडौं । ठूला करदाता कार्यालयका अधिकारीहरुले कर विवरणसहित अग्रिम कर कट्टिवापत एनसेलबाट आइतवार २३ अर्व रुपैयाँ हाराहारी राजस्व प्राप्त हुने अपेक्षा गरेका थिए।
तर दिउँसो एक बजे चार्टड एकाउण्टेन्ट सुदर्शनराज पाण्डे, एनसेलकै कानुन अधिकृत अमर थापासहित पुगेका एनसेलका एक्जियटा नियुक्त प्रवन्ध निर्देशक सिमोन पर्किन्सनले नौ अर्व ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ कर एभरेष्ट बैंकमा बुझाएको भौचर दिए।
साथै उनीसहितको टोलीले टेलियासोनेरा एनसेलमा प्रवेश गर्दा ७४ अर्व रुपैयाँ खर्च भएको र अहिले टेलियालाई ६६ अर्व रुपैयाँको मात्रै लाभ भएको भन्दै कर विवरण पनि बुझाए। ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडैललाई कर विवरण बुझाउँदै गरेको तस्वीर पनि खिचाएर सिमोन कर कार्यालयबाट बाहिरिए।
एनसेलले कर विवरणसहित कार्यालयलाई लामो पत्र पनि लेखेको छ, पत्र मार्फत पहिलोपटक एनसेलले आफ्नो स्वामित्व परिवर्तन तथा हस्तान्त्रण भएको स्वीकार समेत गरेको छ। सँगै उसले त्यही पत्र मार्फत कर दायित्व आफ्नो नभएको जिकिर गर्न भने भुलेको छैन्।
गत डिसेम्वर २१ मा एनसेलको ८० प्रतिशत स्वामित्व भएको सेन्ट किट्स एन्ड नेभिसमा भएको रेनल्ड होल्डिङ टेलियासोनेरा-हाल टेलिया कम्पनी नामकरण गरिएको_ले मलेसियाको एक्जियटालाई एक अर्व ३६ करोड ५१ लाख डलरमा विक्रि गर्ने घोषणा गरेको थियो।
यही घोषणा बमोजिम अप्रिल ११ तारिखमा एक्जियटा र टेलियाले कारोवार सम्पन्न भएको घोषणा गरेका थिए। घोषणा लगत्तै ठूला करदाता कार्यालयले कारोवारमा कर दावी गर्दै कर विवरणसहित लाभमा अग्रिम कर कट्टि गरेर बुझाउन पत्राचार गरेको थियो।
करको मुद्दा स्थापित
ठूला करदाता कार्यालयले टेलिया कम्पनी, एनसेल तथा टेलिया नियुक्त एनसेलका तत्कालिन सिईओ एरिम टाइलनलरलाई पटक पटक लेखेर एनसेलको स्वामित्व खरिदविक्रिको कारोवारमा लाभकर लाग्ने सम्झाएको थियो। तर कार्यालयले पटक पटक लेखेका पत्रमा जवाफ दिंदै तीनै पक्षले यो कारोवार करमुक्त हुने दावी गरेका थिए।
तर कर कार्यालयको पटक पटकको ताकेता, नागरिक समाजबाट आएको दवावपछि एनसेलले शुक्रवार केही मिडियलाई बोलाएर कर विवाद निरुपण गर्ने जानकारी दिएको थियो। त्यही आधारमा कर विवरण तथा टिडिएस बुझाउने अन्तिम दिन आइतवार एनसेलले झण्डै दश अर्व रुपैयाँ कर बुझाएको छ।
करसँगै एनसेलको स्वामित्व परिवर्तन तथा हस्तान्त्रणभएको स्वीकार पनि गरेको छ। यो स्वीकारोक्तिसँगै हाम्रो मुद्दा स्थापित भएको छ, ठूला करदाता कार्यालयका एक अधिकारीले भने, तर पूरै जित भने भएको छैन्।
अब बाँकि कर के हुन्छ?
हामी अहिले नै यो कारोवारमा यति लाभ भएको छ, यति कर तिर्नुपर्छ भन्ने अवस्थामा थिएनौं, मोटामोटी हामीले आज २३ अर्व रुपैयाँ राजस्वको अपेक्षा गरेका थियौं तर अपेक्षाभन्दा कम आएको छ, ठूला करदाता कार्यालयका एक अधिकारीले भने यही रकममा सन्तोष मानेर बस्ने अवस्था छैन्।
उनले अब एनसेलको पूरानो प्यारेन्ट कम्पनी टेलियाले देखाएको ७४ अर्व रुपैयाँ खर्चको अनुसन्धान हुने बताए। हामीसँग प्राप्त विवरणका आधारमा उनीहरुले त्यसलाई पुष्टी गर्न सक्ने अवस्था छैन्, पुष्टी गर्न नसके जरिवाना, व्याजसहित तिर्नुपर्छ। त्यतिवेला अहिले अपेक्षा गरेभन्दा बढी कर आउँछ, उनले भने।
एनसेलले उपलब्ध गराएको विवरणअनुसार हाम्रो रेकर्डमा अहिलेसम्म एक अर्व १३ करोड रुपैयाँ मात्रै खर्च देखिन्छ। त्यसबाहेक -एक अर्व ३६ करोड ५१ लाख डलर_ एक खर्व ४५ अर्व रुपैयाँको कारोवारमा एक खर्व ४४ अर्व रुपैयाँ लाभ देखिन्छ। त्यो आधारमा कर आएको छैन्, अब हाम्रो डिटेल इन्भेष्टिगेशन हुन्छ, उनले भने।
ठूला करदाता कार्यालयले अब एनसेलको सेयर खरिद विक्रिको एसपिएसहित विवरणहरु माग्ने छ। हामीले त्यसको संकेत उनीहरुलाई गरिसकेका छौं, एक कर अधिकृतले भने। एसपिएमा टेलियासोनेरा र एक्जियटाले नेपालको कर दायित्वलगायतका लागि ४० करोड डलर (४१ अर्व रुपैयाँ)को व्यवस्था गरिएको छ।
१० प्रतिशत कहिले आउँछ
आफ्नो दावीअनुसारको लाभमा एनसेलले १५ प्रतिशतको टिडिएस आइतवार बुझाए पनि त्यससँगै थप दश प्रतिशत लाभकर आउन बाँकि छ। यो लाभकर टेलियाले भुक्तानी गर्नुपर्छ। तर यो रकम भने कारोवार हुँदा एक्जियटाले टेलियालाई भुक्तानी नगरी आफूसँग राख्नुपर्छ।
बाँकी दश प्रतिशत लाभकर भुक्तानीका लागि कम्पनीसँग असारसम्मको समय छ। उसैको दावीअनुसार ६६ अर्वको लाभमा कम्पनीले छ अर्व ६६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यसअघि २० प्रतिशत सेयरको कारोवारमा निरजगोविन्द श्रेष्ठले सरकारलाई दुई अर्व ८३ करोड रुपैयाँ लाभकर तिरिसेकका छन्।
एक महिना अघि गरेको भुक्तानी र आइतवार भएको भुक्तानीसँग एनसेलको सेयर कारोवारमा सरकारले अहिलेसम्म १२ अर्व ८४ करोड रुपैयाँ कर पाएको छ। आइतवार कम्पनीको स्वामित्व परिवर्तन र हस्तान्त्रण भएको स्वीकार गरेपछि दफा ५७ पनि आकार्षित भएको छ।
यो दफाअनुसार एनसेलको सम्पत्तीबाट दायित्व घटाएपछि कम्पनी आफूलाई हुने लाभकर सरकारलाई तिर्नुपर्छ। यो एनसेलले तिर्ने कर हो यसबाट पनि दुईदेखि तीन अर्व रुपैयाँ राजस्व प्राप्त हुने अपेक्षा कर कार्यालयको छ।










