एनआइसी एसियामा लक्ष्मण रिसाल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त, बैंकिङमा २६ वर्ष अनुभव

बिजमाण्डू
२०७३ जेठ ३ गते ००:०० | May 16, 2016
एनआइसी एसियामा लक्ष्मण रिसाल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त, बैंकिङमा २६ वर्ष अनुभव
काठमाडौं । एनआइसी एसिया बैंकले झन्डै एक बर्षपछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । ११ महिनाअघि शशिन जोशीले बैंक छाडेपछि एनआइसी एसियामा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो ।

बैंकले लक्ष्मण रिसाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । शशिनले छाडेपछि उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । एनआइसी एसियाले रिक्त पदमा तीन महिनाभित्र नियुक्ति दिइसक्नु पर्ने राष्ट्र बैंकको निर्देशनलाई समेत अटेर गर्दै आएको थियो ।
 
बैंकिङ क्षेत्रमा २६ बर्षको अनुभव भएका रिसालसँग बिमा क्षेत्रमा समेत काम गरेको अनुभव छ ।
 
लामो समयसम्म एनआइसी बैंकमा काम गरेका उनी प्रमुख सञ्चालक अधिकृत भएपछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर गएका थिए । त्यहाँ एक बर्षजति काम गरेपछि उनी तत्कालिन बैंक अफ एसिया नेपाल (अहिले मर्ज भएर एनआइसी एसिया) महाप्रबन्धक भए ।
 
मर्जर प्रकृया सुरु भइरहेका बेला उनी त्यहाँ कामु प्रमुख कार्यकारी भए । मर्जरसँगै एनआइसी भित्रिएका उनी एक बर्षको रिक्ततापछि प्रमुख कार्यकारी अधिकृत भएका हुन् ।
 
रिसालले सन् १९९० मा तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट सहायक स्तरमा जागिर सुरु गरेका थिए । ग्रिन्डलेज बैंक स्ट्यान्डर्ड चार्टर्ड बनेपछि उनी त्यहाँ सन् २००४ सम्म बसे । त्यसपछि एनआइसी बैंकमा उनी छिरेका थिए ।

Tata
GBIME
Nepal Life

साइन्स पृष्ठभूमिका उनले पाटन मल्टिपल क्याम्पसबाट बिएस्सी गरेका छन् । उनी बिएस्सी सकेलगत्तै बै‌ंकिङमा छिरेका हुन् ।

एनआइसी एसिया बैंकसँग  सर्वसाधारणको ६४ अर्ब १४ करोड निक्षेप छ । बैंकले ५२ अर्ब ४९ करोड रुपैयाँ  ऋण लगानी गरेको छ । २०५५ सालमा स्थापना भएको बैंकका ६७ शाखा र ६९ एटिएम छन् ।