निर्मल निवाससँगै जोडिएको ३५ रोपनी जग्गा पूर्व अधिराजकुमार धिरेन्द्रका छोरीहरुले लगाए भाडामा

बिजमाण्डू
२०७३ जेठ ५ गते ००:०० | May 18, 2016
निर्मल निवाससँगै जोडिएको ३५ रोपनी जग्गा पूर्व अधिराजकुमार धिरेन्द्रका छोरीहरुले लगाए भाडामा
  • विज्ञान अधिकारी/बिजमाण्डू

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको निजी आवास निर्मल निवाससँगै जोडिएको जीवनकुञ्जमा अत्याधुनिक मलसँगै होटेल खुल्ने भएको छ । ज्ञानेन्द्रका भाइ धिरेन्द्र शाहको नाममा रहेको ३५ रोपनी जग्गाभित्र अत्याधुनिक होटेल र मल निर्माण गर्ने तयारी सुरु भइसकेको छ ।
 
जीवनकुञ्जभित्र रहेको घर भत्काउन थालिएको छ। एक महिनाभित्रै घर भत्काइसक्ने र त्यसपछि लगत्तै भवन निर्माणको काम सुरु हुने स्रोतले बतायो। जीवनकुञ्जमा बस्दै आएका धिरेन्द्रका छोरी शिताष्मा र दिलाशा भैसेपाटीमा बस्न थालिसकेका छन्।
 
विकिमापियाबाट लिइएकाे स्याटलाइट तस्विर। सेतो घेरामा देखिएको निर्मल निवास र जीवन कुञ्ज हो। 

Tata
GBIME
Nepal Life

धिरेन्द्रका यी दुई छोरीले जीवनकुञ्जभित्र होटल र मल बनाउन जमिन ४० वर्षको लिजमा दिएको स्रोतले बतायो। लेमनग्रास इन्टरनेसनल समूहले अत्याधुनिक होटल र मल बनाउन जग्गा लिजमा लिन सम्झौता गरेको हो।
 
लेमनग्रास समूहले अहिले पनि लाजिम्पाटमा सिटी होटल एन्ड स्विट संचालन गरिरहेको छ । एनएलजी इन्स्योरेन्सका अध्यक्ष कुश मल्लीको डाउनटाउन विल्डिङ भाडामा लिएर सिटी होटेल संचालन गरेको समूहले नै जीवनकुञ्जमा होटल र मल संचालन गर्न लागेको हो।
 
लेमनग्रास समूहका अध्यक्ष कविरजंग थापा हुन्। थापाले केही समय र्‍याडिसन होटेलमा फूड एन्ड वेभरेज म्यानेजर भएर काम गरेका थिए। उनीसँगै सीमान्त गुरुङ प्रमुख साझेदार हुन्। अहिले मल र होटेल बनाउने सबै काम गुरुङले नै हेरेका छन् । एक महिनाभित्रै घर भत्काउने काम सकिएपछि मल निर्माण सुरु हुने बताउँदै स्रोतले भन्यो, 'काठमाडौंकै ल्याभिस मलको रुपमा निर्माण गरिनेछ।'
 
स्रोतका अनुसार मल र होटलसँगसँगै निर्माण गरिने भएपनि अन्तर्राष्ट्रिय चेनसँग जोड्ने हिसाबले पाँच तारे होटल निर्माण गर्ने सोचमा संचालक छन् । प्राइम लोकेसनमा रहेकाले पाँचतारे होटलका लागि यो समूहले अन्तर्राष्ट्रिय चेन खोज्न थालेको हो। स्रोतका अनुसार यसका लागि यहाँ होटेल संचालन गरिरहेका समूहहरुसँग छलफल भइसकेको छ।