सुचनाको हकका बारेमा धेरै कुरा मलाई थाहा थिएन: गभर्नर, सुचना नदिँदा सस्तो ब्याजको कर्जा गएन

बिजमाण्डू
२०७३ जेठ ८ गते ००:०० | May 21, 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सुचनाका हकका बारेमा आफूलाई धेरै हदसम्म जानकारी नभएको भन्दै पूर्ण सुचनाले ब्यक्ति तथा संस्थालाई शक्तिशाली बनाउने बताएका छन् ।
 
राष्ट्रिय सुचना आयोग र राष्ट्र बैंक मिलेर गरेको कार्यक्रममा बोल्दै गभर्नर नेपालले सुचना नपुगेकै कारणले धेरै सर्वसाधारणले पाउनु पर्ने सुविधा तथा सेवाको प्रयोग गर्न नसकेको बताए ।
 
बैंकिङ क्षेत्रमा सुचना हकका बारेमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा बाणिज्य बैंकहरु, विकास बैंक तथा फाइनान्स र लघुवित्तका प्रमुख कार्यकारी तथा अधिकारहरुको उपस्थिति थियो ।
 
'पूर्ण सुचना नदिइएकै कारण दुर्गमका किसानले एक प्रतिशत ब्याजमा पाइने कृषि ऋणको प्रयोग गर्न सकेका छैनन्' गभर्नरले भने, 'यसको बारेमा बैंकरहरुले तीनीहरुलाई सुचना दिनु पर्छ ।' गभर्नरले सुचनाका कारण पारदर्शिता बढ्ने भन्दै बैंकहरु पारदर्शी भएकै कारण निक्षेपकर्ताको विश्वास जितेको बताए ।
 
'अझै धेरै विश्वास आर्जन गर्न आवश्यक छ' उनले भने, 'जनतामा सुचना पुर्‍याएर सेवा सुविधा दिँदा बैंकहरुकै ब्यवसायको आकार बढ्छ ।'
 
कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि वाँस्कोटाले सुचना हकसम्बन्धि कानुन बैंक तथा वित्तीय संस्था ऐनभन्दा पनि शक्तिशाली रहेको बताउँदै जनतालाई सुचना नदिने संस्थाहरुलाई अब कारवाही गरिने बताए ।
 
कार्यक्रममा आयुक्तहरु किरण पोखरेल र यसोदा तिमिल्सिनाले सुचनाको पहुँच तल्लो स्तरमा पुर्‍याउँदा त्यसले समूदाय र सिङ्गो देशको विकासमा नै फाइदा पुर्‍याउने बताए ।

Tata
GBIME
Nepal Life