वर्षमा २० अर्वको कारोवार गर्ने यो हो सूर्य नेपाल

बिजमाण्डू
२०७३ जेठ ९ गते ००:०० | May 22, 2016
वर्षमा २० अर्वको कारोवार गर्ने यो हो सूर्य नेपाल
  • ऋषिकेश दाहाल/विज्ञान अधिकारी
वर्षमा २० अर्व रुपैयाँको कारोवार गर्ने नेपालमा सिमित कम्पनी छन्। त्यसमध्य एक हो सूर्य नेपाल। आइटिसि भारतको ५९ प्रतिशत सेयर स्वामित्व भएको सूर्य नेपालमा बाँकी सेयर नेपाली साझेदारसँग छ। बाराको सिमरा र तनहुँमा दुई वटा प्लान्टबाट चुरोट उत्पादन गर्ने सूर्य नेपाल आखिर चल्छ कसरी?
 

 


मेसिन नियन्त्रित गेटअघि उभिँदा हामीलाई भित्र छिर्ने अनुमति मिलिसकेको थियो। विस्तारै गेट खुल्यो जसमा सावधान संकेतहरु र निर्देशनहरु लेखिएका थिए। अगाडिको सानो बगैँचा पार गरेपछि एक तल्ला माथि जाँदै थियौं भित्तामा लेखिएको थियो – नो स्मोकिङ। हाम्रा फोटो पत्रकार इलिट जोशी मुसुक्क मुस्काए। हामी एउटा उद्योग हेर्न गइरहेका छौं। आउनुस् इलिटले फोटो र हामी टेक्स्टमार्फत तपाईँलाई यात्रा गराउँदैछौं – सूर्य चुरोट फ्याक्ट्रीको।





सन् १९८७ डिसेम्बरमा सुरु भएको यो फ्याक्ट्री सुरु हुँदा सरकारी लगानीको जनकपुर चुरोट कारखानाको मोनोपोली थियो बजारमा। यतिखेर बजार हिस्सा सूर्यको एकलौटीजस्तै छ। फ्याक्ट्रीमा अझै पहिलो पुस्ताका कामदार बाँकी छन् भने यसमा प्रयोग हुने प्रविधि तेस्रो पुस्ताको छ।

Tata
GBIME
Nepal Life

१० हजार किसान यो फ्याक्ट्रीका लागि कच्चा पदार्थ उत्पादनमा सक्रिय छन्। हामी जुन कम्पाउन्डभित्र छौं त्यहाँमात्रै ३ सय  ५० भन्दा धेरै कामदार/कर्मचारी छन्। यहाँभित्र हामीले देखेका मजदूर नेपालमा सबैभन्दा बढी तलब पाउने मजदूरमध्येमा पर्छन्।





यहाँका चिफ इन्जिनियर सुरेशकाजी श्रेष्ठका अनुसार यस फ्याक्ट्रीमा पछिल्लो ५ वर्षमा मात्रै ३ सय करोड रुपैयाँ लगानी थपिएको छ। अटोमेसनमा आधारित प्रविधि यसमा जोडिएको छ। हामीलाई चासो थियो चुरोट बन्छ कसरी ?


छोटो कुराकानीपछि हामी चुरोट उत्पादन हुने फ्याक्ट्रीभित्र छिर्‍यो। यहाँ मेसिन र मानिसको सहकार्य चलिरहेको थियो। चुरोट उत्पादनमा पहिले मानिसले स्वाद लिएर परीक्षण हुने रहेछ – टेस्टको टेस्टिङ। अहिले स्वादको परीक्षण मेसिनले नै गर्ने रहेछ।

 


कसरी बन्छ चुरोटको फिल्टर?

चुरोटको फिल्टरले निर्धारण गर्छ चुरोटको कडा र नरमपन। फिल्टरबाट सहजै धुँवा निस्कने रहेछ भने त्यो हार्ड र कम धुँवा निस्कने सफ्ट हुने रहेछ। हेर्नुस् कसरी बन्छ चुरोटको फिल्टर।



सेतो देखिएको कागजको भागबाटै फिल्टर निर्माण हुने हो। मेसिनमा प्रोसेस पूरा भएर आएपछि त्यहाँ खटिने कामदारले त्यसलाई मिलाएर राख्छन्। 

 

यसरी हुन्छ चुरोट प्रशोधन

ठूला कार्टुन बक्समा आउने गर्छ चुरोटको कच्चा पदार्थ अर्थात् सुर्ती। करिब २ सय किलोको एउटै बाक्सा हुने गर्छ। त्यही बाक्सालाई मेसिनबाट तल झारिन्छ र सुरु हुन्छ चुरोटका लागि प्रशोधनका प्रकृया।




खाँदिएर ल्याइएको सुर्तिलाई टुक्र्याउने काम पनि मेसिनले नै गर्छ। त्यसलाई भाइब्रेसनबाट थप टुक्र्याउने र प्रशोधन गर्ने र सुधार्ने काम अघि बढ्छ। खन्याइएका सुर्तीलाई लामो चरण पूरा गराएरमात्र चुरोटको खिल्लीभित्र भर्ने काम हुन्छ। यो प्रकृयामा सबै काम मेसिनले नै गर्छ – मानिस संलग्न हुँदैनन्। 





धुलो र मिसिनो भाग छुट्याउने र एकनास आकारका सुर्तीका टुक्रालाई प्रशोधन गर्ने काम यहाँ चलिरहन्छ। यहाँ भएका कामहरु क्लोज सर्किट क्यामराले खिचिरहेको हुन्छ।





निक्कै लामो प्रकृया पूरा गरेरमात्र सुर्तीको धुलो चुरोटभित्र राख्न योग्य हुन्छ। तयार भएको फिल्टर र खिल्लीमा मेसिनले नै सुर्ती भर्दिन्छ। त्यसरी भरिएका चुरोटलाई ट्रेममा राखिन्छ र प्याकेजिङका लागि पठाइन्छ। त्यसपछि चुरोटको बट्टामा खिल्लीहरु भरिन्छ र तयार हुन्छ चुरोट।




प्याकेटमा तयार भएका चुरोटलाई अटोमेसनमा आधारित प्रणालीबाटै अन्तिम चरणको प्याकिङमा पुर्‍याइन्छ। र त्यसमा आन्तरिक राजश्व कार्यालयले स्टिकर लगाउँछ। त्यसपछिमात्रै चुरोट बजारमा लैजानका लागि तयारी हुन्छ। 





एउटा चुरोट जिन्दगी

चुरोटको उत्पादन समयको चक्र झै चलिरहन्छ यहाँ। धेरैका जीवनचक्र यही फ्याक्ट्रीले चलाइरहेको छ। चुरोट उत्पादन हुने यो फ्याक्ट्रीको बाहिर वेग्लै दुनियाँ सिर्जना भएको छ। ‘६ किलोमिटर भन्दा टाढाका मानिसलाई हामी बसोबास यही गराउँदै आएका छौं,’ कम्पनीका महाप्रवन्धक प्रभाकर शाहले सुनाए। उनले  कर्मचारीलार्इ पहिलो प्राथमिकतामा राखेर उद्योग संचालन गरेको बताए ।




‘कर्मचारी र व्यवस्थापन एक अर्कामा परिपुरक हुन् । हामीले त्यही मान्यताका आधारमा उद्योग संचालन गरिरहेका छौ, उनले भने, कर्मचारीप्रतिको सुरक्षादेखि उनीहरुको सामाजिक सुरक्षामा ध्यान दिएका छौ । उनका अनुसार मुलुकमा संचालन रहेको उद्योग मध्ये सबैभन्दा बढी तलब/सुविधा दिने उद्योगमा पर्छ ।

यो वाहेक उद्योगले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिएको छ । हामी सबैभन्दा बढी कर तिर्ने उद्योगको रुपमा पर्छौ । हामीले सामाजिक उत्तरदायित्व समेत भुलेका छैनौं,  शाहले भने, हामीलाई चुरोटसँग जोडिएको यो जीवनचक्रबारे जान्ने चासो बढ्नु स्वभाविक थियो। लाग्यो हाइ वे क्रस गरेर पारितिर।





६ विघाको हाउजिङ कोलोनी पुग्यौं हामी। बाहिर ठूलो गेट भित्र बगैचा झै लाग्ने। भेटिए हेटौडाका जयराम पुडासैनी। २०४३ सालमा सूर्य नेपालमा जागिरे भएर छिरेका रहेछन् यिनी। पद साधारण वर्कर।



साधारण कामदारबाट पेशा थालेका उनी २०५२ सालदेखि यही कोलोनीमा बस्दै आएका छन् परिवारसँगै। पत्नी अनि एक छोरी र दुई छोरा। छोरीको बिहे भइसक्यो। छोराछोरीले यही कोलोनीभित्रै रहँदै स्कुले र कलेजको जीवन पूरा गरे। एउटा छोरो इन्जिनियर छ शिवम् सिमेन्टमा। अर्को छोरो आइसर कम्पनीको गाडीको मार्केटिङमा लागेका छन्।



जयरामले हामीलाई आफ्नो घरमा लगे र देखाए। लिभिङङ रुममा टेलिभिजन चलिरहेको थियो। किचेन र बेडरुमको सानो घर। सँगै सानो करेसाबारी पनि।



उनीजस्तै धेरैको घर यही कम्पाउन्डभित्र छ। यहाँका कर्मचारी र मजदुर इन्डिभिजुअल होममा बस्छन् परिवार सहित। यहाँ काम गरुन्जेल यिनीहरुले भाडा तिर्न पर्दैन। उमेर हदले रिटायर्ड भएपछि भने अर्को कामदारका लागि घर खाली गर्नुपर्छ। त्यतिन्जेल यहाँ काम गर्नेको जीवनचक्र फेरिइसकेको हुन्छ। जयरामको जस्तै।

 

३ रुपैयाँमा दालभात !

कर्मचारीको कदर यो भन्दा बढी कसरी हुनसक्छ? हो यहाँ एक छाक भात, दाल, दुई थोक तरकारी र अचार खाँदा कूल ३ रुपैयाँ ५० पैसा लाग्छ।





सूर्य नेपालभित्र रहेको क्यान्टिनमा हामी पुग्दा मानिसहरु खाँदै थिए। थप खाना मगाउनेहरु पनि उत्तिकै। ३ रुपैयाँ ५० पैसा तिर्दा यहाँको क्यान्टिनमा ३ सय ५० ग्राम भात, २ सय ग्राम दाल, ५०/५० ग्राम तरकारी र एक चम्चा अचार पाइन्छ। हरेकको मूल्य कति हो प्रस्टगरी राखिएको छ। एक छाक खाना खाँदा उनीहरुले ७५ पैसा भातमा तिर्छन् भने ५० पैसा दालमा तिर्छन्। दुई थोक तरकारीका लागि ५०/५० पैसाका दरले एक रुपैयाँ पर्छ। एक चम्चा अचारको भाउ भने २५ पैशा छ।




यो त रह्यो सादा खानाको। माछामासु पनि उपलब्ध हुन्छ यहाँ। मासु कति खाने त्यही अनुसार मूल्य निर्धारण गरिएको छ। आधा पाउ मासु खाने हो भने १० रुपैयाँ अतिरिक्त लाग्छ। त्यति नै पैसामा १ सय ५० ग्राम माछा खान पाइन्छ। एउटा अमेलटका लागि २ रुपैयाँ ५० पैसा तिर्नुपर्छ। उसिनेको अन्डाको पनि मूल्य २ रुपैयाँ २५ पैसा। अन्डाकरीको भाउ पनि  त्यति नै।





दालभात खान मन लागेन भने विकल्प पनि छ। रोटी ४ पिसका लागि १ रुपैयाँ ७५ पैसा पर्छ। त्यसबाहेक थप्ने हो भने गोटाको ५० पैसा तिर्नुपर्छ।



नास्तामा पुरी र जेरी पनि  पाइन्छ। ४० ग्रामको पुरी जेरीको मूल्य २ रुपैयाँ ५० पैसा पर्छ। समोसा चटनीसहित एउटाको ठीक १ रुपैयाँ। समोसाको तौल ७५ ग्रामको हुन्छ।



अपत्यारिलो मूल्य सूची चमेना गृहमै टाँगिएको छ। यहाँका कर्मचारी र मजदुरले यही मूल्यमा क्यान्टिनमा खाना र खाजा खान्छन्।

 

फेरिएको जीवन

यहाँको आधिकारिक ट्रेड युनियनका अमरानाथ गिरी र अर्का मजदूर नेपाल रामकुमार पासवानसँग हामीले फ्याक्ट्रीमै कुराकानी गर्‍यौं। ‘पहिले ६ सय तलब थियो आज सबैभन्दा कम खानेले २० हजार रुपैयाँ बुझ्छ,’ गिरीले सुनाए, ‘धेरै परिवर्तन आएको छ अहिले।’




बोनस पहिलेभन्दा राम्रो भएको छ। त्यतिमात्र होइन प्रविधिमा सुधार यति भएको छ कि काम गर्नेहरुले चिन्ता लिँदैनन्। फ्याक्ट्रीभित्र धेरै ठाउँमा प्राथमिक उपचारका कुराहरु राखिएका छन्। चिकित्सकको सुविधा पनि उनीहरुले यहीभित्र पाइरहेका छन्। ‘धेरै कुरा फेरियो। हिजो सरकारी स्कुलमा केटाकेटी पढाउन नसक्नेहरु अहिले प्राइभेट स्कुल छानीछानी पढ्न पठाउँछन्,’ गिरीले भने।



यहाँ हड्ताल नभएको भने होइन। अवरोधहरु पटक पटक भए। तर मजदूरहरुको बुझाइ भने पूरै फेरिएको छ। उनका अनुसार व्यवस्थापन र मजदुर मिले सबै समस्या समाधान हुन्छ राजनीतिक दलको फेरो समात्न पर्दैन् ।

‘हामीले व्यवस्थापन र मजदुर नमिल्दा राजनीतिक दलले फाइदा लिने कुरा बुझ्यौ ।



यो दुर्इ पक्ष नङ र मासुजस्तो भएर काम गरिरहेका छौ, उनले भने, ‘यो हाम्रो कर्मथलो हो राजनीतिक कारणले यसलार्इ विग्रन दियौ भने हामी कहाँ जानु ? ‘ मजदुरको मुद्धा भन्दा राजनीतिक दलको हस्तक्षेपले धेरै उद्योग बन्द भएको बताउँदै गिरीले व्यवसायलार्इ अघि बढाउने र मजदुरपनिसँगै जाने बातावरण तयार हुनुपर्ने सुझाव दिए ।




‘मजदूरका कारण उद्योग पलायन भइरहेका छन् अहिले,’ पासवानले भने, ‘दलका नेता कार्यकर्ताले अहिले मजदूरको अधिकार लिइरहेका छन्। दलको ट्रेड युनियन भएर काम गर्दा जश पनि उनीहरु लिन्छन् । हाम्रो मुद्धानै हेर्दैनन् । त्यसैले हामीले दलका नेतालार्इ यो गेटभित्र छिर्न निषेध गरेका छौ ।



यहाँको ट्रेड युनियन अन्यत्रको भन्दा फरक लाग्यो। उनीहरु भन्दै थिए-‘ कुनै पार्टीलाई यहाँका मजदूरले लेबी तिर्दैनन् किनकि यहाँ पार्टीका लागि ठाउँ छैन।‘



यहाँका मजदूरहरु कुनै पनि कार्यक्रममा उभिँदा वेग्लै हैसियत पाउने गरेको  उनले सुनाए । बहुराष्ट्रिय कम्पनीमा समेत सबैभन्दा राम्रो तलब सुविधा पाउनेमा पर्ने भएकोले कुनै कार्यक्रममा जाँदा महत्व बढी पाउने गरेको उनले गिरीले बताए। ‘हामीलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको छ,’ गिरीले भने।