फलामे डन्डीमा आत्मनिर्भर नेपालले फेरि भारतबाट आयात गर्न थाल्यो, कम गुणस्तरको आयात

बिजमाण्डू
२०७३ जेठ ९ गते ००:०० | May 22, 2016
फलामे डन्डीमा आत्मनिर्भर नेपालले फेरि भारतबाट आयात गर्न थाल्यो, कम गुणस्तरको आयात
राधेश्याम पटेल/बिजमाण्डू
वीरगञ्ज । छडमा पूर्ण आत्मनिर्भर बनेको स्वदेशी बजारमा पुनः भारतीय फलामे डण्डी भित्रिन थालेको छ । विगत दुई महिनादेखि विद्युत्को अभाव र त्यसअघिको नाकाबन्दीको असर अहिलेसम्म कायमै रहँदा स्वदेशी डण्डी उद्योगको उत्पादनमा कटौतीसँगै भारतीय छड भित्रिन थालेको हो ।

चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ४५ करोड ४२ लाख रुपैयाँ मूल्य बराबरको ११ हजार १ सय ३९ टन आयात गरिएको छ । डण्डी आयातबाट भन्सार महशुलवापत २१ करोड ५४ लाख रुपैयाँ असुली भएको कार्यालयले जानकारी दिएको छ । भैरहवा र विराटनगर नाकाबाट समेत ठूलो परिमाणमा डण्डी आयात हुन थालेको छ ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षमा १७ करोड ५५ लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको तीन हजार ४३ टन डण्डी पैठारी भएको थियो । यो भारतीय सहयोगमा पर्साको अलौंमा निर्माणाधीन एकीकृत जाँच केन्द्रका लागी भन्सार छुट सुविधामा आयात गरिएको भन्सारका सूचना अधिकृत लोकराज पन्तले जानकारी दिए ।

स्वदेशी उद्योगहरु विद्युत् अभावमा उत्पादन कटौती गर्न बाध्य भएपछि बजारमा सिर्जित अभावलाई अवसरका रुपमा छोप्दै व्यापारीहरु डण्डी आयात गर्ने काममा सकृय भएका हुन् । बजार मागलाई मध्य नजर गर्दै भैरहवा, विराटनगर नाकाबाट समेत व्यापारीले ठूलो परिमाणमा फलामे डण्डी भित्र्याइरहेका छन् ।भारतीय डण्डी स्वदेशीभन्दा प्रति किलो बीस रुपैयाँसम्म सस्तो छ ।

हिमाल स्टील्सका प्रशासन प्रमुख गोपाल श्रेष्ठका अनुसार मधेस आन्दोलन र नाकाबन्दीबाट पहिलै नै थिलथिलो बनेको डण्डी उद्योगलाई बढ्दो लोडसेडिङ, कच्चा पदार्थ आपुर्तीमा असहजता र पेट्रोलियम पदार्थको अभावले झन् चुनौती थपेको छ ।

मासिक छ हजार टन डण्डी उत्पादन गर्दै आएको हिमाल स्टील्सले झण्डै ३५ प्रतिशत उत्पादन कटौती गरेको छ । मासिक उत्पादन ४ हजार टनमा उत्पादन सिमित भएको छ,हिमाल स्टील्सका प्रशासन प्रमुख श्रेष्ठले बताए । वीरगन्ज–पथलैया औद्योगिक करिडरमा हिमाल, जगदम्बा, हुलास, साखः, अशोक, नारायणी, जगशक्ति,मारुतीनन्दन,भगवती र हामा स्टील्स उद्योग सञ्चालनमा छन् ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले नाकाबन्दी खुले लगत्तै ठूला भौतिक पूर्वाधारको निर्माण एकसाथ शुरु भएकाले पनि फलामको माग ह्वात्तै बढेको बताए । डण्डी उत्पादनका लागी पर्याप्त उर्जाको आवश्यक्ता पर्ने भएकाले पनि लोडसेडिङगका कारण अन्य उद्योगभन्दा यो उद्योग बढी प्रभावित भएको हो ।

विद्युत र डिजल अभावले अधिकांश उद्योगले सञ्चालन समय कटौती गरेका छन्,अध्यक्ष केडियाले भने,तीन सिफ्टमा चल्ने उद्योगहरु मुश्किलले दुई सिफ्टमा सञ्चालन भइरहेका छन्।

पूर्वाधार निर्माणमा ठूलो टेवा पु¥याइरहेका फलाम उद्योगलाई अहिलेको संकटबाट मुक्त गर्न विद्युत आपूर्ती बढाउनुपर्ने,डिजेलको आपूर्ती सहज बनाउनुपर्ने र बन्द हडताल मुक्त बनाउनुपर्ने उद्योगीले सुझाव दिएका छन् ।

पूर्वाधार निर्माण ज्यादै संवेदनशील विषय भएकाले भारतीय बजारबाट आयात हुने डण्डीसहित फलामजन्य उत्पादनको गुणस्तरमा सरकारी निकायको कडा निगरानी हुनु जरुरी छ,गोपाल श्रेष्ठले भने ।