होङसी शिवम् होल्डिङले सिमेन्ट उद्योग खोल्न पुर्वाधारको काम सुरु गर्‍यो, दैनिक १२ हजार टन

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
होङसी शिवम् होल्डिङले सिमेन्ट उद्योग खोल्न पुर्वाधारको काम सुरु गर्‍यो, दैनिक १२ हजार टन

 
  • उमेश पौडेल/बिजमाण्डू

काठमाडौं । नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका लागि लगानी बोर्डमा सम्झौंता गरेको होङसी शिवम् होल्डिङले उद्योग स्थापनाका लागि पूर्वाधारको काम सुरु गरेको छ ।
 

नेपालको शिवम् सिमेन्ट र चीनको हंङ्कङ् रेड लायन ३ लिमिटेड सिमेन्ट कम्पनीले संयुक्त लगानीमा नेपालकै सवैभन्दा ठूलो सिमेन्ट उद्योग निर्माण हुन लागेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले नवलपरासीको वेनीमनिपुरमा उद्योग स्थापनाका लागि एक सय विघा जग्गा किनिसकेको छ । चीनको सबैभन्दा ठूलो मध्येको एक सिमेन्ट उत्पादन गर्ने कम्पनी होङसी र नेपालको शिवम सिमेन्टको संयुक्त लगानीमा नेपालकै सवैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवमले सन् २०१८ देखि व्यवसायिक रुपमा उत्पादन थाल्ने जनाएकाे छ।


 
यो सिमेन्टका उद्योग स्थापनाका लागि दुर्इ सय विघा जग्गा आवश्यक पर्छ । उद्योगमा स्थिर पुँजी ३४ अर्ब ७१ करोड, चालु पुँजी दुई अर्ब चार करोड सहित कुल ३६ अर्ब ७५ करोड ९२ लाखको लगानीमा यो उद्योग सञ्चालनमा आउन लागेको हो।

लगानी बोर्ड गत बर्षको साउन १२ गते शिवम् सिमेन्टलाई विदेशी लगानी ल्याउन स्वीकृति दिएपछि चीनबाट पहिलोपल्ट सिमेन्टमा ठूलो रकमको प्रत्यक्ष लगानी भित्रिएको हो।

होङ्सीलाई लगानी अनुमतिपछि शिवम् सिमेन्टअन्तर्गतको शिवम् होल्डिङ्स् र होङ्सी ग्रूपअन्तर्गतको होङ्सी होल्डिङ्स्को संयुक्त लगानी (जेभी) मा नेपालमा ‘होङ्सी शिवम् सिमेन्ट प्रालि’ नामको सिमेन्ट उत्पादन कम्पनी स्थापना भएको छ।
 
स्वदेशी लगानी ३० प्रतिशत र विदेशी लगानी ७० प्रतिशत रहने रहनेछ। उद्योगमा शिवम सिमेन्टको १३ अर्ब ४ चार करोड रुपैयाँ लगानी रहनेछ भने होङसी ग्रुपको २५ अर्ब रहनेछ। ऋण र लगानीको अनुपात भने होङसीको ६२.४१ प्रतिशत र शिवम सिमेन्टको ३७.५९ प्रतिशत रहनेछ ।
 
        
प्रतिदिन १२ हजार टन र बार्षिक ४३ लाख ८० हजार टन क्लिङ्कर र सिमेन्ट उत्पादन हुने छ। उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ । यो उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन् । यो उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्छ ।
 

यो उद्योगका लागि आवश्यक पर्ने खानी समेत किनिसकेको छ । पाल्पामा यो उद्योगको खानी रहेको छ । लगानी बोर्डका अनुसार खानीबाट कच्चा पर्दाथ सुरुङ बनाएर ल्याउनेछ । खानीबाट चुनढुंगा सुरुङहुँदै उद्योगसम्म ल्याउनेछ । यसरी ल्याउँदा ढुवानी लागत सस्तो पर्छ । कम्पनीले वातावरणीय प्रभाव मूल्यांकनको आवेदन दिइसकेको छ ।
 
लगानी बोर्डका परामर्शदाता घनश्याम ओझाका अनुसार सन् २०१६ भित्र वातावरणीय प्रभाव मूल्यांकन सक्ने र २०१८ भित्रै उत्पादन थाल्ने लक्ष्य रहेको छ । यो उद्योगका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको झन्झट भने व्योहोरिरहेको छ ।

भूमिसुधार ऐनमा जग्गाको हदबन्दी तोक्ने प्रावधानले धेरै जग्गा किन्न समस्या भोगिरहेको छ ।  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा होङसी समूहका अध्यक्ष झयाङ जियाउले नेपालमा सबैभन्दा ठूलो सिमेन्ट उद्योगमा लगानी घोषणा गरेपनि समस्या व्योहोरेको बताएका थिए ।

बोर्डले उद्योग स्थापनामा कुनै समस्या नहोस भनेर मंगलबार जिल्लाका सबै दलका सभासद्सहितको सर्वदलिय बैठक गर्दैछ । नवलपरासीको जिल्ला विकास समितिको हलमा सभासद, २८ दलका प्रतिनिधि, नवलपरासी उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ नवलपरासीका प्रतिनिधिसहितको छलफलबाट उद्योग स्थापनामा कुनै समस्या नपार्न आग्रह गरिनेछ । जिल्लाका सभासदहरुले उद्योग स्थापना हुने स्थानको स्थलगत भ्रमण समेत गर्नेछन् ।

नेपालमा सिमेन्टको खपत बर्षेनि बढिरहेको छ। सन २००५ मा नेपालमा २.४ मिलियन टन सिमेन्टको खपत भएको थियो भने बर्षैपिच्छे त्यसको खपत दर बुद्धि भइरहेको छ। सन् २०१५ सम्म आइपुग्दा ४.३ मिलियन टन पुगेको छ। हाल नेपालको कुल गाहस्थ उत्पादनमा सिमेन्ट क्षेत्रले चार प्रतिशत योगदान गरेको छ।

फोटो : हाेङ्सी
यो उद्योगले उत्पादन सुरू गरेपछि अहिलेकै आधारमा पनि नेपालको कुल सिमेन्ट उत्पादन क्षमता दैनिक ३७ हजार मेट्रिकटन पुग्नेछ। हाल नेपालमा संचालित ४५ सिमेन्ट उद्योगले करिब १ सय ४० ब्रान्डका सिमेन्ट  उत्पादन गर्दै आएका छन् ।

यी उद्योगको कुल दैनिक उत्पादन क्षमता हाल १ हजार मेट्रिक टन रहेता पनि विद्युत् अभावमा हाल करिब १० हजार मेट्रिक टन मात्र उत्पादन भैरहेको उद्योगीहरुले बताएका छन्। अहले नेपाली बजारमा दैनिक माग भने १२ हजार मेट्रिकटनको हाराहारीमा रहेको व्यापरीहरु बताउँछन्। अपुग माग पूर्ति गर्न अघिल्लो आर्थिक वर्षको ११ महिनामा ९ अर्ब ३८ करोडको सिमेन्ट विदेशवाट आयात भएको थियो।