दुई महिनामा अण्डा पाँच रुपैयाँ महँगो, साढे दुई वर्षयताकै सबैभन्दा उच्च, उत्पादनमा ४० % गिरावट

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
  • पवन तिमिल्सिना/बिजमाण्डू
काठमाडौं । पछिल्लो दुई महिनामा कुखुराको अण्डाको भाउ पाँच रुपैयाँले महँगिएको छ । गर्मीका कारण तापक्रम बढेर अण्डाको उत्पादन घटेपछि बजारमा सहजरुपमा अण्डा आपूर्ती नहुँदा अण्डाको मुल्य बढेको हो।

अहिले बजारमा अण्डा प्रति गोटा १४ रुपैयाँमा कारोबार भईरहेको छ। दुई महिना अगाडी अण्डाको मुल्य प्रति गोटा नौ रुपैयाँ थियो ।दुर्इ महिना अघि दुई सय ७० रुपैयाँ प्रति क्रेट रहेको अण्डाको मुल्य अहिले तीन सय २० प्रति क्रेट पुगेको छ। अण्डाको भाउ साढे दुई वर्षयताकै महँगो भएको नेपाल अण्डा उत्पादन संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

Tata
GBIME
Nepal Life

गर्मीले तापक्रम बढेर कृषकहरुले आवश्यकता अनुसार अण्डा उत्पादन गर्न सकिरहेका छैनन्। दाना सँगसँगै कुखुरालाई अण्डा उत्पादनका लागि अनुकुल तापक्रमको पनि आवश्यकता पर्छ। कुखुरालाई औषत तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियिससम्मको  चाहिने केसीले बताए।अहिले मुलुकभरी अण्डाको उत्पादन करिब ४० प्रतिशतले घटेको छ।

मुलुकभित्र दैनिक २२ लाख अण्डाको माग छ । तर अहिले घटेर अण्डाको उत्पादन दैनिक १७ लाख पुगेको छ। नेपाल दाना उद्योग संघका महासचिव रविन पुरीका अनुसार गत वर्षको भारतीय नाकाबन्दीका कारण दानाको अभावमा किसानहरुले ४/५ महिना अण्डाको उत्पादन बन्द गरेका थिए ‘नाकाबन्दीमा कुखुरालाई जोगाउनै मुश्किल परेको थियो’, उनले भने, लामोसमयको अन्तरालमा खाएको घाटाका कारण गर्दा साना पोल्ट्री किसानहरुमा यसको मोह घटेको छ।’

नाकाबन्दीका समयमा दानाको अभावसँगसँगै लोडसेडिङका कारण पनि किसानहरु मर्कामा परेका थिए। ‘जाडो महिनामा दैनिक लोडसेडिङका कारण किसानले आवश्यकता अनुसार कुखुरालाई आवश्यक तापक्रम दिन पाएनन् । त्यसकारण कतिपय कखुराहरु मरे।‘  ‘लामो समयसम्म घाटा खाएपछि विशेषगरी साना किसानहरु घाटामा परेका थिए’ पुरीले भने, ‘यसले उनिहरुको मनोबललाई कमजोर पारेको थियो।’

उपत्यकामा खपत हुने मध्ये अधिकांश मासु तथा अण्डा काठमाडौं आसपासका जिल्ला र चितवनबाट आउने गर्छ। अण्डाको अधिकतम उत्पादन हुने जिल्लामध्ये चितवन प्रमुख हो। देशभरीको अण्डा उत्पादनमध्ये करिब ५० प्रतिशत चितवनमा उत्पादन हुन्छ ।  तराई भेगमा बढी गर्मी चढ्न थालेपछि कुखुराले पर्‍याप्तमात्रामा उत्पादन दिन नसकेको उनले बताए। चितवनबाहेक नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुलीलगायतका जिल्लालाई पोल्ट्रीको पकेट क्षेत्र मानिन्छ। अण्डाको मूल्यसँगै मासुको मुल्य पनि बढेको छ। अहिले बजारमा कुखुराको मासुको मुल्य किलोको तीन सय २० रुपैयाँ पुगेको पुरीले जानकारी दिए ।