विमान आएको तीन महिनापछि हिमालय एयरलाइन्सको दोहा उडान सुरु हुँदै, नयाँदिल्ली उडानमा अझै समस्या

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सले जेठ १८ गतेदेखि दोहा उडान गर्ने भएको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी जेठ १८ गतेदेखि काठमाडौ दोहामा नियमित उडान  गर्ने जानकारी दिएको हो।

Tata
GBIME
Nepal Life

एयरलाइन्सले क्लियोपेट्रा ट्राभल्सलार्इ कतारको लागि जेनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । यो एयरलाइन्सले राती ११ बजे काठमाडौंबाट उडान भर्ने र राती साढे एक बजे स्थानीय समयमा दोहा अवतरण गर्नेछ।  कम्पनीका अनुसार दोहाबाट साढे २ बजे उडान गरेर विहान सवा १० बजे काठमाडौंमा अवतरण गर्नेछ ।

एयरबस ३२०-२१४ मार्फत उडान गर्ने यो एयरलाइन्सले अरु गन्तब्यमा समेत उडानका लागि अनुमति पर्खिरहेको छ । कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भारतको नयाँदिल्ली उडानका लागि धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले समय लागेको बताए। उनले भारतीय उड्ययन निकायले मागेको कागजात दिइरहेको बताए ।

यसअघि चिनियाँ लगानी भएकाले भारतले उडानको अनुमति नदिएको भनार्इ सार्वजनिक भएका थिए। उनले भारतले उडान अनुमति नदिनुमा अरु कुनै कारण नभएको जिकीर गरे। भारतमा दुर्इ वर्षसम्म उडान अनुमति नपाएको उदाहरण रहेको बताउँदै श्रेष्ठले भारतीय नियामक निकायले मागेको कागज दिइसकेको र आवश्यक अध्ययन गरिरहेको हुनसक्ने बताए।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा विशेष फ्लाइटको रुपमा यो एयरलाइन्सले उडान भरेको थियो ।  एयरलाइन्समा ८ वटा बिजनेश क्लास र १ सय ५० वटा इकोनोमी क्लासको सिट छ ।