पुँजी बजारमा एकै दिन भयो डेढ अर्बको कारोबार, हरेक दिन नयाँ रेकर्ड बन्दै, नेप्से १५२४ अंकमा

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
पुँजी बजारमा एकै दिन भयो डेढ अर्बको कारोबार, हरेक दिन नयाँ रेकर्ड बन्दै, नेप्से १५२४ अंकमा


काठमाडौं । सेयर बजारले सोमबार पनि नयाँ रेकर्ड बनायो । गत साता देखि बजार उचालिएर हरेक दिन नयाँ रेकर्ड बनिरहेका छन् । आइतबार बनेको रेकर्ड तोड्दै बजारले सोमबार कारोबार, नेप्से परिसूचक र इन्स्योरेन्स समूहको सूचकले नयाँ रेकर्ड बनाए। नेप्से परिसूचक १४.६८ अंकले बढेर १५२४.०७ अंकमा पुग्यो । 
 
बजारमा एकै दिन नियमित कारोबारमा एक अर्ब ४४ करोड ५१ लाख रुपैयाँ भन्दा धेरैको सेयर किनबेच भयो । कारोबार रकममा यो नयाँ रेकर्ड नै हो । आइतबार एक अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएर रेकर्ड बनेको थियो । 
बजारलाई बीमा समूहले उचालेका हुन् । यो समूहको ६८ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएपछि बजार यसरी उचालिएको हो । बीमा समूहको सूचक यो दिन २६१ अंकले बढ्यो । यसले समग्र परिसूचकलाई माथि लैजान सहयोग गरेको हो । 
 
त्यसैगरी बैंकिङ समूहको बृद्धि पनि उल्लेख्य रह्यो । यो समूहको सूचक १० अंकले बढ्यो । बैंकिङ समूहको ४८ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तेस्रो स्थानमा विकास बैंक समूहको कारोबार भयो । यो समूहको १४ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भयो । 
 
सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । बजेटले समेट्ने कार्यक्रमले धितोपत्र बजारमा प्रभाव पार्ने अनुमानले बजार उचालिएको हो । यस बेला केही ठूला लगानीकर्ता सेयर बेच्न तयार भएका छन भने बजार उचालिएको देखेर केही लगानीकर्ता बजार प्रति आकर्षित भएका छन् । 
 
सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको कारोबार भयो । यो बीमा कम्पनीको मात्रै आठ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भयो भने दोस्रो स्थानमा नेपाल बंगलादेश बैंकको सेयर किनबेच भयो । यो बैंकको सात करोड आठ लाख रुपैयाँको सेयर किनबेच भयो । नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ४५ लाख रुपैयाँको, नेपाल लाइफको ६ करोड २८ लाखको, प्रुडेन्सियल इन्स्योरेन्सको पाँच करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भयो । 
 
कारोबार भएका एक सय ३५ मध्ये ८६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । यसमध्ये ६ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिसत देखि १० प्रतिसतसम्म कमाएका छन् । बढेको बजारमा पनि केही कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सिनर्जी फाइनान्स, युनिक फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर लिमिटेड र हामा फाइनान्सका लगानीकर्ता धेरै गुमाउनेमा परेका छन् । 
 
 

Tata
GBIME
Nepal Life